site stats
बाह्रखरी :: Baahrakhari
विदेश
संसार नयाँ परमाणु हतियारको दौडमा

काठमाडौं । विश्व अझ अस्थिर हुँदै गइरहेको छ । र, मानवताविरुद्ध एक दिन परमाणु हतियार प्रयोग हुने सम्भावना बढ्दै गएको छ । सोमबार प्रकाशित स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई)को वार्षिक प्रतिवेदनमा यस्तो निष्कर्ष उल्लेख छ ।

प्रतिवेदनमा एसआईपीआरआईले हालैका युद्ध, हतियार आपूर्ति र सैन्य खर्चको अनुसन्धान समेटेको छ । यसमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया, इजरायललगायत नौ परमाणु हतियारसम्पन्न देशबीच नयाँ दौड सुरु भएको विश्लेषण छ ।

अमेरिका र रुसले एक हजार प्रयोग अवधि सकिएका परमाणु हतियार क्रमशः नष्ट गर्दै छन् । अर्कोतर्फ, नयाँ हतियार भण्डारमा थपिरहेका छन् । यसलाई सीमित वा घटाउने कुनै सम्झौता नगरिए यो संख्या अझै बढ्ने एसआईपीआरआई जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हतियारको क्षमता, प्रयोगको विधि र सटीकतामा भइरहेको प्रगतिले नयाँ परमाणु युग ल्याइरहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

एसआईपीआरआईका निर्देशक ड्यान स्मिथले अलजजिरासित भने, “हामी एक महत्त्वपूर्ण परिवर्तनको चरणमा छौँ, जुन महामारीभन्दा अलिकतिअगाडिदेखि सुरु भएको हो ।”

उनी अगाडि भन्छन्, “यो सानातिनो परिवर्तन होइन । सबै आफ्नो हतियार अद्यावधिक गर्ने दिशामा अगाडि बढ्दै छन्, जसमा नयाँ परमाणु हतियार भएको देश उत्तर कोरिया र ९० को दशकमा परमाणु हतियार बनाउने पाकिस्तान र भारत पनि समावेश छन् ।”

परमाणु शक्तिसम्पन्न देशले आफ्नो क्षमता कसरी बढाउँदै छन् ?
चीनले आफ्नो उत्तरी मरुभूमि र पहाडी क्षेत्रमा ३५० नयाँ ‘लन्च सिलो’ निर्माण गरिरहेको छ । यसले गत एक वर्षमा १०० नयाँ परमाणु हतियार थपेर युद्धपोतको संख्या ६०० पुर्‍याएको छ । र, यस्तै गतिमा विस्तार जारी राख्न सक्छ । चीनले पहिला प्रहार नगर्ने नीति अपनाए पनि यो चेतावनी प्रक्षेपण क्षमता (लन्च–अन–वार्निंङ) विकास गरिरहेको हुनसक्छ ।

चीन र भारतले शान्तिकालमा नै मिसाइलमा परमाणु हतियार जोडेर तैनाथ गरिरहेका हुन सक्छन्, जसले गर्दा परमाणु हतियार र मिसाइल अलग राख्ने दीर्घकालीन नीति परिवर्तन भएको देखिन्छ ।

भारतले पाकिस्तानमाथि केन्द्रित आफ्नो परम्परागत ध्यान चीनसम्म विस्तार गर्दै लामो दूरीका मिसाइल विकास गरिरहेको हुनसक्छ ।

उत्तर कोरियाले आफ्नो पहिले नै भएका ५० बाहेक अर्को ४० बम बनाउन पर्याप्त ‘फिसाइल म्याटेरियल’ तयार गरेको अनुमान छ । यसले सामरिक परमाणु हतियार प्रक्षेपण गर्न लागेको घोषणा पनि गरेको छ ।

पाकिस्तानले पनि ‘फिसाइल म्याटेरियल’ जम्मा गरिरहेको छ । एसआईपीआरआईले उल्लेख गरेअनुसार, पाकिस्तानको परमाणु हतियार भण्डार अर्को एक दशकसम्म बढ्दै जाने सम्भावना छ ।

बेलायतले आफ्नो परमाणु हतियार भण्डार २२५ बाट बढाएर २६० पुर्‍याउँदै छ । र, नयाँ ‘ड्रेडनट’ श्रेणीको परमाणुजडित पन्डुब्बी निर्माण गरिरहेको छ । फ्रान्सले पनि तेस्रो पुस्ताको परमाणुजडित पन्डुब्बी बनाइरहेको छ । र, हावाबाट प्रक्षेपण गर्न मिल्ने क्रुज मिसाइलको डिजाइन गरिरहेको छ ।

इजरायलले हालका आफ्ना पनडुब्बीको टर्पिडो ट्युबबाट परमाणु मिसाइल प्रक्षेपण गर्न सक्ने विश्वास गरिन्छ । यसको पछिल्लो ड्राकोन पन्डुब्बीमा ठाडो प्रक्षेपण प्रणाली (भर्टिकल लन्च सिस्टम) पनि हुन सक्ने अनुमान छ । तर, यी सबै देशको परमाणु भण्डार विश्वभरि मात्र १० प्रतिशत हो ।

बाँकी ९० प्रतिशत रुस र अमेरिकाको छ । यी दुई देश प्रत्येकले एक हजार ७०० भन्दा बढी तैनाथ परमाणु हतियार र दुवैको संयुक्त रूपमा चार हजार ५२१ हतियारको भण्डार छ ।

अमेरिकाले परमाणुजडित मिसाइल, पन्डुब्बी र बमवर्षक विमान अद्यावधिक गर्ने प्रक्रियामा रहँदै गर्दा गत वर्ष २०० आधुनिक परमाणु हतियार बनाएको छ । त्यो शीतयुद्धपछिको एक वर्षमा सबैभन्दा धेरै हो ।

रुसले पनि आफ्नो हवाई र समुद्री प्रक्षेपण प्रणाली आधुनिकीकरण गरिरहेको छ । यसले बेलारुसको भूभागमा परमाणु हतियार तैनाथ गरेको हुनसक्छ । गत वर्ष यसले आफ्नो परमाणु नीति विस्तार गरेको थियो ।

पहिले देशको अस्तित्व संकटमा परेमा मात्र परमाणु हतियार प्रयोग गर्न अनुमति थियो । अहिले रुसको सम्प्रभुता वा क्षेत्रीय अखण्डतालाई गम्भीर खतरा भएमा वा राज्यको सीमाभन्दा बाहिरबाट हवाई र अन्तरिक्ष आक्रमणका साधनको ठूलो प्रक्षेपण भएमा पनि यसलाई प्रयोग गर्न अनुमति छ । यी साधनमा मानवरहित विमान (ड्रोन) पनि समावेश छन्, जुन युक्रेनले प्रायः रुसमा एकैपटक दर्जनौँको संख्यामा प्रक्षेपण गर्छ ।

एसआईपीआरआईले उल्लेख गरेअनुसार, नयाँ नीतिले रुसले आफ्ना परमाणु हतियार प्रयोग गर्ने सीमा तल झारेको भन्ने बुझ्नि सकिन्छ । युक्रेनविरुद्धको युद्धमा रुसको परम्परागत हतियारको मिश्रित प्रदर्शनले रुसको राष्ट्रिय सुरक्षा रणनीतिमा परमाणु हतियारमा निर्भरता बढाउन वा यसलाई अझ गहिरो बनाउन सक्छ ।

अस्थिर संसारमा ठूला बमहरू
यी परिवर्तन संसारभर बढ्दो परम्परागत सशस्त्र संघर्षको पृष्ठभूमिमा हुँदै छन् ।

एसआईपीआरआईले इजरायलको गाजाविरुद्धको युद्ध, रुस–युक्रेन संकट, म्यानमार र सुडानको गृहयुद्ध र इथियोपियाको गरी विश्वका पाँच प्रमुख संघर्षमा सन् २०२३ मा एक लाख ८८ हजार र २०२४ मा दुई लाख ३९ हजारजनाको अनुमानित मृत्यु उल्लेख गरेको छ । संसारभरिको सैन्य खर्च विगत दशकमा ३७ र गत वर्ष मात्र ९.४ प्रतिशतले बढेर २.७ ट्रिलियन डलर पुगेको छ ।

युरोपियन पोलिसी एनालिसिस सेन्टर (सीईपीए)का ट्रान्सएट्लान्टिक डिफेन्स र सेक्युरिटी कार्यक्रमका मिन्ना अलान्डरले भनिन्, “परमाणु हतियारको बढ्दो दूरी, शक्ति, सटीकता र टिकाउपन साथै बढ्दो परम्परागत संघर्षले आणविक प्रसारको लाई बढाएको छ ।”

“यसले युरोपको असम्भावित क्षेत्रमा पनि परमाणु बहस सुरु गरेको छ । स्वीडेन र डेनमार्कमा ‘नोर्डिक बम’को विचार रेडियो बहसको विषय बनेको छ र डेनमार्कका पूर्वविदेशमन्त्री जेप कोफोडले हालै नोर्डिक रक्षा संघलाई परमाणु हतियारसहित देशको सपना नभएर रणनीतिक आवश्यकता भनेका छन्,” उनले भनिन्, “डेनमार्क र नर्वेले आफ्नो भूभागमा नेटोको परमाणु उपस्थितिमा समयसीमा राखेका र फिनल्यान्ड र स्वीडेनले आणविक प्रसार विरोध गर्ने गरेको भए पनि यो उल्लेखनीय विकास हो ।”

फिनल्यान्ड र स्वीडेनले अमेरिकासँग द्विपक्षीय सैन्य सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यो गत वर्षदेखि लागु भएको छ । र, यसले अमेरिकालाई आफ्नो भूभागमा सैनिक र हतियार (परमाणु हतियारसहित) तैनाथ गर्न अनुमति दिन्छ । पोल्यान्डले पनि अमेरिकी परमाणु हतियार साझेदारीका निम्ति खुला रहेको संकेत दिएको छ ।

हाल अमेरिकी सुरक्षा प्रतिबद्धता कमजोर भएको एसआईपीआरआईका ड्यान स्मिथ बताउँछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोको सामूहिक सुरक्षा प्रावधानलाई रक्षा खर्चको अनियन्त्रित सर्तअन्तर्गत राखेका छन् ।

“यसले प्रतिकार्य समस्याग्रस्त भएको छ, किनभने एकतर्फ अमेरिका अब विश्वसनीय सहयोगी रहेन भन्ने स्पष्ट भइसकेको छ,” उनले भने, “सुरक्षा योजनाकार र रणनीतिकारका निम्ति यो नयाँ परिवर्तित अवस्था हो ।”

संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये १७८ देशले व्यापक परमाणु परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी)मा हस्ताक्षर गरिसकेका छन् । गत वर्ष चार देशले परमाणु हतियार निषेध सन्धि (टीपीएनडब्ल्यू)मा हस्ताक्षर गरेर यसको कुल संख्या ७३ पुगेको छ । अर्को २५ देशले हस्ताक्षर गरे तापनि पुष्टि गरेका छैनन् ।

एसआईपीआरआईका स्मिथले भने, “परमाणु युद्धमा कसैले पनि जित्दैन भन्ने तर्कका आधारबाट यी नियन्त्रण र उन्मूलनका प्रयास आएका हुन् ।”

“परमाणु युगको ८० वर्षपछि पनि, कुनै पनि परिस्थितिमा परमाणु युद्ध सुरु गर्नुले कुनै अर्थ राख्दैन,” स्मिथले भने, “गम्भीर अस्तित्वगत खतरा आएमा इजरायलले परमाणु हतियार प्रयोग गर्ला भन्ने म पक्का छु । तर, यसले केही हासिल गर्दैन । यसले इजरायललाई बचाउँदैन । यो प्रतिशोध मात्र हुनेछ ।”

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्