
काठमाडौं । पाको नेपाल क्योकुसिन कराँते डो–संघको आयोजनामा दोस्रो राष्ट्रिय जुनियर फुल–कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ ।
काठमाडौंको तिनकुनेस्थित गैरीगाँउको अन्नपूर्ण विनायक स्कुलको प्रांगणमा आयोजित प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।
फागुन २४ गतेसम्म सञ्चालन हुने कराँते प्रतियोगितामा पुरुष र महिला खेलाडीहरूले विभिन्न १४ तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।
विजयी खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, टिम च्याम्पियनलाई नगद २५ हजार, दोस्रो स्थानलाई १५ हजार, तेस्रो स्थानलाई १० हजार र चौथो स्थानलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
दुईदिने प्रतियोगितामा काठमाडौंसहित वाग्मती, कोसी, मधेस र कर्णाली प्रदेशका महिला र पुरुष गरेर २६० खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिताको पहिलो दिन केही तौल समूहका प्रारम्भिक तथा क्वाटरफाइनल खेलहरू सम्पन्न भएका छन् भने बाँकी खेलहरू शनिबार दोस्रो दिन समापन गरिने प्रतियोगिताकी प्रमुख एवं पाको नेपाल क्योकुसिन कराते डो–संघकी ब्रान्च चिफ सन्जु महर्जनले जानकारी दिइन् ।
प्रतियोगितामा हालै राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी बोर्ड सदस्यमा नियुक्त सुवर्ण श्रेष्ठलाई सम्मानित समेत गरिएको थियोे । प्रतियोगिताको उद्घाटन सत्रमा सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।