site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रहरीले स्क्रिप्टमा रातो मसीले अन्डरलाइन गरेपछि...

काठमाडौं । चलचित्र लेखक विकास सुवेदीले ‘सहकारीको कथामा सिनेमा बनाउने हो ? मसँग कथा छ’ भन्दा दिनेश राउत सुरुमा कन्भिन्स (सहमत) हुन सकेनन् ।

किन ? 

सहकारी ठगीका समाचारले सञ्चारमाध्यम भरिएका थिए । घटना र व्यक्ति सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थिए । संसद् पक्ष/विपक्षमा विभाजित भएको थियो । केही राजनीतिक दल सडकमा निस्किएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यही विषयमा सिनेमा बनाउँदा कसैको एजेन्डा बोकेजस्तो पो हुन्छ कि भन्ने दिनेशको मनमा पस्यो । कोही व्यक्ति वा पार्टीको पक्ष/विपक्षमा दिनेशलाई सिनेमा बनाउनु थिएन । कसैको एजेन्डामा हिँड्नु थिएन ।

विकासले भने– एजेन्डा होइन, हामी सिनेमामा प्रवृत्तिको कुरा गर्छौं । कसैको निकट वा टाढा होइन, आमनेपाली जनता कसरी पीडित भइरहेका छन् भन्ने देखाउनेछौँ ।

दिनेश अलि सकारात्मक भए । अनि, विकासले केही पीडितका पीडा सुनाए ।

जस्तै ? 

७० वर्षका पुरुष जो भाडा तिर्दा पैसा खर्च हुन्छ भनेर दैनिक केही किलोमिटर पैदल हिँडेर दशौँ वर्ष घरअफिस गरे । पैसा बचाउन सकिँदैन भनेर कहिल्यै खाजा खाएनन् ।

उनले त्यसरी जम्मा गरेको करिब १२ लाख रुपैयाँ सहकारीले फिर्ता दिएन । यस्ता थुप्रै घटना विकासले दिनेशलाई सुनाए । केस अफ स्टडीका लागि पो दिनेशसँग कोही व्यक्ति प्रत्यक्ष ठोक्किएको थिएन, आमसमस्या त उनलाई थाहा थियो ।

प्रवृत्तिको कुरा उठाउने र त्यसमा कथा केन्द्रित हुने भएपछि दिनेश चलचित्र बनाउन सहमत भए । “जब समग्र प्रवृत्ति उठाउने कुरा भयो, माथिल्लो पहुँचवाला वर्गले तत्लो वर्गलाई जसरी ठगिरहेको छ भन्ने विषय उठाउने कुरा भयो,” निर्देशक दिनेश भन्छन्, “कसरी शोषण, दमन भइरहेको छ भन्ने कुरा देखाउने कुरा भएपछि यो सिनेमा बनाउन हामी सहमत भयौँ ।”

पैसाको अपचलन कसरी भइरहेको छ, बाहिर दोषी जो देखिए पनि भित्री रूपमा त्यसको मुख्य कारक को हो भनेर देखाइने भएपछि दिनेश ‘महाभोज’ बनाउन सहमत भएका थिए ।

कम्तीमा सहकारीको पैसा अपचलनको मुख्य दोषी को भनेर देखाउन सकिए त्यो आमनागरिकले थाहा पाउँछन् भन्ने भएपछि ‘महाभोज’को कथाले दिनेशलाई तान्यो ।

“कोही एक वा दुई व्यक्तिको घटनामा कथा भएको भए म यो सिनेमा बनाउने नै थिइनँ,” उनले प्रस्ट पारे, “सतहमा आएका पात्रका विषयमा अथवा आमनागरिकलाई थाहा भएको विषयमा भने म चलचित्र बनाउन तयार थिइनँ ।”

कुनै एउटा मुद्दालाई समाएर त्यसको फाइदा लिनुभन्दा पनि समग्र प्रवृत्तिमाथि प्रश्न गर्ने कथामा आफूले काम गरेको उनी जिकिर गर्छन् ।

रवि लामिछाने र जिबी राईका बारेमा मात्र सिनेमा बनाएको भन्ने नपरोस् भनी उनी सजग थिए । कसैको पक्ष र विपक्षमा बसेर चलचित्र बनाउन उचित नहुने उनी प्रस्ट पार्छन् । मेकरले आफूलाई लागेको र देखेको कुरा भन्न सक्ने तर कसैलाई च्याप्ने र गाली गर्न नहुने दिनेशको धारणा छ ।

सहकारीमा राखेको पैसा कसरी अपचलन भइरहेको छ, दोषी को हो, पहुँचवालाले कसरी त्यसको रकम दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा दिनेशले चलचित्र बनाए ।

यही जेठ ३० गते रिलिज गरिने चलचित्रबारे दिनेशलाई लागिरहेको छ, दर्शकले सिनेमालाई कसरी बुझ्लान् ? आमनागरिकका कथामा सिनेमा बनाए दर्शकले कस्तो प्रतिक्रिया दिन्छन् भन्ने जान्न उनलाई हुटहुटी छ ।

“यस्तो खालको विषयको सिनेमामा दर्शकको रुचि हुन्छ कि हुँदैन भन्ने चुनौतीको विषय हो । तर, व्यक्तिविशेषको सिनेमा होइन भनेपछि यो डर चुनौती भयो,” उनी भन्छन्, “हामी के गर्दै छौँ भन्नेमा क्लियर थियौँ । त्यसैले डर हुने कुरा भएन ।”

व्यक्तिविशेषका विषयमा चलचित्र नबनाएकाले दिनेशलाई यो सिनेमालाई लिएर डर छैन । समाचारमा आएकै भरमा चलचित्र नबन्ने भन्दै उनी अदालतमा विचाराधीन मुद्दामा सिनेमा बनाउन नहुने प्रस्ट पार्छन् ।

दोषी को भनेर अदालतले ठहर गरेको छैन । यस्तो अवस्थामा समाचारमा आएकै भरमा सिनेमामा कसैलाई दोषी करार गर्न नहुनेमा उनी जोड दिन्छन् ।

आर्थिक सर्वेक्षण, २०८१ अनुसार, नेपालमा दर्ता भएका सहकारीको संख्या ३१ हजार ४५० छ । ती सहकारीमा ७३ लाख ८१ हजार २८१ बचतकर्ता छन् । उनीहरूको चार खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत परिचालन गरिएको छ ।

यसमध्ये सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिको प्रतिवेदनानुसार, ३५७ सहकारीका करिब १४ लाख बचतकर्ताको दुई खर्ब ७५ अर्ब रकम जोखिममा छ । ८७ अर्ब रुपैयाँ अपचलन भएको तथ्य समितिले सार्वजनिक गरेको थियो ।

यही विषयमा चलचित्र ‘महाभोज’ छ । रवि लामिछाने पीडकका रूपमा समाचारमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘महाभोज’का विषयमा चासो देखायो ?

“देखाएन । रास्वपा मात्रै होइन, कुनै पनि राजनीतिक दल र तिनका नेता तथा व्यक्तिले हामीलाई के हो, किन हो यस्तो विषय भनेर चासो दखाउनु भएन,” दिनेश भन्छन्, “तर, प्रहरीले भने अनावश्यक चासो देखायो ।”

सिनेमामा प्रहरी जोडिनेबित्तिकै स्क्रिप्ट बुझाउनुपर्छ । दिनेशले पनि बुझाए ।

सहकारीको रकम हिनामिना गर्ने व्यक्ति कसरी प्रहरीको आडमा आफ्नो साम्राज्य खडा गर्छ भन्ने स्क्रिप्टमा थियो । तर, प्रहरीबाट करेक्सन आयो ।

“कोही बलियो हुनुमा वा गैरकानुनी काम गर्नुमा त्यसका पछि थुप्रै हात हुन्छन् । शक्ति एक्सरसाइज गर्ने व्यक्तिका पछि धेरै हुन्छन्,” उनी भन्छन्, “पूरै प्रहरी संगठन खराब हुन सक्दैन र हुँदैन पनि । व्यक्ति दोषी हुन सक्ला, तर संस्था नै दोषी हुँदैन । हामीले पनि प्रहरीका एक अधिकृतले सहकारीको रकम अपचलन गर्ने व्यक्तिलाई सहयोग गरिरहेको देखाएका थियौँ ।”

प्रहरीलाई प्रयोग गरिरहेको स्क्रिप्टमा थियो । तर, प्रहरीले भन्यो– प्रहरी कहिल्यै खराब हुनसक्छ ? प्रहरीलाई खराब देखाउने ?

अनि ?

प्रहरीसँग पौँठेजोरी खेल्नु दिनेशले मनासिब ठानेनन् । “उहाँहरू (प्रहरी)ले हाम्रो पुलिसले कहाँ यस्तो गर्छ ? यो हुँदैन, गलत सन्देश जान्छ, सत्य सेवा सुरक्षणम् र पुलिस हाम्रो साथी त नारा नै छ भन्नुभयो,” दिनेश भन्छन्, “कुनै प्रहरीले पनि त्यसो गर्दैन भनेपछि हामीले चरित्रमा परिवर्तन गर्‍यौँ ।”

त्यसपछि उनले प्रहरी अधिकृतको पूरै नगेटिभ क्यारेक्टरलाई ‘महाभोज’मा ग्रे जोनमा राखेर करेक्सन गरे । भलै, बुझ्नेले त्यसलाई बुझ्छन् । अहिले प्रहरी अधिकृतको कार्यशैलीले ऊ नेगेटिभ क्यारेक्टरमा रहेको देखाए पनि डाइलगमा ग्रे जोनमा बस्छ ।

प्रहरीले स्क्रिप्ट माग्छ । प्रहरीलाई गाली गरेको संवाद र नेगेटिभ चित्रण छ भने यो राख्न पाइँदैन भनेर रातो पेनले अन्डरलाइन गरेर पठाइन्छ ।

“उनीहरूले अन्डरलाइन गरेर पठाएको करेक्सन सच्चाएर लगेपछि प्रहरीले त्यो ठिक छ कि छैन फेरि हेरेर फिर्ता गरेपछि बल्ल स्क्रिप्ट पास हुन्छ,” दिनेश भन्छन्, “पूरै संगठन दोषी हुँदैन । तर, पात्र त दोषी हुन सक्छ । हरेक क्षेत्रमा राम्रो र नराम्रो दुवै खालका व्यक्ति हुन्छन् । यो कुरा आफैँमा गलत हो । हमीलाई यही कुरा चित्त बुझ्दैन ।”

प्रहरी संगठनभित्र सबै पात्र राम्रा हुन्छन् भनेर देखाउनैपर्ने कुरा न्यायसंगत हो र ? उनको प्रश्न छ । प्रहरीभित्र सबै व्यक्ति सही छन् भनेर देखाउनु पनि अन्याय होइन र ? उनी दोस्रो प्रश्न गर्छन् ।

‘महाभोज’ टिमले केही वास्तविक पीडितलाई बोलाएर सिनेमा देखाइसकेको छ । उनीहरूले सिनेमा हेरेर के भने ?

“सिनेमाको क्लाइमेक्स जे छ, हामीले पनि त्यही गर्नुपर्ने हो भन्नुभएको छ,” दिनेश भन्छन्, “केही पीडितले त कसरी पैसा उठाउनुपर्ने रहेछ भनेर हामीले सिक्यौँ पनि भन्नुभएको छ ।”

क्लाइमेक्समा जे छ, त्यसै गरौँ भन्ने बुझाइ वा बाटो ठिक हो ? “होइन । हामीले दिन खोजेको सन्देश यस्तो अवस्था नआओस्, अथवा पीडितहरू यो अवस्थामा पुग्ने अवस्था नआओस् भन्ने हो,” दिनेश अगाडि थप्छन्, “हिजो अन्याय, अत्याचारका लागि सशस्त्र विद्रोह भयो, फेरि त्यही अवस्थामा पुग्ने हो र ? भन्ने हामीले प्रश्न उठाएका हौँ । तर, सबैको बुझाइ एकै खालको हुँदैन ।”

सिनेमा हेर्दा तत्काल भावावेश पीडितले हामी यसै गर्छौं भने पनि वास्वविकतामा सोचविचार गरेर कदम चाल्नेमा दिनेश ढुक्क छन् । लाखौँ मानिसको मुद्दा र आमप्रवृत्तिलाई उजागर गरेकाले दर्शकको साथ रहनेमा उनी विश्वस्त छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:१५
प्रतिक्रिया दिनुहोस्