पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले निलम्बन गरेको छ ।
गत माघ २० गते थापा पक्राउ परेका थिए । उनीमाथि बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना संलग्न रहेको आरोप छ ।
उनै थापालाई मंगलबार बसेको एमालेको चौथो सचिवालय बैठकले निलम्बनको निर्णय गरेको हो । बैठकले सहकारीको आर्थिक हिनामिनाको आरोप लागेका पार्टीका विभिन्न पदमा कार्यरत नेता–कार्यकर्तालाई निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटीका उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।
थापा म्याग्दी जिल्ला कमिटीका पूर्वउपसचिव समेत हुन् । उनी हाल प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य समेत थिए । उनलाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय एमालेले गरेको हो ।
थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको सहकारीको छानविन प्रतिवेदनमा उल्लेख छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानबिन गर्न अख्तियारी दिएको थियो । गौतमको छानबिन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको एक अर्ब ४९ करोड रकम हिनामिना भएको प्रतिवेदनले औंल्याएको थियो ।
प्रतिवेदनको आधारमा थापालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न पर्नेमा सहकारी रजिष्ट्रारको कार्यालयले नै थापाविरुद्ध प्रहरीमा उजुरी गर्न डराएको भन्दै सर्वसाधारणले रजिष्ट्रारको कार्यालयको वरोध गर्दै आएका थिए ।