site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले भिजिट भिसा र मानव बेचबिखनको संगठित अपराधमा संलग्नहरूको छानबिनको लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मागबाट पछि नहट्ने उल्लेख गरे ।

उनले सरकारले ल्याउन लागेका विधेयकहरूको महत्त्व आफूहरूले बुझ्ने बताए । विधेयकहरूमा राजनीतिक समर्थन गर्न तयार रहेको बताउँदै सरकारले पनि आफूहरूका मागलाई सुन्नुपर्ने धारणा राखे । 

भिजिट भिसा लगायतका प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान जारी रहेको जिकिर गरे । यो आफूहरूको मात्रै नभएर १८ वर्षदेखि ठगिँदै आएका र अब ठगिनु नपरोस् भन्ने जनताको माग रहेको समेत बताए ।

“विधेयकहरूको महत्त्व हामी बुझ्छौँ । त्यसमा राजनीतिक महत्त्व छ तर अहिले हामी जसरी उहाँहरूले ल्याउँदै गरेको विधेयकमा राजनीतिक समर्थन गर्न तत्पर छौँ, त्यसरी नै उहाँहरूले हामीहरूले प्रस्तुत गरेको भिजिट भिसा र मानव बेचबिखनको संगठित अपराध र सबै संलग्नताहरूको बारेमा आवश्यक छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति हामीले भनेका छौँ, त्यसको मागलाई सुनिदिनुपर्‍यो," उनले भने । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम समेत जोडिएपछि रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै लगातार संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्