
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् । मंगलबार (असार ३) काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो,” उनले भने ।
राज्यको नेतृत्वकर्ता शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उनले आरोप लगाए । नेपाललाई सामरिक क्रीडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै उनले चिन्ता समेत व्यक्त गरे ।
“नेपाललाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर सामरिक दृष्टिकोणले नेपाललाई क्रीडास्थल बनाउन खोजिरहेको छ,” उनले भने, “यो चिन्तन प्रवृत्तिले समस्या पैदा भएको छ । यसको विरुद्धमा नेताहरू लड्न सके कि सकेनन् समीक्षा गर्न जरुरी छ ।”
सत्तामा रहेका दलहरू एकार्कालाई सिध्याउने मानसिकताले अघि बढिरहेका उनले बताए । “सत्ता सञ्चालनका नेताहरू सर्वसत्तावादी एकाधिकारको सोचबाट मुक्त हुन सक्नु भएन,” उनले भने, “त्यसले गर्दाखेरि दलीय स्पर्धाको नाममा एकले अर्कोलाई सिध्याउने र ध्वंश गर्ने दिशातर्फ गइरहेको देख्नुभएकै छ ।” न्युज एजेन्सी नेपाल