
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले पालिकासँग इन्धनबापत खर्च गर्नुपर्ने रकम अभावका कारण जनप्रतिनिधिका सवारीसाधन र मोटरसाइकल तानिएको प्रस्टीकरण दिएका छन् ।
उपाध्यक्ष चढ्ने गाडी र वडाध्यक्षलाई पालिकाले उपलब्ध गराएको मोटरसाइकल मंगलबार तानिएको विषयमा उनले इन्धनमा खर्च गर्ने रकम नभएपछि समस्या भएको बताएका छन् । अध्यक्ष माझीका माओवादी कार्यकर्ताले गाडीको चाबी खोसेर लगेको भन्दै उपाध्यक्ष गुणावतीदेवी चौधरीले प्रतिरोध गरेकी थिइन् । पहिले चौधरीले चढ्ने गाडी लगेका थिए । त्यसपछि सातै वडाका अध्यक्षका मोटरसाइकल र चाबी लगिएको हो ।
अध्यक्ष माझीले प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिका नाममा पत्र लेखी भनेका छन्, "उपरोक्त आ.ब. २०८१/०८२ को लागि अनुमान गरेको आन्तरिक स्रोत लक्ष्यअनुसार नउठेको, खोला ठेक्का हालसम्म नलागेको संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटलगायत प्राप्त हुने रकम समेत लक्ष्य अनुरुप प्राप्त नभएकाले गाउँसभाबाट विनियोजित इन्धन शीर्षकमा बजेट समेत सकिएकाले अर्को व्यवस्था नहुँदासम्मको लागि गाउँपालिकाबाट जनप्रतिनिधिहरूलाई उपलब्ध गराई आएको सवारी सुविधा हाललाई बन्द गरिएको छ ।"
मंगलबार कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएको कारण सवारी र चाबी खोसेको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताएकी छन् । "आज कार्यपालिका बैठक थियो, हामीले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति गरेका थियौँ, यही रिसमा मेरो गाडीको चाबी खोसिएको हो," चौधरीले भनिन् । अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोस्न लागाएको बताइन् ।
माओवादी केन्द्रबाट उमेदवार बनी माझी गत उपनिर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी निर्वाचित भएर आएसँगै कांग्रेस–एमालेबाट निर्वाचित कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् । यसअघिको कार्यपालिका बैठकका निर्णयहरू पनि कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले रिटमाथि सुनुवाइ गरी रोक लगाइदिएको थियो । कार्यपालिका सदस्यलाई तीन दिन अगाडि नै बैठकको सूचना नगरी अल्पमतको आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट हालेकी थिइन् ।
ग्रामथानका सातवटै वडाका वडाध्यक्ष चढ्ने सरकारी मोटरसाइकल पनि खोसेर पालिका कार्यालय तेतरिया पुर्याइएको छ । अध्यक्ष माझीले आफू पनि सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् ।
ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेको बहुमत छ । उनीहरूले बक्राहासहितका खोलाबाट अवैध उत्खनन् गराइएको र त्यसमा अध्यक्षको मिलेमतो रहेको भन्दै विरोध गर्दै आएका छन् ।