
झापा । सहकारी संस्थामा बचत अपचलन गरेको आरोपमा बिर्तामोडस्थित पातालग्गा बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष रेवती खनाल पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी विजय श्रेष्ठले खनाललाई कैलालीको धनगढीबाट पक्राउ गरेर झापा ल्याइएको जानकारी दिए । खनाललाई आइतबार (वैशाख २१) जिल्ला अदालत झापामा उपस्थित गराइने उनले बताए ।
खनालले ०७८ साल भदौ २३ गते आफू, पत्नी, भाइ, बहिनी र मामाससुराका नाममा दुई करोड ६ लाख आठ हजार ३८३ रुपैयाँ ऋण निकालेर फरार भएका थिए । ०७८ कात्तिक १६ गते संस्थाका उपाध्यक्ष टंकप्रसाद भेटवालले खनालविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए ।
पातालग्गा सहकारीमा एक हजार ५०० भन्दा बढी सदस्य छन् । सदस्यको बचत हिनामिना गरेर खनाल फरार भएपछि अध्यक्ष चयन भएका युवराज गिरीले निजी घरजग्गा बैंकमा धितो राखेर निकालेको पैसाले बचतकर्ताको रकम फिर्ता भइरहेको बताए ।
झापा जिल्ला अदालतबाट ०७९ मंसिर १४ गते उक्त मुद्दाका पाँच आरोपितका नाममा हाजिर हुन आउने म्याद जारी भएको थियो । खनालकी बहिनी बिर्तामोड नगरपालिका–२ निवासी गोमा खनाल भण्डारी र मामाससुरा भद्रपुर नगरपालिका–८ निवासी अनन्तजीवन लुइँटेल पक्राउ परेका थिए ।
अदालतको आदेशबमोजिम एक लाख ५० हजार रुपैयाँ धरौटीमा गोमा र ७५ हजार धरौटीमा अनन्तजीवन तारेखमा छुटेका थिए । हाल खनालकी पत्नी कमलादेवी भट्टराई र भाइ सीताराम खनालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
झापामा सहकारीको बचत अपचलन गरेको आरोपमा पक्राउ परेका अरू सहकारीका सञ्चालक तथा कर्मचारीविरुद्ध पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको शिवगञ्जस्थित सेवा केन्द्रका प्रमुख जीवन भुजेललाई तीन करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा गएको चैतमा प्रहरीले पक्राउ गरेको थियो । भुजेलविरुद्ध सम्बन्धित सहकारीले नै प्रहरीमा जाहेरी दिएको थियो ।
यस्तै, शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाल र व्यवस्थापक मित्रलाल भट्टराई बचत अपचलन गरेको आरोपमा गएको कात्तिकमा पक्राउ परेका थिए ।
अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईले मिलेमतोमा सहकारीमा सर्वसाधारणले राखेको बचत एक करोड ३९ लाख ७७० रुपैयाँ हिनामिना गरेको भनेर प्रहरीमा जाहेरी परेको थियो । हाल यो मुद्दा झापा जिल्ला अदालतमा विचाराधीन छ । रासस