site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा कांग्रेसी नेतृत्वमा महामन्त्री पदको लालच

काठमाडौं । लोकतान्त्रिक कित्ताको प्रतिनिधित्व गर्ने सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने वा नहुने भन्ने विषयमा खिचातानी हुँदैगर्दा यस दलका दोस्रो र तेस्रो पिंढीका र युवा भनिएका नेताहरू आउँदो निर्वाचनमा आफूलाई महामन्त्रीको उमेदवारको रुपमा अघि सार्न ठेलमठेल गर्दैछन् ।

विगतमा महामन्त्री पदमा पाका नेताहरू नै अघि बढ्छन् भन्ने सोच थियो भने गगन थापा र विश्वप्रकाश शर्मा गएको महाधिवेशनमा महामन्त्री भए पश्चात भने धेरै युवा नेता आउँदो महाधिवेशनबाट ती दुई नेताको जिम्मेवारी खोस्ने दाउमा छन् । 

नेपाली कांग्रेसको प्रतिपक्षी समूहका नेता भनेर चिनिने डा. शेखर कोइराला पक्षमा लागेका तीनजना नेताहरू महामन्त्रीको लक्ष्य लिएर देश दौडाहामा लागेका छन् । यी नेता हुन् नेविसंघका पूर्वअध्यक्षहरू  गुरुराज घिमिरे तथा रञ्जित कर्ण र नेविसंघका पूर्वउपाध्यक्ष तथा तरुण दलका पूर्वमहासचिव भुपेन्द्रजंग शाही ।

त्यस्तै संस्थापन समूहमा देउवा निकट मानिने नेविसंघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य नैनसिंह महर र संस्थापनमै सिटौला समूह निकटका कुन्दनराज काफ्लेले आफूलाई आगामी महाधिवेशनमा महामन्त्री पदका उमेदवार घोषणा गरेरै अघि बढेका छन् । 

उल्लेखित पाँच महामन्त्री पदका आकांक्षीबाहेक अहिलेसम्म घोषणा नगरे पनि आन्तरिक रुपमा महामन्त्रीका लागि तयारी गरेका नेतामा वर्तमान स्वास्थ्य मन्त्री तथा केन्द्रीय सदस्य प्रदीप पौडेल पनि छन् । 

त्यस्तै देउवा समूहका अर्का नेता तथा वर्तमान गृहमन्त्री रमेश लेखक पनि महामन्त्रीकै तयारीमा रहेको उनका निकटवर्तीहरूले बताएका छन् । पौडेल अघिल्लो महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।

डा. शेखर समूहका अर्का नेता तथा वर्तमान पर्यटन मन्त्री बद्री पाण्डे पनि खुलारुपमा अघि नसरी महामन्त्री पदका लागि अघि बढेका छन् । 

आफूलाई प्रत्यक्ष उमेदवार नबताउने वर्तमान मन्त्रीहरू तल्लो तहको अधिवेशन सुरु गर्ने विषयमा छलफलसमेत नभएकाले अहिल्यै आफूहरू नखुल्ने बताउँदै छन् भने खुलारुपमा उमेदवार हुन्छु भन्नेहरू देश दौडाहामा निस्केका छन् ।

गुरुराज घिमिरे आफूले प्रत्यक्ष यही पदमा उमेदवारी दिन्छु भनेर घोषणा नगरेता पनि आफ्नो उमेदवारी भएको खण्डमा महामन्त्री नै हुने अन्यथा अरु पदमा उमेदवारी नदिने बताउँछन् । 

“मैले आफूलाई कुनै पदको आकांक्षीका रुपमा प्रस्तुत गरेको छैन । तर, मलाई हितचिन्तक साथिहरुले सोधिरहनुभएको छ । मैले मेरो उमेदवारी हुँदा महामन्त्रीमा नहुँदा कुनै पनि पदमा हुँदैन भन्दै आएको छु,” उनले बाह्रखरीलाई बताए । 

आफू नेपाली कांग्रेसको हितमा डटेर लड्ने र पदलाई ठूला महत्व नदिने बताउने घिमिरे भन्छन्, “२०४८ सालमा कांग्रेससँग अहिलेको जस्तो ठूलो संगठन थिएन । भ्रातृ संस्थाको संख्या पनि अहिलेजति थिएन । तर, एकल बहुमत सिटसहित ३७ प्रतिशत जनमत प्राप्त भएको थियो, अहिले हामीसँग भ्रातृ र शुभेच्छुक गरी ४५ संस्था छन् । करिब ९ लाख क्रियाशील सदस्य छन् । तर, भोट घटेर २६ लाखमा आएको छ ।” कांग्रेसको चरित्रमा क्षयीकरण भएको हुनाले यस्तो अवस्था आएको घिमिरेको बुझाइ छ ।

अर्का पूर्वअध्यक्ष रंजीत कर्ण पनि परिवर्तनको पक्षमा छन् । उनी अहिले रुपान्तरण अभियानसहित देश दौडाहामा लागेका छन् । 

कांग्रेसलाई नयाँ पुस्तासँग जोड्नुपर्ने, कांग्रेस छोडेर बनेका पार्टीहरुसँग गठबन्धन गर्ने र कांग्रेसलाई उठ्न नदिएर अरुलाई जिताउने मधेसको वाध्यता तोड्नुपर्ने, कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न युवाको प्रतिनिधित्व गर्नुपर्ने, पार्टीले चुनावमा र नेताले महाधिवेशनमा सार्वजनिक गरेका घोषणपत्रको सार्वजनिक अडिट हुनुपर्ने, पार्टीमा अवसरको वितरण र मूल्यांकन प्रणालीको विकास हुनुपर्ने भन्दै आएका उनी देशभरबाट आउने सुझावका आधारमा उमेदवारी घोषणा गर्ने मुडमा छन् ।

महामन्त्रीका अर्का आकांक्षी भुपेन्द्रजंग शाही भन्छन्,“कांग्रेसमा अघिल्लो महाधिवेशन देखि सभापतिमा परिपक्व र महामन्त्रीमा युवा चुन्ने अभ्यास सुरु भएको हुनाले अब पनि युवालेनै महामन्त्री पदमा विजय प्राप्त गर्ने सम्भावना छ ।”

उनी आफू प्रदेश सभापतिको प्रतिस्पर्धामा होमिइसकेको कारणले महामन्त्रीमा उठ्न योग्यताको प्रश्न नउठ्ने बताउँछन् । महामन्त्री पदका आकांक्षीमध्ये सबैभन्दा बढी दौडाहामा लागेका नेता नैनसिंह महर हुन् । 

उनका अनुसार यदि शेरबहादुर देउवाले नै फेरि अध्यक्षमा उमेदवारी दिएको खण्डमा पनि आफू महामन्त्रीको दाबीबाट पछि नहट्ने बताउँछन् । नेविसंघको महामन्त्री हुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य बनेका कुन्दनराज काफ्ले वाग्मती प्रदेश सभा सदस्य र प्रदेशको आर्थिक योजना मन्त्री छन् । 

स्रोत र साधनले सम्पन्न भएको कारणले पनि उनी देश दौडाहामा जुटेका छन् र महामन्त्री पदको आकांक्षी भएको ब्यानरनै बनाएर प्रचार गरेका छन् । डा. शेखर कोइराला समूहबाट देश दौडाहामा होमिएका केन्द्रीय सदस्य मधु आचार्य अहिले गगन थापा समूहमा समर्पित छन् । 

नेपाली कांग्रेस काभ्रेको पूर्व सभापतिसमेत रहेका आचार्य कांग्रेसको नीति अध्ययन प्रतिष्ठानको निर्देशक पनि थिए । उनले पनि आफू केन्द्रीय सदस्यबाट अब पदाधिकारी आकांक्षी भएको हुनाले महामन्त्रीमै उमेदवारी दिने बताएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro