
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमा रहेको एक महिना बढी भयो । थुनामा आफूलाई भेट्न आउने राप्रपाका नेता/कार्यकर्ताहरूसँग माहोल बनेकाले ‘राजा फर्काउने’ आन्दोलन चर्काउन दबाब दिने गर्छन् ।
गत शनिबार भेट्न पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग पनि उनले आन्दोलन तीव्र पार्नुपर्ने भनाइ राखेको राप्रपाका एक नेताले बताए ।
“मिश्रजी राप्रपाका हरेक नेतासँग आन्दोलनको माहोल बनेको छ आन्दोलन चर्काउनुपर्छ भन्नुहुन्छ,” ती नेताले बाह्रखरीसँग भने, “नेताहरू उहाँसँग माहोल बनेको स्वीकार गर्नुहुन्छ र आन्दोलन चर्काउने पनि भन्नुहुन्छ । तर, व्यवहारमा त्यस्तो देखिँदैन ।”
मिश्र गत चैत १५ गते तीनकुनेमा प्रदर्शनकारीलाई उक्साउँदै तोडफोड र हिंसात्मक क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका हुन् । उनी नवराज सुवेदीको संयोजकत्वमा गठित ‘राजतन्त्र पुनर्स्थापना संयुक्त जनआन्दोलन परिचालन समिति’का सदस्य सचिव हुन् ।
शीर्ष तहका नेताबाहेक राप्रपाका युवाहरू भेट्न जाँदा मिश्रले नेताहरूका कमजोरीबारे पनि बुझाउने प्रयास गर्छन् ।
राप्रपाका ती नेताका अनुसार, नेताहरूलाई सिधै आरोप लगाउँदैनन् । तर भावी पुस्ताको भविष्य बर्बादी भइरहेको बताउँदै अप्रत्यक्ष रुपमा नेताहरूलाई गैरजिम्मेवार देखाउने प्रयत्न गरेको पाइएको उनीसँगको भेटपछि बाह्रखरीसँग कुरा गर्दै ती युवा नेताले बताए ।
उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, “तत्काल आन्दोलन गरिएन भने यत्तिको माहोल बन्न वर्षौं कुर्नुपर्ने हुन सक्छ । नेताहरूले त पद प्रतिष्ठा पाएका छन्, तर भावी पुस्ताको त भविष्य बर्बाद हुनेछ ।”
थुनामा उनलाई मोबाइल र इन्टेरनेट दिइएको छैन । त्यसकारण मिश्र सामाजिक सन्जालबाट बाहिर छन् । “उहाँले सबै पत्रपत्रिका पढ्न पाउनुभएको छ । पत्रिकामा आएका हरेक विषय उहाँ अद्योपान्त पढ्नुहुन्छ,” राप्रपाका ती नेता भन्छन्, “तर, अनलाइनको सुविधा भने उहाँलाई छैन । मोबाइल र इन्टरनेट दुवै उहाँको पहुँचमा छैनन् ।”
मिश्रले संसद् भवन बानेश्वरतिर अघि बढ्न आन्दोलनकारी उक्साएका थिए । उनी आफैँले पोष्ट गरेको भिडियोहरूलाई प्रहरीले प्रमाण बनाउँदै अनुसन्धान जारी गरेको छ ।
मञ्चभन्दा बाहिर सडकमा प्रहरी घेरा तोड्ने प्रयत्न सुरुवातदेखि नै गरेका प्रदर्शनकारीलाई मञ्चको कार्यक्रम भाँडिएपछि मिश्रले नै अगुवाइ गर्दै प्रदर्शनकारीलाई भड्काएको आरोप प्रहरीको छ । प्रदर्शनका लागि निस्किएकाहरूले तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।
पत्रकार सुरेश रजक आगजनीमा परेर ज्यान गुमाए भने अर्का प्रदर्शनकारी सविन महर्जनको प्रहरीको गोलीबाट मृत्यु भयो ।
राप्रपा नेताहरूले नलिएको अपनत्व
राप्रपा नेताहरूले रवीन्द्र मिश्रको पक्राउलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले मुद्दा बनाउन नचाहेको आरोप लगाइरहेका छन् । अध्यक्ष लिङदेन प्रारम्भमा भेट्न गएका थिएनन् । उनी भेट्न नगएको विषय चर्कियो । त्यसपछि मात्रै लिङदेन भेट्न पुगेका थिए ।
भेटपछि पनि उचित रुपमा सम्बोधन गर्न र नेताहरूलाई रिहा गराउन दबाब दिन नसकेको आरोप पनि लिङदेनमाथि लागिरहेको छ ।
“मिश्रलाई मात्र होइन, धवलशमशेरलाई पनि छुटाउन नेतृत्वबाट पहल भएन,” राप्रपाका एक नेता भन्छन्, “धवलशमशेरजी त क्यान्सर प्यासेन्ट मुखमा गिर्खा देखिएपछि स्वास्थ्यका करण छुट्नुभएको हो । त्यसपछि उहाँ भारतमा उपचार गरेर फर्कनु भएको छ ।”
उनी धवलशमशेर फर्किएपछि कमल थापाले गरेको कार्यक्रममा पनि लिङदेनले मिश्रको नाम नलिएपछि उनका समर्थकहरूले आपत्ति प्रकट गरिरहेका छन् ।
“कमल थापाले पटक–पटक रवीन्द्र मिश्रको नाम लिनुभएको छ तर, हाम्रो अध्यक्ष राजेन्द्र लिङदनेले पक्राउ परेका हाम्रा नेता–कार्यकर्ता मात्र भनेर सम्बोधन गर्नुभयो,” ती नेता भन्छन्, “संसद्मा बरु अन्य पार्टीका सांसदहरूले रवीन्द्र मिश्रको नाम लिएका छन् । राप्रपाका सांसदहरूबाट मिश्रको नाम सुन्न छाडिएको छ ।”
सुरुवाती समयमा अध्यक्ष लिङदेनसहितले धवलशमशेरको नाम बारम्बार लिँदा मिश्रको पनि नाम लिने गरेका थिए । तर, धवलशमशेर छुटेपछि मिश्रको नाम लिने क्रम घटेको छ । मिश्रलाई हतकडी लगाएर अदालत लगेको विषयलाई मुद्दा नबनाएको राप्रपाका ती नेताको बुझाइ छ ।
“पार्टीले पहल गरेन भनौँ भने डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डेसहितका नेताहरू पनि राप्रपा नै हो । तर मूल नेतृत्वले छुटाउन पहल नै नगरेको सत्य हो,” ती नेताले भने, “राप्रपामा देखिएको यो खटपट व्यवस्था फेर्ने आन्दोलनबाट पार्टीभित्रको द्वन्द्वमा सीमित हुने जोखिम बढेको छ ।”