काठमाडौं । मंगलबार झिसमिसेमै थापाथली चोकबाट नर्भिक अस्पताल जाने सहायक सडकमा मेलम्ची खानेपानीको पाइप एक्कासी फुट्यो । केहीबेरमै पूरै सडक र वरपरका निजी आवास तथा सटर जलमग्न भए ।
स्थानीयले आफ्ना प्रतिनिधि गुहारे, प्रहरी तथा काठमाडौं महानगरपालिका गुहारे । वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार पनि सबेरै पाइप फुटेको स्थानमा पुगे । उनले उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) त्रिपुरेश्वर शाखामा फोन गरे । केयूकेएलको टोली थापाथली पुग्दा पुरै सडक जलमग्न भइसकेको थियो ।
मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट वितरण शाखाको ट्यांकीमा आपूर्ति हुँदै आएको ५०० एमएमको पाइप फुट्दा करिब चार लाख लिटर पानी खेर गयो । करिब ४० मिनेटपछि मात्रै केयूकेएलको टोलीले पानी बन्द गर्यो ।
तण्डुकारका अनुसार करिब १५ मिटर क्षेत्रको सडक कालोपत्रे उप्किएको छ । पानी बन्द गरेपछि महानगरको टोलीले सडक सरसफाइ गरेको तण्डुकारले बताए । पानीका कारण सडक भ्वाङ पर्दा नर्भिक र प्रसूतिगृह बीचको सहायक सडक अहिले ठप्प छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली सवारी आवागमन पूर्ण रुपमा बन्द गराएको छ । प्रसुतिगृहमा उपचार गर्न आएका सुत्केरी, गर्भवती महिला बिरामीहरु चोकबाटै हिँडेर अस्पतालसम्म पुग्नुपरेको वडाध्यक्ष तण्डुकारले बताए ।
“सुत्केरी तथा बिरामीहरु हिँडेरै अस्पताल पुग्नु परिरहेको छ । सडक विभाग, केयूकेएल, विद्युत् प्राधिकरणले आफ्नो कार्यक्षेत्र होइन भन्दै पन्छिने गरेका छन् । सबै निकायलाई बोलाएर सल्लाह गर्छु,” उनले भने ।
नियमनकारी निकायले गम्भीर लापरबाही गरेको वडाध्यक्ष तण्डुकारको भनाइ छ ।
उनले मन्त्रालयस्तरबाट पनि अनुगमन नहुने र कमसल सामग्रीको प्रयोग गर्दा यस्तो परिणाम आइरहेको बताए । ठेकेदार कम्पनीमार्फत् काम गर्दा एकदमै कमसल सामानहरु प्रयोग गरेपछि बेला–बेला यसरी पाइप फुटेको तण्डुकारको आरोप छ ।
अहिलेसम्म थापाथली क्षेत्रको सडकमा कैयौँपटक पानी फुट्ने समस्या दोहोरिइरहेको पनि बताए । उपत्यका खानेपानी लिमिटेड केयूकेएलका अनुसार मुख्य वितरण प्रणालीको पाइप फुटेको हो ।
मेलम्ची खानेपानी आयोजना निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले एकान्तकुना, अनामनगर क्षेत्रमा वितरण हुने पानी ‘रिलिज’ हुन नपाउँदा थापाथलीको खानेपानी पाइप ‘ब्लाष्ट’ हुन पुगेको बताए ।
“माइतीघरमा खानेपानीको पाइप मर्मत गर्दा एकान्तकुना, अनामनगर क्षेत्रमा पानी जान पाएन । त्यसैले सो क्षेत्रमा ओभरफ्लो भएर फुटेको हो,” उनले भने ।
“मर्मत टोली ब्लाष्ट भएको पानी बन्द गर्न थापाथली पुगेको थियो । तत्काल समस्या पहिचान गरेर मर्मत सम्भारको काम सुरु गर्नेछ,” उनले भने ।
उनका अनुसार करिब पाँच मिटर तल खाल्डो परेको छ । थापाथलीमा फुटेको पाइप एकान्तकुना, प्रसूति गृह, बानेश्वर, बिजुली बजार, माइतीघर, कोटेश्वरलगायतका ट्यांकीसँग ‘इन्टरलिंक’ छ ।
गत माघ ३० गते बुधबार बबरमहलमा पनि विद्युत् प्राधिकरणले खानेपानीको पाइप फुटाउदा सडक, आसपासका सरकारी कार्यालय र निजी घरहरु डुबानमा परेका थिए । विद्युतको तार भूमिगत गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा डुबानमा परेको हो । त्यतिबेला केयूकेएलले विद्युत प्राधिकरणलाई दोषी देखाउँदै आफैँ मर्मत सम्भार गरेको थियो ।
उपत्यकामा समन्वयकारी भूमिकामा रहेका निकायहरुले एकआपसमा समन्वय नगर्दा एउटाले बिगार्ने अर्कोले बनाउने चलिरहन्छ । सडक विभाग, उपत्यका खानेपानी लिमिटेड केयूकेएल, काठमाडांंै महानगरपालिका र विद्युत प्राधिकरण यसका मुख्य जिम्मेवार निकाय हुन् ।
लामो समयदेखि एउटा निकायले बनाउने र अर्को निकायले भत्काउने क्रम अहिलेसम्म नरोकिएका पूर्वाधारविद् आशीष गजुरेलले बताए । एक निकायबाट भएको कामले गर्दा सबै निकायलाई असर परिरहेको बताए ।
“पछिल्लो समय मुख्य सडकमै खानेपानीको पाइपहरु फुटिरहेको छ । त्यसले गर्दा सडक भासिने, विद्युत् पनि अवरुद्ध हुने ढल बिग्रिने र यातायात सेवा पनि अवरुद्ध भइरहेको छ । यसमा सबै भन्दा जिम्मेवार केयूकेएल नै हो,” उनले भने ।
खानेपानीका पाइपहरु धेरै पुराना भएकाले पनि पाइप फुट्ने गरेको गजुरेलले बताए ।
“मेलम्ची खानेपानीका पाइपहरु धेरै पुराना भए । एउटै सडकभित्र विद्युतका तार, ढल र खानेपानीका पाइप सँगै छन् । केयूकेएलले यस्तो समस्या आएपछि मात्रै राज्यको पैसा खर्च गर्छ । समस्या आउनुभन्दा पहिले नै अध्ययन, मर्मतसम्भार र पाइपको कन्डिसन थाहा पाउनुपर्छ । यस्ता मर्मतका कामहरु पाइप फुट्नुभन्दा पहिले नै समाधान गर्न एकदमै जरुरी छ,” गजुरेलले बाह्रखरीसित भने ।
युटिलिटी करिडोरको योजना ल्याउने कुरा चले पनि पछि राज्यले नै अलपत्र पारेको उनले बताए । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले युटिलिटी करिडोरको कन्सेप्ट नहुँदा यस्तो समस्या आउने गरेको बताए ।
“सेटल सिटीमा नयाँ संरचना बनाएर काम गर्न एकदमै धेरै चुनौति छ । कमसल सामानहरु हालेर यस्तो भएको होइन,” उनले भने, “यो नितान्त ‘एक्सिडेन्टल’ कुरा हो । सडकमा कस्ता खालका गाडी गुड्छन् भन्ने कुराले पनि असर गर्छ ।”
तत्काल मर्मत सम्भार गरेर सडक सुचारु गर्न सकिने वा नसकिने कुरामा क्षति हेरेर मात्रै पत्ता लाग्ने राईले बताए ।
“संरचना खोतल्छौँ त्यसपछि कति ड्यामेज भएको छ त्यो हेरेर मात्रै मर्मत सम्भारमा कति समय लाग्छ भनेर भन्न सकिन्छ । तत्काल मर्मत सम्भार गर्न सकिने अवस्था पनि रहन सक्छ,” उनले भने ।
थापाथली सडकमा एयर प्रेसरको कारणले गर्दा पाइप फुटेको प्रारम्भिक अनुमान गरेको प्रवक्ता राईले बताए ।
“पानीसँगको कुरामा लिकेज नहुने भन्ने हुँदैन । पहिले पाइप लामो सयम सडकमा छोड्दा त्यसको असर अहिले देखिएको हुनसक्छ । विभिन्न निकायसँग समन्वय गर्दा गर्दै पनि त्यो प्रयाप्त नहुँदो रहेछ,” उनले भने ।
सिजन अनुसार पानीको मात्रामा पनि फरक पर्ने भएकाले पाइप मर्मत सम्भारको काम चलिरहने केयूकेएलले जनाएको छ । पाइप तथा सडक मर्मत सम्भारका लागि केयूकेएल र आयोजना निर्देशनालयको टोलि थापाथलीमा परिचालित छ ।
यसअघि बबरमहल, बानेश्वरलगायतका क्षेत्रमा पनि खानेपानीको पाइप फुटेको थियो ।