site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भूमध्यसागरमा डुंगा दुर्घटना : ६ जनाको मृत्यु, ४० बेपत्ता 
तस्बिर : अलअरेबिया न्युज

रोम । भूमध्यसागरमा एक आप्रवासी डुंगा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघले बुधबार जनाएको छ । लामपेडुसा टापुनजिकै डुंगा डुबेको हो । 

“भूमध्यसागरमा नयाँ डुंगा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ,” ट्युनिसियाबाट सोमबार ५६ जना बोकेर निस्केको डुंगा डुबेको उल्लेख गर्दै यूएनएचसीआरका इटालीका प्रतिनिधि चियारा कार्डोलेट्टीले एक्समा भने, “केही घण्टाको यात्रापछि डुंगा बिग्रिन र पानी छिर्न थाल्यो । ६ वटा शव निकालिएको छ, ४० जना हराइरहेका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इटालीका मिडिया रिपोर्टअनुसार इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट ६ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए ।

उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको, तर क्षेत्रबाट केवल ६ वटा शव (सबै पुरुषमात्र) भेटिएको बताएका छन् ।

एजीआई समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएकामध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका थिए ।

आप्रवासीहरूलाई उद्धार गरेपछि ट्युनिसियाको स्फ्याक्सबाट धातुको डुंगामा यात्रा गरेपछि ४० जना आप्रवासीको छुट्टै समूह लम्पेडुसामा अवतरण गरेको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।

मंगलबार लामपेडुसामा कुल दुई सय १३ आप्रवासीसहित पाँचवटा अवतरण भएका थिए । यसले टापुको स्वागत केन्द्रमा रहेका मानिसहरूको कुल संख्या दुई सय ३० पुगेको छ ।

इटालीको गृह मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म आठ हजार सात सय ४३ आप्रवासी इटाली आइपुगेका छन् । यो गत वर्षको यही अवधिमा आइपुगेका संख्याभन्दा केही बढी हो ।रासस/एएफपी

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्