site stats
बाह्रखरी :: Baahrakhari
देश
डेढ करोडसम्म बुझाएर अमेरिका पुगेकै दिनदेखि थुनामा थिए ‘डिपोर्ट’मा परेका ३५ नेपाली

काठमाडौं । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली आइतबार साँझ काठमाडौं ओर्लिए । उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको विमानबाट नेपाल फर्काएको हो । उनीहरूसँगै अन्य देशका नागरिकसमेत डिपोर्ट भएका थिए ।

यसरी डिपोर्ट भएकामा दुईजनामात्रै वैध भिसामा अमेरिका पुगेको खुलेको छ । अन्य ३५ जना भने अवैध बाटो हुँदै अमेरिका पुगेको खुलेको छ ।  त्यसरी फर्कनु परेकामध्ये एक ३७ वर्षीय पुरुष छन् जो सन् २०१४ मै डीभी परेर अमेरिकाको टेक्सास पुगेका थिए ।

११ वर्षअघि अमेरिका पुगेका अर्का विद्यार्थीसमेत त्यसरी फर्किनेमा परेका छन् ।  उनीहरूलाई प्रहरीको मानव बेचविखन अनुसन्धान कार्यालयको टोलीले सोधपुछका लागि कार्यालय ल्याएको थियो । सामान्य सोधपुछपछि सबैलाई घर पठाएको छ ।

Argakhachi Cement Island Ad

तर, अवैध बाटो हुँदै अमेरिका पठाउनेविरुद्ध कसैले पनि उजुरी नदिएको ब्युरोको एसएसपी कृष्ण पंगेनीले जानकारी दिए ।  उनी भन्छन्, ‘‘उनीहरूमध्ये कसैले पनि एजेन्टबारे उजुरी दिएका छैनन् । तर, हामी उनीहरूसित नियमित सम्पर्कमा छौं । उजुरी आए अनुसन्धान हुन्छ ।’’

प्रहरीका अनुसार, डीभी परेर र विद्यार्थी भिसामा पुगेकाबाहेक अन्य ३५ जनाको अमेरिकी प्रवेशाज्ञा नभएका कारण डिपोर्ट गरेको पाइएको हो ।  ब्युरोको सोधपुछका क्रममा उनीहरू अवैध बाटो हुँदै मेक्सिकोबाट अमेरिका पुगेका थिए । पुग्नासाथै अमेरिका अध्यागमन विभागको नियन्त्रणमा परेका थिए ।

तिनीहरू तीनदेखि १४ महिनासम्म अमेरिकी अध्यागमन उल्लंघनको अभियोगमा थुनामा बसेको खुलेको छ ।  उनीहरूलाई थुनामुक्त गरी अमेरिकाले नेपाल फर्काएको हो । हालसम्म अमेरिकाबाट यसरी फर्किनेको संख्या १७७ पुगेको छ ।

उनीहरू २०८० मा नेपालबाट हिँडेको र २०८१ को अन्तिमतिर अमेरिका पुगेको खुलेको छ ।  फरक–फरक बाटो प्रयोग गरी अमेरिका पुगेको प्रहरीसमक्ष बताएका छन् । यसरी अवैध बाटोबाट जानेमा पाँचजना महिलासमेत छन् ।

फर्किएकाहरूले प्रहरीलाई दिएको जानकारी अनुसार, उनीहरु जापान, स्पेन, कतार, ब्राजिल, बोलिभिया, पेरु, इक्वाइडर, कोलम्बिया, पानामा, कोस्टारिका, होन्डुरस, ग्वाटेमाला, मेक्सिकोबाट पुगेको खुलेको छ । फर्किएका चार महिला यही रुट प्रयोग गरेर अमेरिका पुगेका थिए ।

प्रहरीसँग उनीहरूले ४५ लाख रुपैयाँदेखि एक करोड ४० लाखसम्म एजेन्टलाई बुझाएको बताएका छन् । 

प्रहरीको सोधपुछका क्रममा नेपाल हुँदै भारत, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको खुलेको छ । यो रुट प्रयोग गर्नेहरूबाट एजेन्टहरूले एक करोड ४० लाख रुपैयाँ असुलेको खुलेको छ ।

यसरी नेपाल फर्किएकाहरूमध्ये सबैभन्दा कम ४५ लाख र बढीमा एक करोड ४० लाख रुपैयाँ बुझाएको खुलेको छ ।  प्रहरीका अनुुसार, हरेक व्यक्तिले फरक–फरक एजेन्टमार्फत अमेरिका पुगेको बताएका छन् ।

फर्किएकामध्ये अधिकांश रुकुमका

अमेरिकाबाट आइतबार डिपोर्ट भएकाहरूमध्ये बढी रुकुमका युवाहरू छन् । प्रहरी सोधपुछका क्रममा ३७ जनामध्ये नौ जना पश्चिम रुकुम र पाँचजना पूर्वी रुकुमका छन् । १९ वर्षीय युवादेखि ४३ वर्षसम्मका छन् ।
अमेरिकाले उनीहरूलाई विनाकागजात नेपाल फर्काएको थियो । 

रुकुमपछि दोस्रोमा दाङ तुलसीपुरका छन् । तुलसीपुरका आठजनामध्ये चारजना महिला छन् । यसरी नै चारजना म्याग्दी, दुईजना बागलुङका छन् । त्यसरी नै सल्यान, जाजरकोट, सिन्धुपाल्चोक, काठमाडौं, सिन्धुली, धनकुटा, दोलखाका एक–एक जना छन् । 

उनीहरू फरक–फरक मितिमा अमेरिका पुगेको देखिन्छ । दाङका चारजना महिला २०८० भदौ १९ मा नेपालबाट अमेरिकाका लागि जापान उडेका थिए ।

उनीहरू गत माघ १३ गते अमेरिका पुगेका थिए । त्यसयता उनीहरू चार महिना अमेरिकामै थुनामा परे । यसरी डिपोर्ट भएकाहरू अन्य व्यक्तिसमेत तीन महिनादेखि १८ महिनासम्म अमेरिकाको अध्यागमनकै थुनामा परेका थिए ।

डीभीमा अमेरिका पुगेका युवाको हकमा भने ‘लिभिङ टुगेदर’मा रहेकी प्रेमिकाले उजुरी दिएपछि डिपोर्ट गरिएको हो ।  ती युवाले प्रहरीलाई दिएको जानकारी अनुसार, ४० डलरकोे सामान्य विवाद हुँदा प्रेमिकाले उजुरी दिएपछि नेपाल फर्काइएको हो । 

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि यसअघि अमेरिकाले १४० नेपाली डिपोर्ट गरिसकेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्