
काठमाडौं । गएको वर्ष नेपाली चलचित्र उद्योगमा थुप्रै नेपाली अग्रज कलाकारले कमब्याकको प्रयास गरे । कुनै समय लोकप्रिय रहेका कलाकारले लामो समयपछि पुनः नेपाली चलचित्र उद्योगमा फर्कने प्रयास गरेका थिए ।
आफू सक्रिय रहेको समयमा एकछत्र राज गरेका कलाकारले फेरि सक्रियता बढाउने प्रयास गरेका हुन् । गत वर्ष मात्र होइन, यसपालि पनि यस्तो प्रयास जारी छ । राजेश हमाल आठ वर्षपछि सिनेमामा फर्किए ।
‘आचार्य’मार्फत निखित उप्रेती ६ वर्षपछि फर्कंदै छन् । ‘आचार्य’लाई निखिलले नै निर्देशन गर्नेछन् । पछिल्लोपटक उनले ६ वर्षअघि ‘भिलेन’मा अभिनय गरेका थिए ।
करिब आठ वर्षपछि रमेश उप्रेती कमब्याकको प्रयास गर्दै छन् । उनी यसअघि ‘ऐश्वर्य’मा मुख्य भूमिकामा थिए ।
भुवन केसी पनि यो वर्ष नयाँ सिनेमा लिएर आउँदै छन् । धीरेन शाक्यको चलचित्र समेत यही वर्ष रिलिज हुँदै छ ।
शिव श्रेष्ठले बेलाबेलामा एकाध चलचित्रमा काम गरिरहेका छन् । तर, ती चलचित्र व्यापारिक रूपमा सफल भएका छैनन् । केही समयअगाडि ‘दाल भात तरकारी’मार्फत निरुता सिंहले कमब्याकको प्रयास गरिन् । यो सिनेमा औसत रह्यो ।
विपना थापाले गएको वर्ष ‘ह्रस्व दीर्घ’मा काम गरिन् । यो वर्ष ‘आ बाट आमा’मा विपना मुख्य भूमिकामा देखिँदै छिन् । दुई वर्षअगाडि ‘बगान’मा अभिनय गरेकी करिष्मा मानन्धर चलचित्र ‘परिवर्तन’मार्फत फेरि देखिँदै छिन् । सरोज खनालले बाक्लै सिनेमा गर्दै आएका छन् ।
‘पूजा चन्द’ पनि ‘तेल भिसा’मार्फत नेपाली चलचित्र उद्योगमा फिर्ता भइन् । त्यसपछि ‘भूठान’मा देखिइन् ।
‘एक्टर : टेक वान’बाट राजबल्लभ कोइराला र ‘तेल भिसा’मार्फत ऋचा घिमिरे फर्किए । ऋचा ‘भूठान’मा पनि देखिइन् ।
राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, रमेश उप्रेती, धीरेन शाक्य, करिष्मा मानन्धर, पूजा चन्द, निरुता सिंह, विपना थापालगायत कलाकारले आफू सक्रिय हुँदाको कालखण्डमा पहिलो रोजाइको नायक/नायिका भएर काम गरेका थिए ।
यी कलाकारको कमब्याक कस्तो रह्यो भन्ने प्रस्ट छ । सामाजिक सञ्जाल र मिडियामा जति चर्चा/परिचर्चा हुन्छ, त्यो अनुपातमा कलाकार सफल भएका छैनन् । उनीहरू अभिनीत चलचित्रले राम्रो व्यापार गरेको छैन ।
यसको कारण कलाकार र मेकर दुवै भएको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन् । कमब्याकको प्रयास गर्दा कलाकार र मेकर दुवैले अतिरिक्त मिहिनेत गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
“अहिले जति पनि कमब्याकको प्रयास गर्नुभएको कलाकार छ, त्यो त्यति धेरै सफल देखिएको छैन । थोरै क्रेज राजेश हमालको देखिएको तर सिनेमा नै नराम्रो भयो,” निर्देशक देउजा भन्छन्, “कमब्याकको प्रयास गरेकाहरूमध्ये दर्शकले राजेश हमाललाई वेट गरेको देखियो । तर, सिनेमा नै भएन ।” राजेश हमालको कमब्याक भनिएको चलचित्र ४०/५० को दशकको जस्तो भएको उनले टिप्पणी गरे ।
बजारमा भइरहेका भन्दा फरक तरिकाले कमब्याकको प्रयास गरिनुपर्नेमा त्यसो हुन नसकेको उनी बताउँछन् । बजारमा चलिरहेका कलाकारभन्दा भिन्न र अब्बल हुनुपर्ने उनको भनाइ छ ।
“अहिले हाम्रोमा सबैभन्दा राम्रो र जस्तो पनि अभिनय गर्ने भनेर सौगातको नाम लिइन्छ,” उनी भन्छन्, “कमब्याक गर्ने कलाकारको पफर्मेन्स कि त्योभन्दा राम्रो हुनुपर्यो, होइन भने कोही आउनु र नआउनुले केही फरक पर्दैन ।”
विराज भट्टको ‘१२ गाउँ’ व्यापारिक रूपमा सफल भयो । तर, त्यसको कारण उनी नभएर समीर भट्ट भएको निर्देशक देउजा प्रस्ट पार्छन् ।
कतिपय कलाकार – जसले नेपाली चलचित्र उद्योगमा ठूलो योगदान दिएका थिएनन्, उनीहरूलाई वर्तमान पुस्ताले नचिन्ने देउजा बताउँछन् । सञ्चारकर्मीसँगको चिनजान र सम्बन्धका कारण मिडियामा राम्रो कभरेज पाउने गरेको भन्दै उनी भन्छन्, “मिडियाले रेस्पोन्स नगर्ने हो भने त्यस्तो कलाकारले कति वर्षमा चलचित्रमा काम गरे वा गरेनन् भन्ने पनि थाहा हुँदैन । नेपाल आए/गएको पनि थाहा हुँदैन ।”
निर्देशक सुवर्ण थापा कलाकारिता अवकाश लिने र दिने पेसा नभएको भन्दै ‘कमब्याक’ शब्द प्रयोग गर्न रुचाउँदैनन् । यसलाई उनी केही समयको विश्राम भन्छन् ।
केही वर्ष वा लामो समयको विश्रामपछि फर्कने कलाकारको तयारी र छनोट कस्तो छ त्यसले सफलता/असफलता निर्धारण गर्ने उनी बताउँछन् । “विश्राम लिएर आउँदा उसले आफूलाई कति अपग्रेड गर्यो र काम गर्न कस्तो कथा रोज्यो भन्नेले ऊ कति सफल र असफल हुन्छ भन्ने निर्धारण गर्छ,” उनी भन्छन् । अपग्रेड नभई आउने र गलत कथा एवं टिमसँग काम गरे सफल नहुने उनी टिप्पणी गर्छन् ।
मेरो भूमिका के हो, किन, के गर्न आउने भन्ने प्रस्ट उद्देश्य हुनुपर्ने थापा बताउँछन् । “निर्माणपक्षले उसको पहिलाको क्रेज देखेर त्यसलाई क्यास गर्न खोज्छ,” उनी भन्छन्, “त्यस्तो कलाकारले पुरानो छायाछवि कायम राख्न त्यहीअनुसार तयारी गर्नुपर्छ । नयाँ जेनेरेसन आइसकेको हुन्छ, त्यहीअनुसार स्वयं व्यक्तिले मिहिनेत गर्नुपर्छ ।” बजारले के चाहेको र कस्तो ट्रेन्ड चलेको छ भन्नेमा अपडेट नहुँदा समस्या हुने उनको भनाइ छ ।
लामो समयपछि चलचित्र उद्योगमा फर्कने कलाकारले आफूलाई समयानुकूल परिवर्तन र सोचमा बदलाव ल्याउन सक्नुपर्नेमा उनी जोड दिन्छन् । अन्यथा, चुनौतीको सामना गर्न नसक्ने र पुरानो क्रेज पनि मेटिन सक्ने निर्देशक थापा बताउँछन् ।
निर्माता रोहित अधिकारी पहिलाको क्रेज अहिले खोजेर नहुने बताउँछन् । मनोरञ्जनका केही पनि साधन, इन्टरनेट र मोबाइल नहुँदाको क्रेज वर्तमानमा फर्काउन सम्भव नरहेको उनको भनाइ छ । “त्यो बेलाजस्तो अहिले कलाकारको क्रेज छैन । सिनेमा पनि चल्दैनन्,” उनी भन्छन्, “त्यो बेलाजस्तो अहिले व्यक्तिले सिनेमा चल्दैनन् । यसमा हामी सबै ढुक्क हुनुपर्छ ।”
त्यति बेलाका कलाकार हेर्न हल पुग्ने दर्शक हाल नरहेको उनको बुझाइ छ । र, त्यस्तो कथा पनि चल्ने उनी स्पष्ट पार्छन् । “४०/५० को दशकका जस्ता सिनेमा अहिले चल्दैनन् । त्यस्ता कथा र मेकिङले पनि चल्दैन,” निर्माता रोहित भन्छन्, “त्यो बेलाका कलाकारका दर्शक अहिले छैनन् । त्यो समय सिनेमा हेर्न जाने दर्शक आज हलमा जाँदैनन् ।”
समयसँगै दर्शक, कथा भन्ने शैली र अभिनय पनि परिवर्तन भइसकेकाले कमब्याकको प्रयास गर्दैमा इच्छा पूरा नहुने उनी टिप्पणी गर्छन् । “समय फेरिएको छ । अहिले कोेही व्यक्तिविशेषलाई खेलाउँदैमा सिनेमा चल्दैन । अहिले कथा नै राम्रो चाहिन्छ । मेकिङले नै दर्शकलाई राम्रो लाग्नुपर्छ,” उनी भन्छन्, “जसलाई राखे पनि, जो आए पनि कथा नै राम्रो हुनुपर्छ, व्यक्ति होइन ।” कहिले कसको कति क्रेज थियो र सिनेमा चल्थ्यो भन्दा पनि वर्तमानको कामले अर्थ राख्ने उनी बताउँछन् ।
पफर्मेन्सका आधारमा मूल्यांकन हुने उनी प्रस्ट पार्छन् । “अहिले व्यक्तिको टाउको होइन, काम बिक्छ । कमब्याक गर्ने कलाकारको इतिहास जेसुकै होस्, उसको काम सौगात मल्ल र विपीन कार्कीको भन्दा राम्रो हुनुपर्छ,” रोहित अगाडि थप्छन् ।
अहिले को कलाकार राख्दा र कुन सिनेमा चल्छ भनेर अनुमान नै लगाउन नसकिने अवस्था रहेको उनी सुनाउँछन् । “पछिल्लो समय कुन कलाकार राखेर बनाउँदा चलचित्र चल्छ, कस्तो कथा चल्छ भन्ने नै अहिले अन्योल छ,” उनी भन्छन्, “त्यसैले अहिले यो कलाकार लिएर बनाउँदा सिनेमा चल्छ भन्ने नभएपछि चलचित्रमै मिहिनेत गर्नुपर्छ ।”