site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली सेनाको क्षमतामाथि प्रश्न : आठ वर्षमा द्रुतमार्गको काम ३९.३४ प्रतिशत

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई/मशेस द्रुतमार्ग सडक आयोजनाको काम सुरु गरेको आठ वर्ष बित्योे । तर, भौतिक प्रगति मात्र ३९.३४ प्रतिशत मात्रै पुगेको छ । २०७४ वैशाख २१ गतेदेखि २०८१ चैत मसान्तसम्मको अवधिमा द्रुतमार्गको उक्त भौतिक प्रगति भएको हो । उक्त अवधिमा द्रुतमार्गको वित्तीय प्रगति ४१.०६ प्रतिशत छ । 

पछिल्लो पटक द्रुतमार्गको म्याद २०८३ चैत मसान्तसम्मलाई थप गरिएको छ । अर्थात् अबको दुई वर्षभित्र सेनाले काम सक्नुपर्छ ।

नेपाली सेनाले सार्वजनिक गरेको द्रुतमार्गसम्बन्धी २०८१ चैत मसान्तसम्मको प्रगति विवरण अनुसार, अबको दुई वर्षमा बाँकी ६०.६६ प्रतिशत काम गर्नुपर्छ । 

निर्धारित समयमै सक्ने हो भने सेनाले अब प्रतिवर्ष औसतमा ३०.३३ प्रतिशत भौतिक प्रगति गर्नुपर्नेछ । बितेका आठ वर्षमा प्रत्येक वर्ष औसतमा मात्र ४.९१ प्रतिशतले भौतिक प्रगति हुँदै आएको छ । यही गतिले अबको दुई वर्षमा द्रुतमार्ग सक्न सम्भव छैन ।

परिमार्जित विस्तृत आयोजना प्रतिवेदनबमोजिम आयोजनाको कुल लागत २ खर्व ११ अर्व ९३ करोड रुपैयाँ छ । २०८१ चैत मसान्तसम्म द्रुतमार्गका नाममा ७५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ । 

नेपाली सेनाका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । २०८१ चैत मसान्तसम्म उक्त रकममध्ये ८ अर्ब ७ करोड ४५ लाख ४१ हजार ६५१ रुपैयाँ खर्च भइसकेको छ । 

द्रुतमार्गमा के भइरहेको छ ? 

द्रुतमार्ग आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेज छन् । तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन् ।

प्याकेज नं. ११ अन्तर्गतपर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया शुरु हुन बाँकी रहेको छ ।

“उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न समन्वय  भइरहेको,” नेपाली सेनाले सार्वजनिक गरेको २०८१ चैत मसान्तसम्मको प्रगति विवरणमा भनिएको छ, “साथै, जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पहरूको डिजाइन कार्य अगाडि बढिरहेको ।” 

बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजना प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा २०८१ चैत १९ गते प्राप्त भएको सेनाले जनाएको छ ।

हालसम्म स्वीकृत विस्तृत आयोजना रिपोर्ट (डीपीआर) बमोजिम खोकना–बुँगमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ रोपनी छ । यस्तै, मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी छ ।

द्रुतमार्गको २४.८ किलोमिटर देखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण सम्पन्न भई निर्माण कार्य भइरहेको छ ।

द्रुतमार्गको ६.५ किलोमिटर देखि २४.८ किलोमिटर खण्डमा सुरुङ्गमार्ग, स्लोप प्रोटेक्सन्, रिभर ट्रेनिङ निर्माण कार्यका लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणको स्वीकृति प्राप्त हुने क्रममा छ ।

सुरुङ निर्माण कार्य

द्रुतमार्गअन्तर्गत ७ वटा सुरुङ पर्छन् । ती सुरुङमार्गका लम्बाइ १०.९७९ किलोमिटर छ ।  दुईवटा सुरुङ ब्रेकथ्रु भइसकेको छ । ब्रेकथ्रु भएकामा १ हजार ६९१ मिटर लामो धेद्रे सुरुङ र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ छन् ।

महादेवटार सुरुङको लम्बाई ३ हजार ३५५ मिटर छ । यसको बायाँ सुरुङतर्फ २ हजार २८८ मिटर (६८ प्रतिशत) र दायाँ सुरुङतर्फ २ हजार २९ मिटर (६१ प्रतिशत) निर्माण सकिएको छ ।

एक हजार मिटर लामो देवीचौर सुरुङ र ३९० मिटरको सिसौटार सुरुङको खरिद सम्झौता तथा डिजाइन सकिएको छ । यी दुई सुरुङको पोर्टल निर्माण चलिरहेको छ । 

दुई हजार २५० मिटर लम्बाई रहेको चन्द्राम भीर सुरुङको ९१.०३ मिटर खन्ने काम सकिएको छ । यस्तै, ५८३ मिटर लामो मौरीभीर सुरुङको डिजाइन स्वीकृत भई निर्माण सुरु हुने चरणमा रहेको भनाई सेनाको छ । 

कति बने पुल ?

नेपाली सेनाले सार्वजनिक गरेको २०८१ चैत मसान्तसम्मको प्रगति विवरणअनुसार द्रुतमार्गमा ८९ पुल मध्ये ८५ पुलको ठेक्का सम्झौतापछि निर्माणका चरणमा छन् ।

निर्माणाधीन अधिकांश पुलहरूको ‘फाउण्डेशन’ सकिएको र ‘सुपरस्टक्चर’का काम भइरहेको छ । “आयोजनामा ५ स्थानका पुल बनिसकेको र यस आर्थिक वर्ष २० पुलहरूको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ” नेपाली सेनाको प्रगति विवरणमा उल्लेख छ ।

रुख कटान 

द्रुतमार्गमा हालसम्म ४४ हजार ४२० रुखहरू कटान भएको छ । कटान भएका रुखहरूको बदलामा हालसम्म जम्मा ७ लाख ५ हजार ५५२ विरुवा रोपेको सेनाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro