site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंसहितका स्थानमा ‘घाम नलाग्ने’, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका धेरै स्थानमा गए राति (वैशाख २०)देखि वर्षा भइरहेको छ । आज (वैशाख २१) दिनभरजसो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यति बेला काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका केही स्थानमा पानी परिरहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाका मौसमविद् डेविड ढकालले जानकारी दिए । केही समयपछि लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताए ।

उनका अनुसार, यस दिन घाम लाग्ने सम्भावना छैन । बदली (आकाशमा बादल/वर्षा) हुने उनले बताए । “केही बेर रोकिए पनि फेरि पानी पर्नेजस्तो देखिन्छ,” उनले बाह्रखरीसित भने, “खासै घाम लाग्ने देखिन्न ।”

Argakhachi Cement Island Ad

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ । “गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ,” उनले भने ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगलाको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले वर्षा भएको उनले बताए ।

काठमाडौंमा पनि दिनभरजसो बदली/वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भने ।

उनका अनुसार, यस दिनको तुलनामा सोमबार (वैशाख २२) वर्षा केही कम हुनसक्छ । तर, पानी सोमबार पनि पर्नेछ । “भोलि वर्षाको सम्भावना केही कम देखिन्छ,” मौसमविद् ढकालले भने, “तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ नै । भोलि काठमाडौंमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो १२ घण्टा (आइतबार बिहान १० बजेसम्म)मा तनहुँको खैरेनीटारमा सबैभन्दा धेरै ७७ मिलिमिटर वर्षा भएको छ । लमजुङको खुदीबजारमा ७२ मिलिमिटर पानी परेको छ ।

यस्तै, चितवनको शक्तिखोरमा ६८.२, पाल्पामा ६७.६, गोरखामा ६७.४, लमजुङको रैनासटारमा ६२ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २६.२, सुन्दरीजलमा ११.६, बूढानीलकण्ठमा १०.४, बबरमहलमा ९.२ मिलिमिटर पानी परेको विभागको तथ्यांक छ ।

यसबाहेक अरू धेरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

adfasgmg-1746333561.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १०:२३
प्रतिक्रिया दिनुहोस्