site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

जताततै निराशाको समाचार आइरहेकै बेला पर्यटन क्षेत्रबाट भने खुसीको खबर आएको छ ।  सन् २०२५ को अप्रिल महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या १ लाख १६ हजार ४९० छ ।

नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा स्वाभाविकरूपमा भारतीयहरूको सङ्ख्या सबैभन्दा धेरै २५ हजार ९३३ थियो । यसैगरी अमेरिका, चीन र बेलायती पर्यटकको सङ्ख्या क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा थियो । सन् २०२५ का चार महिनामा मात्रै ४ लाख १५ हजार ४८ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । 

पक्कै पनि कोभिडपूर्वको भन्दा बढी सङ्ख्यामा पर्यटक नेपाल आउनु खुसीको समाचार हो । यद्यपि, यसबीच पर्यटकलाई लक्षित गरी निजीस्तरबाट बनाइएका होटेलबाहेक सम्भवतः अरू कुनै पनि क्षेत्रको विकास हुनसकेको छैन । यसैले पर्यटकहरूको आगमनको जस नेपालको प्रकृति र नेपालीप्रतिको स्नेहबाहेक अरूले पाउने देखिँदैन । 

काठमाडौं उपत्यका, पोखरा, लुम्बिनी, चितवनजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूको वायु प्रदूषण विश्वमै खराबस्तरमा पुगेको हुन्छ । ती प्रमुख गन्तव्य जाने मुख्य सडकहरू भत्काएको वर्षौं भइसकेको छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि खासै अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन ।

तैपनि पर्यटकहरू नेपाल आएका छन् । नेपालको अर्थतन्त्रको एउटा स्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रलाई उचित ध्यान दिन सकेको भए विकासका अपार सम्भावना रहेको यसले देखाएको छ । स्पष्ट छ, सरकारका सम्बन्धित निकायहरू साँच्चै नै गम्भीर हुने हो भने पर्यटन उद्यमबाट नेपालले ठूलो लाभ लिन सक्थ्यो ।

संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएका भारत र चीनसँग सीमा जोडिएको नेपालको पर्यटकीय सम्भावना यसै बलियो छ । त्यसमाथि नेपालसँग भारत र चीनको धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि छ । दुर्भाग्य, सडकको दुरवस्थाका कारण दुवै मुलुकमा यात्रुहरू स्थल मार्गबाट भने सहजतापूर्वक आउन सक्तैनन् ।

दुर्भाग्य, काठमाडौं-पोखरा, नारायणगढ-बुटवल सडक सुधार कहिलेसम्म भइसक्छ कसैले भन्न सक्ने अवस्था छैन । काठमाडौं, भैरहवा र पोखरा विमानस्थलमा ठूला जहाज चलाउन मिल्छ तर राष्ट्रिय ध्वजा वाहकसँग आन्तरिक सेवाका लागि जहाज ठूला जहाज छैन । निजी वायुसेवाहरूले बढी नाफा हुने क्षेत्र हेर्ने नै भए ।  

यसैले सरकारले पर्यटन विकासलाई यथार्थमै प्राथमिकता दिन सडक तथा हवाई सुविधा बढाउन उचित र आवश्यक देखिन्छ । यसैगरी निजी क्षेत्रका पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधान गर्न पनि सरकारले उत्तिकै ध्यान दिनुपर्छ । प्रमुख सहरहरूको वायु प्रदूषण रोक्न पनि युद्धस्तरमै काम गर्नु आवश्यक छ । 

सडक मार्गको विकल्प हुन नसके पनि काठमाडौं, पोखरा र लुम्बिनीसम्म जानेआउने हवाई यात्राको शुल्क सस्तो बनाएर भारतीय र चिनियाँ नागरिकलाई आकर्षण गर्न सकिन्थ्यो । पर्यटन प्रवर्धनकै उद्देश्य राखेर होटेल, वायुसेवाबीच सहकार्य गर्न सके त झन् सुनमा सुगन्ध हुनेथियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro