site stats
बाह्रखरी :: Baahrakhari
देश
इटाली र फ्रान्स जाने सपना बोकेर बंगलादेशबाट जब १३ जना काठमाडौं आइपुगे...

काठमाडौं । बंगलादेशी नागरिक अलिम मोल्लिक एक महिनाअघि इटाली जाने सपना बुनेर काठमाडौं ओर्लिए । बंगलादेशबाट नै इटाली जान सहज नभएपछि उनी ‘एजेन्ट’को पछि लाग्दै अवैध बाटो हुँदै इटाली पुग्ने योजनासहित नेपाल आएका थिए ।

उनलाई नेपाल हुँदै इटाली पठाउने समूहमा बंगलादेशकै नागरिक मुहम्मद फरहिद हुसेन चौधरी, मोहम्मद मोस्ताफिजुर रहमान, अबुयुसुफ एमडी हानिफ, काजी सहत्ताब हुसेन र अजिम मोलिमसहितको समूह थियो ।

उनीहरूकै योजनाअनुसार मोल्लिकसहित १३ जना नेपाल आए । मुहम्मद फरहिद हुसेन चौधरीको समूहले उनीहरूलाई भनेका थिए,‘‘हामी नेपाल हुँदै इटाली र फ्रान्स पठाउन सक्छौँ जान चाहन्छौ भने तीन हजार ५०० अमेरिकी डलर बोकेर नेपाल आउनू ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बंगलादेशमा राम्रो आम्दानी नभएका १३ जना युवा उनीहरू प्रलोभनमा परेर भिजिट भिसामा नेपाल आए । चौधरीसहितको समूहले भनेबमोजिमको तीन हजार ५०० डलरसमेत ल्याए । 

thagi-(1)-1745500496.jpg
 

उनीहरूलाई लागेको थियो– तीन हजार ५०० डलर बुझाएपछि सहजै इटाली र फ्रान्स पुगिन्छ । बंगलादेशबाट नेपाल आएकाहरूलाई चौधरीसहितको समूहले गौशालाको होटेल प्राइम स्विटमा राख्यो ।

सोमबार उनीहरू १३ जनालाई नै भिसा प्रक्रियाका लागि होटेलकै सेमिनार हलमा बोलाइयो । अलिम मोल्लिकसहितको समूह भिसा प्रक्रियाका लागि तीन हजार ५०० रुपैयाँसहित त्यहाँ पुगेका थिए ।

चौधरीसहितका ६ एजेन्टले अलिमसहितका १३ जनाले ल्याएको रकम खाममा राखेर टेबलमा राख्न निर्देशन दिए । सबैले त्यहीअनुसार गरे । भिसा प्रक्रियाका लागि छुट्टै फारम भर्नुपर्ने भन्दै हातहातमा फारमसमेत थमाए ।

फारम भर्ने बेला भने टेबलमा राखेका डलरका खाम चौधरी समूहले परिवर्तन गरे । अलिमसहितका १३ युवाले त्यो चाल पाएनन् । 

इटाली र फ्रान्स जाने फारम भर्नमै व्यस्त थिए । फारम भरेर बुझाएपछि भने उनीहरूले डलर राखिएको खाम अलिमसहितलाई नै फिर्ता गरे ।

उनीहरूले जहाँतहीँ खाम खोलेमा कानुनी समस्या हुने भन्दै त्रास देखाएर होटेलमा पुगेपछि मात्रै खाम हेर्न सुझाए । त्यो बेलासम्म पनि उनीहरू इटाली र फ्रान्स पुग्ने सपनामै थिए । आफ्नै देश बंगलादेशका नागरिकलाई विश्वास गरेर आइसकेपछि शंका गर्ने कुरा थिएन ।

जब होटेलको कोठामा पुगे...

मुहम्मद फरहिद हुसेन चौधरीको समूहले भनेजस्तै उनीहरूले सेमिनार हलमा खाम नखोली होटेलमा गए । राति होटेलको कोठामा पुगेर खाम खोलेर हेर्दा त खामभित्र डलर नभएर कागजका खोस्टामात्रै देखे ।

१३ जना नै छाँगाबाट खसेझैँ भए । सबै एक ठाउँमा जम्मा भएर मुहम्मद फरहिद हुसेन चौधरीको समूहलाई ह्वाट्सएपमार्फत सम्पर्क गर्न खोजे । तर, कसैसित सम्पर्क हुन सकेन । 

चौधरीसहितका एजेन्ट पीडित १३ जनाले तीन हजार ५०० सयका दरले ल्याएको डलर लिएर सम्पर्कविहीन भइसकेका थिए । ४५ हजार डलर लिएर एजेन्टहरू भागेपछि इटाली र फ्रान्सको सपना बोकेर नेपाल आएका अलिम मोल्लिकसहितका युवाको सपना एकैछिनमा चकनाचुर भयो ।

सोमबार राति नै ठगिएका उनीहरू दुई दिनसम्म एजेन्टहरूसँगको सम्पर्कमा प्रयासरत रहे । दुई दिनपछि भने आफ्नै देशका एजेन्टले फसाएको निष्कर्षमा पुगे । उनीहरू बुधबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे । 

thagi-(2)-1745500518.jpg
 

विदेशी नागरिक मानवतस्करीको जालोमा परेको निष्कर्ष निकाल्दै कार्यालयले अपराध अनुसन्धान कार्यालयको ‘इन्टिलिजेन्स पिलर’का प्रमुख डीएसपी रोशन खड्का नेतृत्वको टोली परिचालन गर्‍यो ।

खड्काकै टोलीले मुहम्मद फरहिद हुसेन चौधरी समूहका तीनजनालाई बुधबार एयरपोर्टस्थित शिवशक्ति होटेलबाट पक्राउ गर्न सफल भयो । अनुसन्धानकै क्रममा थप दुईजना समेत बिहीबार पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले नौ हजार ८५० अमेरिकी डलर, बंगलादेशी ३९ हजार ९०५ र २५ हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा उनीहरूले बंगलादेशी नागरिकलाई विभिन्न देश पठाउने भन्दै नेपाल बोलाउने र धाकधम्की दिएर ठगी गर्ने गरेको खुलेको छ । पक्राउ परेकाहरूलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको कार्यालयका एसपी अंगुर जीसीले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्