
कतार एयरलाइन्सले हामीलाई निर्धारित समयमै जर्जिया राज्यको एटलान्टा हवाईअड्डामा दिनको तीन बजे नै पुर्यायो । इमिग्रेसनमा धेरै समय कुर्न परेन । इमिग्रेसनबाट बाहिर निस्केपछि फ्री वाइफाइमार्फत भाइ डिल्ली, गीता तथा यादवसँग कुरा गर्यौँ । छोरालाई आइपुग्न केही समय लाग्ने भएकोले हामी प्रतीक्षालयमा प्रतीक्षारत भयौँ ।
छोरा लोकेश र सुस्मिता हामीलाई लिन आइपुगे । लगेज लिएर लिफ्टमार्फत पार्किङमा पुग्दा हपक्क गर्मीले स्वागत गर्यो । ढल्किनै लागेको घाम पनि मध्याह्नजस्तो चर्को थियो । यद्यपि, हामी गर्मीमा धेरै समय बस्न परेन । गाडी चढेपछि चिसो एसीले हामीलाई स्पर्श गर्यो । छोराले चलाएको गाडीमा हामी पहिलोपटक चढेका थियौँ । मलाई लाग्दथ्यो, छोरा सानै छ । तर, अमेरिकाको बसाइले उसलाई परिपक्व बनाएछ ।
सात वर्षको कडा मिहिनेतको फल उसले भर्खरै सकेको थियो । विद्यावारिधिको दीक्षान्त समारोहमा भाग लिन हामी अमेरिका पुगेका छौँ, यतिखेर । अमेरिकाको यो हाम्रो पहिलो यात्रा थियो । यद्यपि, मैले भने ठूला हवाईजहाज थुप्रैपटक चढेको थिएँ । तर, तुलसाको ठूलो जहाजको यात्रा पनि पहिलो थियो ।
मनमा कताकता डर पनि थियो, गाडीमा हिँड्दा त वमित गर्ने तुलसाले यति लामो जहाजको यात्रामा के हुने होला भन्ने थियो । तर, उनको यो यात्रा अति सहज भयो । हामी छोराको दीक्षान्त समारोहको साक्षी बस्नका लागि आतुर थियौँ । मन हर्षित भएपछि यात्रा पनि सहज हुँदो रहेछ । लोकेशले हाम्रो कुलमै पहिलो विद्यावारिधि गरेको छ । हामीलाई गौरव गर्ने मौका दिएको छ छोराले ।
करिब दुई दशकदेखि अमेरिकामै भाइ डिल्ली तथा उसका परिवार बसोबास रहेको छ । उनीहरूसँग पनि भेट्न पाइने तथा उनीहरूको दैनिकीसँग रमाउन पाउने भएकोले हामी अत्यन्त खुसी थियौँ । सायद यस्तैयस्तै खुसीका क्षणहरूले गर्दा हाम्रो यात्रा सुखद बन्यो ।
छोरा गाडीको स्टेरिङमा छ, मन्दमन्द गीतको आवाज छोरालाई मन पर्छ । अगाडि तुलसा र पछाडि म र सुस्मिता छौँ । एक वर्षपछि छोरालाई अमेरिकामा भेट्न पाउँदा हामी दंग छौँ । आफ्ना सन्तानको प्रगति–उन्नतिमा जो कोही अभिभावक पनि रमाउने गर्दछन् । हामी पनि त्यही लाइनमा त हो नि !
तुलसा जहाजको यात्राका बारेमा छोरालाई सुनाउँदै छिन् । छोरा भने बाबामम्मीको आगमनले दंग छ ।
आमाछोरा गफिइरहेका छन्, म कल्पनामा मस्त छु । ‘यहाँबाट करिब दुई घण्टाको यात्रापछि हामी आलावामा पुग्छौँ’ भन्छ छोरो । जीवन एउटा यात्रा हो, हजारौँ माइलको यात्रा गर्नको लागि शून्यबाटै सुरु गर्नुपर्छ ।
जीवन पनि त्यस्तै हो, जहाँ शून्यबाट माथि उठेर हजारौँहजार योजनाको यात्रामा सामेल हुनुपर्दछ । संसार देख्नका लागि पनि यात्रा जरुरी छ । यात्राबिना संसार कहाँ देखिन्छ र ? यात्राका प्रकार भने विविध हुन सक्छन् ।
केही दशकदेखि नेपालीहरूको पनि यात्राका प्रकार फेरिएका छन् । बुबाले हाम्रो चिना हेराउँदा छोराहरू विदेश जान्छन् कि जाँदैनन् भनेर कहिल्यै सोध्नु भएन होला । अहिले त ज्योतिषीहरू नै ‘लु, यो बाबुनानीको त विदेश जाने योग रहेछ’ भनेर अभिभावकलाई मक्ख पार्छन् । अध्ययन, रोजगार तथा पर्यटक भएर विदेशी भूमिमा पाइला टेकिरहेका छन् नेपालीले ।
अभिभावक मेरा छोराछोरी विदेशमा छन् भनेर गर्व गर्छन् । हामीले अहिले देखेका छाँै, बच्चाहरू विदेश नगएको घरै छैन । यो समयको माग भनौँ कि फेसन, बुझ्न सकेका छैनौँ । बस्, एयरपोर्टमा बिदाइ गर्दाका फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर दुनियाँलाई देखाउने काम गर्छौं र बधाई खान्छौँ । अहिले हामीले गर्व गरे पनि यसको परिणाम भने जटिल नै हुन्छ जस्तो लाग्छ ।
हुनत, देशको अवस्था राम्रो भएको भए किन विदेश जान्थे होलान् ? बिग्रँदै गएको हाम्रो देशको अवस्थाले पनि बस्तीहरू खाली भइरहेका छन् । रोजगार या अध्ययनको लागि होस्, विदेशकै मुख ताक्नुपरेको अहिलेको परिवेश वास्तवमै दुःखद पक्ष हो ।
दुःख लागेर मात्र के गर्नु, यहाँ अध्ययनको लागि भनेजस्तो विषय पढ्न पाइँदैन । पाइए पनि बन्द, हडतालले पढ्ने वातावरण नै हुँदैन । यदि, पढाइ सकिए पनि भनेजस्तो रोजगारी पाउन मुस्किल पर्छ । सबैतिरबाट प्रहार भएपछि युवाहरूले रोज्ने भनेकै परदेश नै हो ।
एउटा मात्र समस्या हैन, समस्याको खातैखात छ यहाँ । त्यसैले पनि युवाहरू विदेशको सपना सजाउन बाध्य छन् । रोजगारको समस्या पनि त्यस्तै हो । त्यसैले त बरु खाडीको साठी डिग्रीको तापक्रममा सन्तानका खातिर आफ्नो ढाड तताउन बाध्य छन् । जहाँ जता गए पनि नेपालीहरू नै ठोकिन्छन् । भौँतारिरहेका छन् परदेशमा ! दुःख र पीडाका पहाड आफ्नै देशबाट बोकेर ल्याएपछि परदेशमा पनि दुःख र पीडाले छोडेका छैनन् । बस्, सरकार रेमिट्यान्स गन्छ, जनता पीडाका पहाड बोक्छन् ।
मैले यी भूमिका बाध्नुको अर्थ पनि त्यही हो, छोरा लोकेश उच्च शिक्षा अध्ययनको लागि संयुक्त राज्य अमेरिकाको आलावामा राज्यमा पुगेको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियर भइसकेको छोरा नेपालमै बसेर केही गर्छ भन्ने आशा मेरो मनमा जागृत भएको थियो । यहाँ भनेजस्तो विषय पढ्न नपाउने भएपछि परदेश रोजेको हो छोराले ।
अनि, विद्यावारिधिका लागि पूर्ण छात्रवृत्तिमा अर्वन युनिभर्सिटीमा पुगेको छ । हुनत, उसले सातौँ सेमेस्टरमा पढ्दै गर्दा अमेरिकाकै नर्थ क्यारोलिनामा सात दिनको सेमिनारमा पुगेको थियो । त्यस बेला ऊ दुई हप्ताको अमेरिका बसाइपछि नेपाल फर्केको थियो । कहिल्यै प्लेन नचढेको छोराले एकैचोटि ठूलो प्लेन चढ्न पायो भन्नेमा हामी पनि मक्ख थियौँ । ऊ पनि मक्ख थियो ।
पुल्चोक कलेजबाट पढाइ सकाएपछि अमेरिकामा आफ्नो इच्छाअनुसारको पढाइ र छात्रवृत्ति पाएपछि हामीले छोरालाई रोक्ने कुरा भएन । एक्लो छोरा कसरी बस्ला परदेशको ठाउँमा भन्ने चिन्ताले भने हामीलाई कहिल्यै छोडेन । दिनमा दुईपटक कुरा त हुन्थो, तर त्यतिले कहाँ पुग्नु !
हुनत, भाइ डिल्ली, बुहारी गीता तथा छोराद्वय शुभम् र श्रीयम् अमेरिकामै भएकाले केही राहत भने भयो । बाआमाको मन न हो, कहिल्यै एक रात नछोडेको छोरा चिन्ता बढ्नु स्वाभाविक नै हो । भाइको परिवार लस एन्जेलसमा र लोकेश आलावामामा, हवाईजहाजबाटै पाँच घण्टा लाग्ने टाढा रहेछ ! जे भए पनि भरोसा लाग्ने रहेछ । आफन्तको मायाको जलप वास्तवमै सुनौलो हुन्छ ।
अमेरिकामा पढ्न लोकेश आएकोमा खुसी थिए भाइ र बुहारी । उसले क्रमशः पढाइ सक्दै गयो । अमेरिकामा आएदेखि छोराले सुखदुःखका पहाड आफैँ बोकेको थियो । पूर्ण छात्रवृत्ति पाए तापनि आवश्यक खर्चको लागि केही व्यवस्था गरेको थिएँ मैले । भाइबुहारीले पनि लस एन्जेलसबाट चाहिने आवश्यक सामानहरू पठाएका थिए । आफ्नै देशमा त भनेको जस्तो हुँदैन, परदेशमा त झन् के होला र ? मेरो मनमा अनेक कुरा खेलिरहन्थे । तापनि, ऊसँग भिडियो कलमा कुरा गरेपछि सबै बिर्सन्थेँ ।
करिब साढे छ वर्षको अवधि लगाएर छोराले चाहेको विषयमा विद्यावारिधि पूरा गरेको छ, एरोस्पेस इन्जिनियरिङमा । हामी प्रत्यक्ष रूपमा छोरा दीक्षित भएको हेर्न आइपुगेका छौँ । र, हेर्यौँ पनि । त्यस बेला हर्षका आँसु आफैँ तप्पतप्प झरिरहेको थियो । भाइ डिल्ली, बुहारी गीता तथा शुभम् र श्रीयम् पनि हर्षविभोर थिए । त्यो दिन हाम्रा लागि उत्सवको दिन थियो । हाम्रो परिवारमै पहिलो विद्यावारिधि गर्न सफल भएको थियो, लोकेश ।
यस अवसरमा हामीले अमेरिकाको समाज, जनजीवन र वातावरणमा केही समय भए पनि घुलमिल हुन पायौँ । छोरो सात वर्ष बसेको सहर आलावामाप्रति हामी मोहित भएका छौँ । छोराको पढाइ सकिइसकेको थियो, उसले त्यहाँ नै पोस्टडग गर्दै गर्दा छ महिना बितिसकेको छ । अबको उसको गन्तव्य भनेको युनिभर्सिटी अफ मिचिगन थियो ।
त्यहाँ काम पाइसकेकोले दीक्षान्त समारोह सकिएपछि ऊ मिचिगन र हामी लस एन्जेलसतर्फ लाग्यौँ ।
०००
अमेरिकामा हामीले धेरै नौला (त्यहाँको लागि खासै केही होइन) कुराहरूसँग साक्षात्कार गर्ने अवसर पायौँ । बाहिर मान्छेहरूको भीड कतै नदेखिने र गाडीहरू भने प्रशस्त देखिने रहेछन् । सुरुमा हामीलाई लाग्यो– यो सहरमा मान्छेहरू धेरै छैनन् कि क्या हो ? खेतीपाती केही देखिँदैन, मान्छेहरू के खान्छन् होलान् ?
आफ्नोभन्दा अरूको चियोचर्चा गर्ने समयलाई उनीहरू क्रिएटिभ काममा लगाउने गर्दा रहेछन् । खाना खाँदै हिँडेका छन् आ–आफ्नै रफ्तारमा । जाँदाजाँदै बाटोमा ड्राइभ–थ्रुमार्फत लिँदै खान्छन् । समयको महत्त्व उनीहरूले बुझेका रहेछन् । जे जस्तो अवस्थामा पनि सुविधा देख्दा निकै रमाइलो महसुस भयो ।
अनुशासन पनि विकासको कडी रहेछ । जहाँ जनताहरू अनुशासित बन्छन्, त्यहाँ सरकार पनि नतमस्तक बन्नुपर्ने रहेछ । अनुशासनले नै असल समाजको सिर्जना गर्नको लागि टेवा पुग्दो रहेछ भन्ने अमेरिकाको जनजीवन नियाल्दा थाहा भयो हामीलाई ।
हामी धेरै कुरामा पछि परेका रहेछौँ । जनताका नियमित तथा प्रत्यक्ष सरोकारका सन्दर्भहरूमा अमेरिकाको सरकार चुकेका रहेनछन् । यहाँका यी चिजहरूलाई नियाल्दा हामी समयको गतिभन्दा धेरै पछाडि परेका छौँ ।
मैले सोचेँ, एउटै घाम हुन् संसारमा जहाँ गए पनि भेटिने । तर, घामका दृष्टि मात्र फरक हुँदो रहेछ भन्ने लाग्यो । एउटै घामको प्रकाश तापेकाहरूका वेशभूषा, भाषा–संस्कृति, रहनसहन फरक–फरक हुन्छन्, फगत घामको प्रकाश मात्रै एउटै हो । हावाको स्वाद र जूनको शीतलता एउटै हो, मात्र मान्छेहरूका विचार र विवेक मात्र फरक हुन् । संसारमा घामले दिने सबै चिजहरू बराबर नै रहेछ ।
घाम छ त संसार छ, घाम नभए त्यही अन्धकार । अन्धकारलाई चिर्ने त त्यहीँ घामले मात्र सक्छ । हामीले पनि हाम्रो मनमा त्यस्तै ज्ञानको घाम छिराउन सक्नुपर्छ जस्तो लाग्छ । घामले दिने ताप, घामले आफू दुर्गन्धित नभई दुर्गन्धलाई सुकाउने शक्ति घाममा छ । संसारका हरेक प्राणलाई जीवित राख्ने काम घामको हुने गर्दछ ।
अमेरिकामा पनि घामको प्रकाशलाई मैले सत्सत् नमन गरेँ, जो हामीसँगै नेपालबाट यात्राको साक्षी बनेर अमेरिकामा पनि साथैसाथ रहेको थियो ।
घामजून साक्षी छन् हाम्रो यात्राका । त्यही घाम एउटा राज्यमा रापिलो छ, अर्को राज्यमा हिउँको साम्राज्य । अत्यन्त विशाल छ अमेरिका । निश्चित समय लिएर पुगेका हामी धेरैभन्दा धेरै स्थानमा घुम्ने विचारमा छौँ ।
अहिले हामी आलावामा राज्यमा छौँ । र, त्यहाँ छोराको पाहुना भएर अर्वन सहरमा फन्को मारिरहेका छौँ । अर्वन युनिभर्सिटीमा लोकेश भर्ना भएको बेला १५/२० जना मात्र नेपाली विद्यार्थी रहेछन् । सात वर्षको अन्तरालमा करिब २२० जनाजति विद्यार्थी त्यहाँ पुगिसकेका छन् ।
नेपाली विद्यार्थीहरूको जमघट सरसहयोग राम्रो देखियो । अगस्टमा विद्यार्थीहरूको सिफ्ट हुने समय रहेछ । कोही पढाइ सकेर कामको लागि अन्यत्र लाग्ने, नयाँ विद्यार्थीहरू आउने क्रममा छन् । रुम सर्ने क्रममा सामान यताउता गर्नु वास्तवमै कठिन रहेछ । जहाँ बसे पनि त्यहाँको नियम पालना गर्नुपर्छ नै, त्यसकारण पनि उनीहरूलाई सबैले मद्दत गर्ने गरेका दृश्यहरू यहाँ वर्णन गर्न कठिनै छ ।
छोरा अमेरिका गएको दुई महिनापछि भिडियो कलमा हामीलाई देखाएको थियो, ‘मैले सोफा ल्याएँ ।’ मैले सोधेको थिएँ, ‘कतिमा ल्याएको हो ?’
छोराले भन्यो, ‘बाटोमा राखेको हुन्छ, कहाँ पैसा तिर्नु !’ ओहो, छोराले बाटोमा फालेको सोफा किन ल्यायो होला, नेपालमा के नपुग्दो थियो र उसलाई ? बरु, नेपालनै बोलाउनुपर्छ कि जस्तो मनमा भएको थियो तुलसाको । आमाको मन न हो ।
मलाईचाहिँ थाहा थियो, आफूलाई नचाहिने सामान अरूलाई काम लाग्न सक्छ भनेर यसरी बाटोमा राखिन्छ । चाहिनेले लैजान्छन्, नभए फोहोरको गाडीले उठाएर लैजाँदो रहेछ । यसै क्रममा कुर्सी, टेबल पनि उसले ल्याएर हामीलाई भिडियो कलमा देखाउथ्यो । उताका लागि त्यो परम्परा राम्रै हो, तर हामीलाई त यहाँ पाच्य थिएन । अहिले हामी प्रत्यक्ष यहाँ देखिरहेका छौँ ।
विद्यार्थीहरूको सिफ्ट परिवर्तन हुने समयमा आफूले प्रेम गरेर राखेका सामान कतै फालेका छन्, कसैले साथीका कोठामा लगेर राखेका छन् । कसैले चाहिने सामान लगेका छन् । सबैका कोठाहरू भरिभराउ छन् । दौडधुप चलिरहेको छ ।
विदेशमा जस्तोमा पनि रमाउनुपर्ने विद्यार्थीहरूको बाध्यता हामीले प्रत्यक्ष देख्यौँ । हुनत, विद्यार्थी समयको त्यो क्षण पढाइ सकेपछि भोग्न पाइँदैन । त्यसैले पनि उनीहरूले यी सबै कामलाई सहज रूपमा स्वीकारेका थिए ।
नेपालमा मात्र नभएर त्यहाँ विश्वका विभिन्न मुलुकका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । सबैको हालत त्यही थियो । नयाँ विद्यार्थीहरू पनि आइसकेका छन् । पास आउट भइसकेकाहरू आफ्नो अर्को गन्तव्यको तयारी गर्ने हुनाले अर्वनका विद्यार्थी बस्ने अपार्टमेन्टतिर ठूलाठूला कन्टेनरहरू राखिएका छन् । आफूलाई काम नलाग्ने सामानहरू ती कन्टेनरहरूमा राखिदिनुपर्ने रहेछ । रुम पूरै खाली गरेर साँचो बुझाउनुपर्ने रहेछ ।
सबैतिर कोठाहरू खाली गर्नुपर्ने, कतै भर्नुपर्ने । नयाँनयाँ सामानहरू पनि चाहिनेले लैजाऊन् भनेर अपार्टमेन्टबाहिर राखिएका देखिए । इलेक्ट्रिक सामानदेखि फर्निचर तथा बेडहरू पनि चाहिनेले लैजाऊन् भनेर बाहिर राखिएको देखिए ।
मैले ती दृश्यहरू धेरैपटक हेरेँ । पढाइ सकिएपछि अन्य सहरमा कामको सिलसिलामा सर्ने भएकाले ती सामान ढुवानी गरेर लैजानुभन्दा उतै किन्न सस्तो पर्ने रहेछ । त्यसकारण पनि ती सामानहरू अरूले प्रयोग गर्ने हेतुले अपार्टमेन्टबाहिर राख्ने गरेका रहेछन् ।
विद्यार्थीसँग एक त पैसाको अभाव र अर्को कुरा, काम चल्ने सामान भेटेपछि किन नयाँ किन्ने भन्ने सोच वास्तवमै उचित लाग्यो मलाई । हेर्दै जाँदा यी दृश्यहरूले मलाई मेरो विद्यार्थीकालको सम्झना गरायो । त्यसो त हाम्रो त्यो समयसँग भने अहिले कुनै कुरा पनि मिल्दैन ।
अर्वन सहर अर्वन युनिभर्सिटीले नै बसाएको रहेछ । त्यहाँका मान्छेका घरमा पनि एउटा राष्ट्रिय झन्डा र अर्को अर्वन युनिभर्सिटीको झन्डा राखेको हामीले देख्यौँ । उनीहरूको लागि युनिभर्सिटी गौरवको कुरा रहेछ । आखिर मान्छेले चाहेमा जे पनि गर्न सक्ने रहेछ ।
अमेरिकाको सुदूरदक्षिण राज्यको एउटा गाउँ वास्तवमै रमणीय थियो । पार्क र हरिया जंगलले सहरलाई शोभायमान बनाएका छन् । यतिखेर छोरा लोकेश पूरै फुर्सदमा छ, हामीलाई सहर मज्जाले घुमाउँछ । बिहान–बेलुका तुलसा र म हिँडेरै युनिभर्सिटीको पार्कमा रमाउने गर्छौं । छोराले सात वर्ष बिताएको सहर र पढेको युनिभर्सिटी हामीलाई छोराजस्तै प्रिय लागेको छ ।
जति हेरे पनि जति घुमे पनि मन नअघाउने, सबै आफ्नैजस्तो प्रिय भएका छन् । जता घुमे पनि उस्तै रमणीय धुलो, धुवाँरहित छ सहर । गाडीका हर्न कहीँ कतै सुनिँदैन । जेब्राक्रसभन्दा अर्को ठाउँबाट मान्छेहरू बाटो काट्दैनन् ।
पैदलयात्रीलाई सधैँ प्राथमिकतामा राखेर ड्राइभ गर्ने शैली लोभलाग्दो छ । तर, नेपालका ड्राइभर र पैदलयात्रीका व्यहोरा सम्झँदा निराश हुनुपर्छ । मनमा खिलझैँ गढ्छ, नेपालमा यस्तो कहिले होला ?
छोरासँग लुटपुटिँदै गर्दा समय बितेको पत्तो भएन । ती १५ दिन त फुस्सै बितिगए । यसैबीचमा हामीलाई फ्लोरिडाको हडसन बिचमा घुमाउन लग्यो । आलावामाबाट करिब चार घण्टाको ड्राइभिङमा पुगिने रहेछ । बाटोमा हरिया जंगलले मनै हर्षित बनायो । समुद्रको निलो र नुनिलो पानीमा केही समयको लागि हामी हरायौँ ।
धेरै मान्छेहरू बिचमा रमाइलो गरिरहेका थिए । किनारामा बसेर हामीले घरबाटै लगेको लन्च खायौैँ । समुद्री किनारामा घाम चर्को थियो । नुुनिलो समुद्रलाई नियाल्दा तुलसा पनि दंग थिइन् । सुस्मिता र लोकेशले रमाउन जानेका छन्, उनीहरू दंग परेर समुद्री किनारामा बस्दै गर्दा हामी पनि दंगदास थियौँ । आखिर हाम्रा खुसी भनेकै उनीहरू नै त हुन् ।
अर्को दिन हामी टेनिसी राज्यमा अवस्थित रुवि फल्स अवलोकनको लागि पुग्यौँ । छोराको चाहना छ, हामीलाई जति सक्यो धेरै स्थानमा घुमाउने । छोरासँगै घुम्न पाउँदा हामीलाई पनि कम्ता रमाइलो लागिरहेको छैन । छोराभन्दा बढी साथी हो ऊ हाम्रो ।
लस एन्जेलसबाट गीता र छोराहरू शुभम् र श्रीयम् आउँदै छन् । उनीहरू आएपछि जर्जिया राज्यको एटलान्टामा अवस्थित एक्वारियममा जाने प्लान बनाइसकेको छ छोराले । अमेरिकाको बसाइ सुमधुर भएको छ । आठसिटे गाडी भाडामा लिएर हामीलाई घुमाउँदै छ । सबैजना एउटै गाडीमा अट्ने भएकोले सजिलो छ ।
आफूलाई जुन गाडी चाहिन्छ त्यही उपलब्ध हुने रहेछ अमेरिकामा । एउटा सहरबाट अर्को सहरमा लगेर छोड्न पनि सकिने व्यवस्थाले गर्दा पब्लिक यातायातको सुविधा नभएको स्थानमा पनि सजिलो हुने रहेछ । यो यहाँको राम्रो पक्ष हो । हरेक ठाउँमा राम्रा र नराम्रा पक्षहरू हुन्छन् नै । हामी केही समयका पाहुना हौँ अमेरिकामा, त्यसकारण पनि नराम्रा पद्धति कसरी थाहा पाउने र ? जहाँ जता गए पनि मानवीय संवेदनामा अत्यन्त ध्यान पुर्याएर गरिएका धेरै कामहरूले भने हाम्रो मन जितेको थियो ।
