
विराटनगर । नेपाली कांग्रेस मोरङले नेपाल विद्यार्थी संघ (नेविसंघ)को आधिकारिक जिल्ला सभापति सरोज पोखरेल भएको जनाएको छ । कांग्रेसले संस्थापन पक्षका नेविसंघका केन्द्रीय सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा जिल्ला सभापति घोषणा गरेको विषय आधिकारिक नभएको प्रस्ट पारेको हो ।
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका शेखर कोइराला पक्षधर र संस्थापनका विधार्थीबीच कुटाकुट भएपछि विवाद चुलिएको हो ।
कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले आज विज्ञप्तिमार्फत मोरङमा नेविसंघको अधिकारिक जिल्ला समिति रहेको अवस्थामा अवैधानिक तवरले समानान्तर समिति बनाउने 'दुस्प्रयासले संघको ऐतिहासिक छविलाई धुमिल पारेको' बताएका छन् ।
फागुन १६ गते नेविसंघका केही संस्थापन केन्द्रीय सदस्यले समानान्तर जिल्ला कार्यसमिति बनाएको सूचना निकालेका थिए । सभापति शेरबहादुर देउवा पक्षका १२ जना केन्द्रीय सदस्यहरूले संयुक्तरूपमा नेविसंघ मोरङको अध्यक्षमा मोहमद तनवीरलाई चयन गरेको चिठी केन्द्रलाई पठाएका थिए ।