site stats
बाह्रखरी :: Baahrakhari
देश
सानो पाइला सहकारीमा रवि लामिछानेविरुद्ध के छ प्रमाण ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्साको सानो पाइला सहकारी ठगीको मुद्दा पनि दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय पर्साले शुक्रबार (जेठ ३०) लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गराएको हो । लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको यो पाँचौँ तथा अन्तिम सहकारी हो ।

उनीविरुद्ध यसअघि पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो । गोरखा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा यी पाँचै सहकारीबाट ८६ करोड रुपैयाँ अवैध तरिकाले लगिएको खुलेको थियो ।

सानो पाइला सहकारीबाट मात्र ग्यालेक्सी टीभीमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ लगिएको आरोप छ । ग्यालेक्सी टीभीका अध्यक्ष ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राई हुन् । जिबीकै योजनाअनुसार देशका ठूला सहरमा सहकारी स्थापना गरेर बचतकर्ताको रकम अपचलन गरिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिबी राई फरार छन् । ग्यालेक्सी टीभीमा प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामिछाने पुुर्पक्षका निम्ति थुनामा छन् ।

लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गएको चैत २२ गते थुनामा पठाउने आदेश गरेको थियो । आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले समेत उच्चकै आदेश सदर गरेपछि उनलाई रुपन्देही कारागारमा राखिएको छ । पर्सा जिल्ला अदालतमा मुद्दा दर्तासँगै उनलाई बयानका निम्ति त्यहाँ पेस गर्नुपर्ने हुन्छ ।

लामिछानेलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर छाडेको थियो । रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छाडेको थियो । चितवन जिल्ला अदालतले ५४ लाख धरौटी लिएर छाडेको थियो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

सानो पाइला सहकारीमा के छ रवि लामिछानेको संलग्नता ?
जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको अभियोजनानुसार, सानो पाइला सहकारीबाट लामिछानेले एक करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए । लामिछाने आफैँले सहकारीमा खाता खोलेर उक्त रकम लिएको खुलेको छ ।

लामिछाने ०७८ साउन १८ गते सानो पाइला सहकारीमा खाता खोलेर सेयर सदस्य भएको अभियोजनपत्रमा उल्लेख छ । त्यो सहकारीमा लामिछानेको खाता नम्बर ००१–००१–०२–००११६४२ छ । उनको ऋण खाता नम्बर ००१–००१०११६–०००८३३ रहेको खुलेको छ ।

उक्त ऋण ०८२ साउन १८ गतेसम्म चुक्ता गर्ने गरी १२ प्रतिशतमा लिएको अभियोजनपत्रमा उल्लेख छ । तर, एक वर्षपछि ०७९ साउन ११ गतेसम्म ब्याज रकम नतिरी उनले एक करोड ८६ लाख ९४ हजार रुपैयाँको स्वामित्व जिबी राईलाई सुम्पिएका थिए ।

सहकारीबाट ऋण लिँदा जमानीमा लामिछानेले श्रीमती निकिता पौडेललाई राखेका छन् । उनीविरुद्ध व्यक्तिगत उक्त रकम र सहकारीमार्फत ग्यालेक्सीमा लगिएको १० करोड ६ लाख ९४ हजारसहित ११ करोड ५६ लाख ९४ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्