site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गाउँपालिकाका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी
कार्यपालिका बैठकको दृश्य ।

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसेका छन् ।

कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । “आज (फागुन २०) कार्यपालिका बैठक थियो, हामीले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति गरेका थियौँ । यही रिसमा मेरो गाडीको चाबी खोसिएको हो,” उनले भनिन्, “अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोस्न लगाउनुभयो ।”

Argakhachi Cement Island Ad

गएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी आएसँगै नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् ।

माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ । कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन् ।

उनले भनिन्, “मेरो गाडीको चाबी खोसेर निर्वाचित जनप्रतिनिधिको मानमर्दन गर्ने काम भएको छ ।”

ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाको मोटरसाइकलको चाबी समेत खोसिएको छ  । उनले भने, “झोराहाटको स्कुलचोकनजिकैबाट मेरो बाइकको चाबी खोसेर लगे ।”

ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचत जनप्रतिनिधिको बहुमत छ । उनीहरूले बक्राहासहितका खोलाबाट अवैध उत्खनन गराइएको र त्यसमा अध्यक्षको मिलेमतो रहेको भन्दै विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्