site stats
बाह्रखरी :: Baahrakhari
देश
डोरीसँगै कोसीमा चुँडियो सशस्त्रका दुई गोताखोरको जीवन

काठमाडौं । सप्तकोसी नदीमा मनसुनजन्य विपद् अभ्यासका क्रममा बेपत्ता भएका अर्का गोताखोरको पनि शव फेला परेको छ । आइतबार बिहान सुरज साउदको शव फेला परेको हो । साउदको शव कोसी ब्यारेजको ५५ नम्बर ढोकानजिक २५ मिटर गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि नै शुक्रबार बिहान सिपाही हरदेव राजवंशीको शव फेला परेको थियो । हरदेवको शव भने सशस्त्र प्रहरी बलको टोलीले कोसी ब्यारेजभन्दा झन्डै तीन किलोमिटर तल बग्दै गरेको अवस्थामा फेला परेको थियो । झापाका राजवंशीको शनिबार अत्येष्टि गरिएको छ ।

बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा मनसुनजन्य विपद् अभ्यासका क्रममा उनीहरू दुवैजना बेपत्ता भएका थिए । मधेस र कोसी प्रदेशका बाहिनीको संयुक्त रूपमा एकै ठाउँ सप्तकोसीमा गोताखोरले पूर्वाभ्यास गर्दै आएका थिए ।

Argakhachi Cement Island Ad

त्यसको दुई दिनपछि शनिबार दुई प्रदेशका मुख्यमन्त्रीसहित सशस्त्र प्रहरीका बाहिनीपति (डीआईजी)को उपस्थितिमा गोताखोरले डेमो प्रदर्शन गर्ने तयारी थियो ।

त्यसैका लागि बिहीबारसमेत अभ्यासका लागि दुईजना सशस्त्र प्रहरी बलका डीएसपीसहित पाँचजना गोताखोरसहित ५६ जनाको टोली अभ्यासमा थिए । तर, मध्याह्न दिउँसो ३ बजेतिर अभ्यासमा रहेका दुई गोताखोर राजवंशी र साउद कोसीबाट नदीभित्रबाट बाहिर निस्कन सकेनन् । 

हराइरहेका उनीहरूको शव दुई दिनको फरकमा सशस्त्र प्रहरी बलको टोलीले फेला पारेको हो । अभ्यासका क्रममा दुईजना गोताखोरको मृत्युले संगठनमा ठूलो क्षति भएको डीएसपी थापाको भनाइ छ । उनी भन्छन्, “यसरी गोताखोरको ज्यान जानेगरी कुनै पनि घटना भएको थिएन । यो पहिलो घटना हो । यसले हाम्रो संगठनमा ठूलो क्षति पुगेको छ । हामी मर्माहत भएका छौँ ।”

कसरी नदीमा हेलिन्छन् गोताखोर ?

नदीमा फेसका वा डुबेका मानिसको उद्धारका लागि गोताखोर ठूला नदी वा खोँचहरूमा जाने गर्छन् । उनीहरू घण्टौँ नदीभित्र पसेर खोजी तथा उद्धारमा हुन्छन् । त्यसैको उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन समूह पोखराको फेवतालदेखि, त्रिशूली नदी र कोसीजस्ता नदीमा अभ्यास गर्दै आएका छन् । गोताखोरहरू नदीमा वा तालमा जानुपर्दा दुवैजना हात समातेर एकसाथ जाने गर्छन् । त्यो उनीहरूको आधारभूत तालिममै पर्छ ।

गोताखोरको शरीरमा भने अक्सिजन सिलिन्डरसहित डोरी बाँधिएको हुन्छ । डोरी भने उनीहरूसँगै बोटमा चढेर नदीमा प्रवेश गर्ने उद्धारकहरूले समातेका हुन्छन् । त्यही डोरीमार्फत पानीभित्र रहेका गोताखोर र बाहिरका उद्धारकबीच सम्पर्क हुने गर्छ ।

त्यही डोरीकै इसाराका आधारमा खोजी तथा उद्धार हुने गर्छ । गोताखोरका लागि लाइफलाइन नै त्यही डोरी हो । तर, बिहीबार त्यही लाइफलाइन डोरी चुँडिएर राजवंशी र साउद बेपत्ता भएका थिए । उनीहरूको शरीरमा बाँधिएको डोरी कसरी चुँडियो वा गोताखोरहरूले नै असहज भएपछि फुकाले भन्नेबारे केही खुल्न सकेको छैन ।

सशस्त्र प्रहरीका एक अधिकारी भन्छन्, “गोताखोरले लगाएको डोरी सामान्य अवस्थामा चुँडिने अवस्था हुँदैन । तर, राजवंशी र साउदको शरीरको डोरी भने नदीभित्र पसेको केही समयमै अड्कियो । उनीहरूको सहयोगका लागि बाहिर एकजना सइसहितको टोलीमा थिए । तर, गोताखोरको लाइफलाइनसहित सम्पर्क टुट्यो । एक छिनमा डोरीमात्रै बाहिर आयो ।’’

ती अधिकारीका अनुसार डोरी चुँडिएको केही समयमै अक्सिजनको सिलिन्डरसमेत नदीमाथि तैरियो । गोताखोर राजवंशी र साउद बाहिर आउन सकेनन् ।

सशस्त्र प्रहरीको टोलीले कोसी ब्यारेजको ह्युम पाइपमा राजवंशी र साउद फसेको हुन सक्ने आशंका गरेको छ । मृत भेटिएका राजवंशी सशस्त्रमा निकै कठिन र चुनौतीपूर्ण मानिने तीनवटा तालिम लिएका तालिमप्राप्त सिपाही हुन् । उनले स्पेसल टास्क फोर्स (एसटीएफ), डिजास्टर म्यानेजमेन्ट (डीएम) र गोताखोर गरी तीन तालिम गरेका थिए ।

उनी एसटीएफ तालिमका प्रशिक्षक समेत हुन् । राजवंशीले ०८० भदौमा र साउदले ०८१ जेठमा गोताखोर तालिम सम्पन्न गरेका थिए । त्यसयता उनीहरू विभिन्न खोज तथा उद्धारमा खटिँदै आएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १४:०५
प्रतिक्रिया दिनुहोस्