गीता, छोराहरू र भाइ आएपछि हामीलाई अमेरिकाभन्दा पनि आफ्नै घरमा छौँ जस्तो भाव भएको छ । आलावामा आफ्नै गाउँजस्तै भएको छ । आफ्नोपनको आभास भएको छ । दिन पनि कति छिट्टै बितिरहेछ ।
छोराको दीक्षान्त समारोह आज । उसलाई बिहानैदेखि फुर्सद छैन । फोटो सेसनका लागि हामी युनिभर्सिटीमा पुग्यौँ । उसको प्रोफेसर र अन्य साथीहरूसँग तस्बिरहरू खिच्यौँ । वास्तवमा त्यो पल अविस्मरणीय थियो ।
दिउँसो एक बजे दीक्षान्त समारोहमा हामी पनि सहभागी बन्यौँ । हामी दुई भाइ, गीता, तुलसा, शुभम् र श्रीयम् त्यो गौरवमय क्षणको साक्षी बनिरहेका छौँ । हाम्रो कुलकै प्रतिष्ठा बढाएको थियो, कुलमै पहिलो विद्यावारिधि गरेर छोराले ।
हामी धन्य भयौँ । भाइ डिल्ली कहिले फूलको बुकी किन्न जान्छ, कहिले माला । ऊ खुसीले पुलकित बनेको छ, के गरौँ कसो गरौँ जस्तो गरिरहन्छ । म त्यो क्षण साक्षी छु । अमेरिकामा दीक्षान्त समारोहको यो क्षण पहिलो अनुभव थियो ।
हामी सुरक्षाजाँच सकिएपछि माथि हलतर्फ लाग्छौँ । समारोह चारैतिरबाट देख्न सकिने र मनिटरबाट पनि देख्न सकिने व्यवस्था छ । आकर्षक सजावटले निकै मनमोहक थियो कार्यक्रमस्थल । विद्यार्थीहरू मास्टर र विद्यावारिधिको अलग समूहमा लहरै बसेका थिए । मैले त्यो समूहमा छोरालाई खोजेँ । उसले भने हामीलाई देखेको थियो । छोरा शुभुले जुम गरेर लोकेश दादाको फोटो खिचिरहको थियो ।
समारोह तोकिएकै समयमा सुरु भयो । आगन्तुकहरू समयभित्रै आ–आफ्नो स्थानमा बसिसकेका छन् । विद्यार्थीहरू पनि तोकिएकै ड्रेस लगाएर आ–आफ्नो स्थानमा बसिसकेका छन् ।
त्यहाँ अतिथिहरूमा केही सिनेटर, प्रोफेसर, युनिभर्सिटीका प्रमुख तथा विद्यार्थीहरूलाई इस्पोन्सर गर्न संस्थाहरू, अमेरिकी आर्मीका प्रतिनिधि, नासाका प्रतिनिधि, हवाईजहाज कम्पनीका प्रतिनिधि तथा विभिन्न कम्पनीहरूका प्रतिनिधिहरू मात्र थिए ।
कुनै पनि नेता तथा राजनीतिक कार्यकर्ताहरू त्यहाँ अतिथिका रूपमा थिएनन् । कसैले पनि दुई/तीन मिनेटभन्दा बढी भाषण गरेनन् । अतिथिहरू समयभन्दा पहिल्यै पुग्दा रहेछन् । आफ्नो कारणले अरूको समय बरबाद नहोस् भन्ने उनीहरूको चाहना त्यहाँ देखियो ।
एक बजेदेखि तीन बजेसम्म सबै कार्यक्रम सकियो । त्यसै भनेका होइन रहेछन्, अमेरिकी समय । त्यही समयको साक्षी बनेका छौँ हामी । हामीले छोरा दीक्षित हुँदै गरेका तस्बिरहरू खिच्यौँ । हर्षका आँसु कतिखेर भुइँमा खसेछ, पत्तो नै भएन !