site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गजल लेखनबारे केही मन्थन

गजल विधाको बारेमा यता बहस उठेको छ । बहस भन्नाले गजलको विपक्षमा होइन, पक्षमा तर्क दिइए पनि गजललाई कमै बल पुगेको पाइन्छ । मैले नै गजललाई माथि उचाल्ने काम गरेँ भनेजसरी राजनीतिप्रेरित स्वरमा दाबी गरिएको पनि पाइन्छ ।

गजल लेखनमा नवीनता ल्याउनेले ल्याएकै हुन्, त्यसमा विवाद गर्नु बेकारै हुन्छ । तर, आफूलाई मात्र स्थापित र ठूलो देखाएर अन्य गजलकारका गजलबारे कुराकानी नगर्नुमा एकपक्षीयता देखिन्छ । यसले गजल लेखनको अवस्था र उपलब्धिहरू ओझेलमा पर्ने र गजललाई परिचय दिने काम हुन सक्तैन ।

एकै गजलकारका गजलले मात्र गजल विधाको सांगोपांग परिचय खुल्ने पनि होइन । यसरी बहस गजल के हो र समकालीन गजलको स्वरूप र स्वर के हुनुपर्ने भन्नेमा बहस उत्प्रेरित नभई गजललाई नेपाली साहित्यमा पहिचान दिने प्रयास नहुने देखिन्छ ।

उसै पनि नेपाली गजल गायन मात्र लेखनबारे हो वा होइन भन्नेमा विवाद पनि छ । त्यो विवाद गजल विधा के हो भन्नेसँग सोझै सरोकार राख्दछ । गजलबारे कसैले के कसैले के भनेकै छन् । ती सबैको सार गजललाई नेपाली साहित्यमा यथोचित स्थान वा सम्मानजनक स्थान दिलाउने प्रबल आशय देखा पर्छ ।

मोतीराम भट्टदेखि गजलको लेखनमा केही नवीनता आए पनि गजलमा ठूला कविहरूको आकर्षण देखिएन । ठूला कविले गजल नलेखेरै यस विधाको उपेक्षा गरेको त होइनन्, तर तिनले गजलप्रति चाख नदेखाइदिनाले गजलमा चमक आउन सकेन ।

गजललाई तैपनि उपेक्षणीय विधा भनेर यसतिर कमल नचलाउने युवा कविहरू छन् । यो कदापि होइन कवि हुँदैमा गजल पनि लेखेको हुनुपर्छ । कविभन्दा बढी गजलकारका रूपमा परिचयका लागि लालायित युवा रचनाकारहरूको जमात थोरै छ ।

गजललाई नै लेखनको एक लक्ष्य बनाएर साहित्यमा स्थापित हुन खोज्ने वा त्यही विधाबाट रचनाकारका रूपमा प्रसिद्धि स्थापित गर्ने प्रतिभाले मौका पाइरहेको छैन ।

तिनका लागि गजलप्रति नेपाली साहित्यमा देखिएको थोरबहुत उदासीनताले मन खिन्न गराएको पाइन्छ । गजलप्रति नेपाली साहित्यमा के कस्तो उत्सुकता, मान्यता र पठनप्रियता छ भन्ने विवेच्य बन्छ यस सन्दर्भमा ।

गजलप्रति उर्दु वा हिन्दी साहित्यका पाठकमा जसरी र जति बृहत् रूपमा आकर्षण पाइन्छ, त्यो स्तरमा नेपाली गजलप्रति यस साहित्यका पाठकमा आकर्षण पाइन्न ।

यदाकदा गजल गायनमा प्रवृत्त गजलगायकहरूले खोज्ने गरेको गजलका रचनामा पनि चयनको सतर्कता खासै पाइन्न । एक किसिमको रोमान्टिकता वा प्रेमप्रधान त्यो भावुक र रुदन मनोदशाका गजलतिर आकर्षण बढी पाइन्छ ।

गजल भन्ने रचनाको समकालीन नवीन स्वर र गहिराइप्रति ती गजलगायक पनि त्यति रुचिसम्पन्न र सजग छैनन् । माथि भनिएझैँ प्रेमालाप वा प्रेमबिछोड वा मनको वेदना जुन प्यार वा प्रेमीप्रेमिकाको वियोगका कारण उब्जेको मानसिकताको अभिव्यक्ति हुन्छ, तिनै विषयलाई केन्द्रमा राखेर सहजै गायन गर्न मिल्ने गजल भनाउँदा रचनाहरू छानेर गाउने गरिन्छ ।

यस्तो लाग्छ, गजलको विदेशी स्वभावले नेपाली गजल रचनालाई प्रभावित पारेको छ । नेपाली गजलले पनि विदेशै अर्थात् अरबी भाषाको त भन्न सकिन्न, उर्दु वा हिन्दीका गजलहरूको विविधतालार्ई आत्मसात् गरेर गजल लेखनको सुरुआत गरेका हुन् ।

शनैःशनैः नेपाली गजलकारहरूले नेपाली भाषामा रचिएका गजलहरूको पहिचान बनाउने काम नगरेका होइनन् । तर, ती गजलहरूले कविताझैँ नेपाली साहित्यमा विवेच्य विधाका रूमा स्थान पाउन सकेनन् ।

यो दुर्भाग्य नै हो साहित्यको पनि र गजलको पनि । गजलले नेपाली साहित्यमा कविताले झैँ उद्धरण पाउने गरेका छैनन् । उद्धरणसहित विवेचना वा समालोचनाको स्पेस पाएका छैनन् ।

उद्धरणको मामिलामा गजललाई मान्यता नै दिइएको छैन भन्दा हुन्छ । उद्धरणले काव्यविधाको जति लोकप्रियता र सान्दर्भिकता बढाएको छ, त्यो ईष्र्या गर्न लायक छ । अरू विधाले त्यसलाई उछिन्न सकेको छैन । गजलको लागि यस्तो हुनु खेदजनक हो । अन्ततः गजल पनि एक काव्य विधा नै हो ।

वास्तवमा, के आजसम्मको गजल लेखन साहित्यको एक अलग पहिचान पाउन संघर्षरत नै छ वा यसलाई जानाजान उपेक्षा गरिएको छ ? गजलको प्रौढता अझै प्रकटित भएको छैन । यो शैशव अवस्थामै छ वा यो प्रौढ हुने र पहिचान स्थापित गर्ने प्रक्रियामा छ ?

यसको जवाफ तत्काल सम्भव छैन, कारण एउटा यो हुनसक्छ — नेपाली गजलकारहरूका चयनित गजलहरूको प्रतिनिधि संकलनको अभाव । दोस्रोमा, गजल भन्नाले गायनकै लागि रचिने गीत वा कविताको उपविधा हो भन्ने नेपाली साहित्यका पाठकहरूको मानसिकता ।

पहिलोमा भनिएझैँ गजल रचनाहरूको प्रतिनिधि संकलनका लागि गजलकारहरूले नै अग्रसरता लिनुपर्ने हो । कथाको हाराहारीमा आउन लघुकथा लेखन अनेक प्रकारले आफूलाई प्रकटित गरिरहेको छ र कविताको सुस्त अवधि मानिने यो कालखण्डमा पनि यसका विविध प्रतिनिधि संकलनहरू उपलब्ध छन् ।

तर, गजलको परिचय स्थापित गर्ने प्रतिनिधि छैन भनौँ वा कमै छन् । र, यस्ता प्रतिनिधि संकलनहरूकोे (यसको विकास र स्वरूप स्थापित गर्ने भूमिकासहितका संकलन) आवश्यक छन् । गजललाई पाठकसम्म पुर्‍याउने हो भने यसको समकालीन नवीन स्वरको पक्षधर समालोचना र हाल लेखिँदै गरिएका गजलबारे निरन्तर चर्चा र समालोचनाको हस्तक्षेप जरुरी छ ।

नेपाली साहित्यमा गजल लेखन अन्य विधासरह सिर्जनको एक माध्यम हो भन्ने स्थापना र यसको आवश्यकता देखाउन गजलकारहरूको प्रतिनिधि संकलन आवश्यक छ, जसबाट गजलको स्वर र त्यसको रचनावैविध्य नेपाली साहित्यका पाठकहरूसामु देखा परोस् ।

गजलको जुन शास्त्रीयता उर्दु भाषाको गजल लेखनबाट लिइएको छ, त्यसको क्लिष्टताले पनि नेपाली गजल लेखनलाई असहाय तुल्याउने गर्छ । नेपाली गजलको शास्त्रीयपक्ष निर्माण जरुरी छ । अक्षर गणनाको आधारमा हाइकु लेखनको पहिचान स्थापित गर्दैै हाइकु लेखनले नेपाली काव्यसाहित्यमा जरो गाड्न सफल भयो, त्यस्तै गजलको पनि केही सरलीकृत सामान्य नियमहरूको नेपाली साहित्यमा प्रवेश गराउनु उचित हुनेछ ।

एक त उर्दु भाषा नै नेपाली भाषाको अनुवादमा सटीक र सरलीकृत भएर आउन पाउँदैन, दोस्रो उर्दुका शब्द संस्कृतका शब्दमा अनुवाद गर्दा गजलको लय नै भत्किने गर्छ ।

त्यसो भए तापनि भारत र पाकिस्तानका उर्दु र हिन्दीका राम्रा गजलहरूको अनुवाद नेपाली साहित्यमा क्रमिक रूपमा ल्याइनु नै छ । यो काम एकाधबाहेक भएकै छैन भने पनि हुन्छ ।

संस्कृत वा नेपाली वा अंग्रेजी भाषाका जानकार त जति पनि पाइन्छन्, तर उर्दु भाषाका विज्ञ कमै भेटिन्छन् । गालिबका गजलहरूको अनुवाद गर्नु पर्‍यो भने उनले रचना गरेका गजलहरूको मूल उर्दु भाषाको अनुवाद गर्ने विज्ञ प्रायः पाइँदैनन् । त्यसमा पनि यस्तो श्रमसाध्य र समय लाग्ने कठिन कामको यश र आर्थिक उपलब्धि शून्य नै छ ।

यस्तो अवस्थामा एउटा तप्का यस्तो छ, जसले नेपाली भाषाको गजललाई मान्यता दिनु त कता हो कता त्यसबारे केही बोल्न पनि चाहँदैन । तिनका दृष्टिमा हिन्दी वा उर्दु भाषाका गजलहरूको स्तुतिगान नै आफू अभिजात वर्गको गजलविज्ञ वा गजलकार हुनुको फोस्रो गर्व मान्ने गरेका छन् । 

नेपाली गजल लेखनलाई प्रज्ञा–प्रतिष्ठानलगायत अन्य संस्थाहरूले शोधखोजको विषय बनाएर नेपाली साहित्यको एक विधाको रूपमा गजल लेखनलाई पनि उचित मान्यता दिनु आवश्यक छ ।       
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro