site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले र रास्वपाबीच संसदीय समितिमा देखिएको ‘द्वन्द्व’, एमालेका कोही पनि उपसमितिको संयोजक बस्नै नहुने !

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित उपसमितिको संयोजकको विषय थप पेचिलो बनेको छ । नेकपा (एमाले)का सचिव समेत रहेका पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले आफू संयोजक नबस्ने भनेपछि अर्को संयोजक तोक्नेबारे समिति कुनै निचोडमा पुग्न सकेन । आइतबारको सार्वजनिक लेखा समिति बैठकमा सभापति ऋषिकेश पोखरेलले भट्टराईलाई आफूले कर गर्न नसकेको भन्दै एमालेका सांसद अच्युतप्रसाद मैनालीलाई संयोजक तोक्ने प्रस्ताव राखे ।

“प्रश्न उठेपछि उहाँ (योगेश भट्टराई)ले म बस्दिनँ भन्नुभयो । मैले पनि कर गर्न सकिनँ । त्यसको उपसमितिमा रहनुभएको अच्युत मैनालीलाई संयोजक तोकौँ,” पोखरेलले प्रस्ताव गरे, “एकसातामा प्रतिवेदन पेस गर्ने गरी एउटा आधार तयार गरौँ ।” त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले डाटा हेर्नुपर्ने बताए । सभापति पोखरेलले हेर्नुपर्ने विषय हेर्न आग्रह गरे ।

अनि यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले शंकाको घेरामा रहेका व्यक्ति मात्रै नभएर पार्टीबाटै संयोजक तोक्न नहुने प्रस्ताव गरे । “एउटा विमति छ मेरो । अलिक क्रुर सुनियो भने सुनियोस् । यहाँ शंकाको घेरामा रहेको जो–जो हुनुहुन्छ । सम्बन्धित दलको व्यक्तिलाई नराखौँ । ”

झाले आफूले जिम्मेवारी नखोजेको समेत प्रष्टाए । “म हुँदिन । म हुन पाउँदिन । उहाँको उपस्थितिमा प्रश्न उठाएर आफैँ बस्न मिल्दैन । यो नराम्रो सुनिन्छ । उहाँलाई असहज परिस्थिति सिर्जना गरेर आफू बन्न खोजेको नहोस्,” झाले भने, “त्यसैले आफ्नो नाम पनि राख्न चाहन्नँ । जिम्मेवारी दिनुभयो भने पनि म लिदिनँ । जुन पार्टीको संलग्न नेताहरूसँग प्रश्न उठिराखेको छ । त्यही पार्टीको नराखिदिनुस् न भन्ने अनुरोध हो मेरो ।”

झाले विमति राखेपछि संयोजक राख्ने प्रस्ताव गिजोलियो । भट्टराईले आफू पूर्वमन्त्री भएकाले स्वार्थको द्वन्द्व भनेपछि आफू संयोजक नबस्ने भनेको बताए । तर, उनले पूूर्ववमन्त्री प्रेम आले पनि पोखरा विमानस्थलको उपसमिति सदस्य रहँदा स्वार्थको द्वन्द्व रहँदैन भनि प्रश्न गरे । “यदि भैरहवामा तपाईंले मलाई एसेप्ट गर्नुहुन्न भने पोखरामा त्यही प्रकृतिको सदस्यलाई एसेप्ट गर्ने । कसका निम्ति लागु हुन्छ ? अनुहार हेरेर लागु हुन्छ ?   स्वार्थको द्वन्द्वको रिपोर्ट समितिमा प्रस्तुत भइरहेको छ,” भट्टराईले भने ।

लेखा समितिको अघिल्लो बैठकमा भट्टराई भैरहवाको संयोजक नरहने र आले पोखराको सदस्य नरहने दुवै नेताले बताएका थिए । तर, आलेले पोखरा उपसमितिको सदस्यको रूपमा प्रतिवेदनमा हस्ताक्षर गरिसकेका छन् । भट्टराईले सरकारमा एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी पनि रहेकाले स्वतन्त्रबाहेकका सांसद बस्न नमिल्ने जवाफ दिए ।

“कसैका निम्ति लागु हुन्छ, कसैमा हुँदैन ? लेखा समितिमा सामान्यतयाः सरकारमा बसेको पार्टी छौँ । त्यो पार्टीको माननीयमध्ये अमरेशजी बाहेक कोही पनि समितिमा बस्न मिल्दैन । रास्वपा पनि विगतमा सरकारमा थियो,” उनले भने ।

भट्टराईले अब बन्ने उपसमितिको संयोजकले अर्को मोडलबाट छलफल गरे पनि आफूलाई आपत्ति नहुने बताए । “हामीलाई जे टीओआर दिइएको थियो त्यसको आधारमा एउटा रिपोर्ट बनाएर लगभग फाइनल पनि गरेको हो । त्यसमा समितिको संयोजक अर्को भएपछि त्यसमा अर्को मोडलबाट छलफल गर्नुहोला त्यसमा मेरो आपत्ति छैन,” भट्टराई भन्छन् ।

पोखराको उपसमितिमा आलेमाथि भट्टराईले प्रश्न उठाएपछि झाले उनलाई समिति सदस्यबाट हट्न आग्रह गरे ।

आलेले आफूले छाड्न तयार रहेको बताए । “छोड्ने भए छाड्दिन्छु नि के छ र ? प्रतिवेदन आइहाल्यो,” आलेले त्यसोभन्दा हलमा हासो गुञ्जिएको थियो ।

झाले नै प्रश्न उठाएपछि योगेशले भनेका थिए– संयोजक बस्दिनँ
०८१ को असारमा विमानस्थलको निर्माणबारे अध्ययन गर्न भट्टराईको नेतृत्वमा आठ सदस्यीय उपसमिति गठन गरिएको थियो । जसमा अमरेशकुमार सिंह, मनीष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी रहेका छन् । रास्वापाका सांसद झाले अघिल्ला दुई बैठकमा मात्रै पूर्वमन्त्री नै संयोजक रहँदा स्वार्थको द्वन्द्न्व देखिने भन्नै प्रश्न उठाएका थिए । त्यसपछि भट्राईले आफू संयोजक नरहने बताएका थिए ।

एमाले सांसदको प्रश्न : पार्टीमाथि नै आक्रमण गर्ने ?
समिथि सभापति पोखरेलले एमाले सांसदलाई संयोजक प्रस्ताव गर्दा अस्वीकार गरिएपछि आपत्ति जनाएको छ । एमालेका सांसद गोकुल बास्कोटाले कुनै अभियोग नलागेका भट्टराईमाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाए । उनले सबै पार्टी सरकारमा रहेकाले कुनै पनि पार्टीका सांसद समितिमा बस्न नमिल्ने दोहोर्‍याए । “धराप थापेको छ । ठूलो कुरा गरेको छ । किन गर्नुपर्‍यो, मन्त्री भएको कति सालमा ? त्यसै विषयमा अभियोग लागेको छ भने बेग्लै कुरा हो,” बास्कोटाले भने, “कानुनले केही कुरा गरेको छैन । कानुनले माननीय योगेश भट्टराईलाई अयोग्य भनेको छ ? कुनै अदालतको फैसलाले डामेको छ ?”

एमाले सांसद ज्वालाकुमारी साहले पार्टीमाथि नै आक्रमण गरेको भन्दै आपत्ति जनाइन् । “पार्टीतिर हेरियो । पार्टीमाथि नै आक्रमण गर्ने गरी एमाले पार्टी होस् या अरु पार्टी होस् । पार्टी हेरेर काम गरेका छौँ कि माथि उठेर काम गरेका छौँ ?,” उनले सोधिन् ।

साहले सांसद भएर प्रमाणबिना नबोल्न सुझाइन् । “योगेश माननीयजीलाई भ्रष्टाचारको केही प्रमाण छ ? जे मन लाग्यो त्यही भन्न पाइन्छ । सांसदहरूले हावाको तालमा काम गर्ने ?,” उनको प्रश्न छ ।

समिति सभापति पोखरेलले आफूले प्रस्ताव गरेको व्यक्ति कुन स्वार्थको द्वन्द्मा देखिन्छ भन्दै प्रश्न गरेका थिए । “सभापतिले भनेको मान्छे के द्वन्द्वमा फसेको छ र विकल्पमा नाम दिएको ?,” पोखरेलले प्रश्न गरे ।

कांग्रेस सांसद रामकृष्ण यादवले मैनालीलाई नै संयोजक तोक्न आग्रह गरे । तर, कुनै निर्णय भएन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro