
काठमाडौं । कम भिजिबिलिटीमा पनि उडान र अवतरण गर्न सक्ने भएपछि भैरहवा चलायमान देखिएको छ । माघ १० देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइज्ड रिक्वायरमेन्ट (आरएनपीएआर) प्रणाली जडानपछि चलायमान देखिएको हो । जसअनुसार फेब्रुअरीमा मात्रै ६ हजार ७९ जनाले भैरहवाबाट आवातजावत गरेका छन् ।
सबैभन्दा बढी जजिरा एयरवेजले यात्रु ओसारेको छ । फ्रेबवरीमा जजिराले ३२६५ यात्रु भैरहवा विमानस्थल अवतरण गरेका थिए । दोस्रोमा फ्लाई दुवई रहेको छ । उक्त महिनामा फ्लाई दुवईले २४०३ यात्रु ओसारपसार गरेको थियो ।
तेस्रोमा थाई एयर एशिया रहेको छ । फेब्रुअरीमा थाई एयर एशियाले १०९७ यात्रु ओसारपसार गरेको छ । गत एक महिनामा १३ वटा चार्टर्ड उडान समेत भएका थिए र उक्त चार्टर्ड उडानमा २११ यात्रु आएका थिए ।
नेपाल एयरलायन्सबाट भने जम्मा एक यात्रु आएको तथ्यांक विमानस्थल कार्यालयको छ । भैरहवा–काठमाडौं ट्रान्जिट गर्ने गरेको फ्लाई दुवई र नेपाल एयरलायन्समा चार हजार ४० यात्रु थिए ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्रेब्रुअरीको तथ्यांक हालसम्मकै उच्च हो ।
सन् २०२४ को नोभेम्बरबाट उडान सुरू भएको भैरहवा विमानस्थलमा पहिलो महिना चार हजार २७९ आएका थिए । यस्तै डिसेम्बर २०२४ मा तीनहजार ८७८ यात्रु आए । २०२५ को पहिलो महिना सो संख्या घटेर एक हजार ३६५ मा झरेको थियो ।
महाप्रबन्धक तिवारीका अनुसार पछिल्लोसमय चर्चा र सिजनसुरू भएरपनि यात्रुहरूको आवागमन बढेको हो । “यसको मूख्य कारण त सिजन सुरू भएर पनि हो,” उनले भने, “फ्रेबवरीको यात्रु आवागमनले उत्साह थपेको छ ।”
अहिले भैरहवाबाट सातामा १५ उडान भइरहेको तिवारी बताउँछन् ।
जजिरा, थाई एयर एशिया, फ्लाई दुवई र नेपाल वायुसेवा निगमले उडान गरिरहेका छन् । जजिराले सातामा मंगलबार, बिहीबार र शनिबार गरी सातामा तीन उडान गरिरहेको छ । थाई एयर एशियाले सोमबार, र फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ ।
वायुसेवा निगमले पनि सातामा तीनदेखि चार उडान गरिरहेको उनको भनाइ छ ।
“फ्लाई दुवई र नेपाल वायुसेवा निगमको धेरै यात्रुहरू त्रिभुवन विमानस्थलबाट चढ्ने गरेका छन्,” तिवारीले भने, “जजिरा र थाई एयर एशियाको भैरहवाबाट छन् ।”
भिषा सेन्टर तथा स्वास्थ्य परीक्षण सेवा अझै भएन
मन्त्रिपरिषद्को साउन २८ गते बसेको बैठकले भैरहवा र पोखरा विमानस्थल सञ्चालनको लागि विभिन्न २३ वटा कार्ययोजना ल्याएको थियो ।
नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनामा भिषा सेन्टर स्थापना, स्वास्थ्य परीक्षण, भ्याट फिर्तालगायतका कुराहरू कार्यान्वयन भएको छैन ।
विशेषगरी भिषा सेन्टर, स्वास्थ्य परीक्षण तथा म्यानपावर कम्पनीहरूको स्थापना भए दीर्घकालीन रूपमा विमानस्थल सञ्चालन हुने महाप्रबन्धक तिवारी बताउँछन् ।
“पहिलाभन्दा निकै चलायमान छ । यसलाई निरन्तरता दिन स्वास्थ्य परीक्षण, भिषा सेन्टर तथा म्यानपावर कार्यालय चाहिन्छ,” उनल भने ।
२८ गतेको मन्त्रिपरिषद् बैठकले हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिषा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ल्याएको कार्ययोजनालाई अन्य मन्त्रालयले कार्यान्वयनमा असहयोग गर्दा भैरहवा र पोखरा विमानस्थल राम्रोसँग सञ्चालन हुन सकेको छैन ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि रातिको समयमा बन्द भइरहेको छ । मुख्य विमानस्थल बन्द हुँदा भैरहवा तथा पोखरातर्फ ३० प्रतिशत उडान हुने प्रक्षेपण गरे पनि न्यून संख्यामा मात्रै भैरहवा गएका थिए ।
पोखरातर्फ भने चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
रातिको समयमा विमानस्थल बन्द गरी कात्तिक २३ देखि सुरू भएको स्तरोन्नतिको काम चैत १८ सम्म छ । एक महिना बाँकी रहँदा करिब ६० प्रतिशतको हाराहारीमा काम सकिएको आयोजना प्रमुख दिपेन्द्र श्रेष्ठ बताउँछन् ।
महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ ।
गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रूपैयाँ सुरूवाती लागत भएपनि समय र लागत बढेर ६१ अर्ब खर्च थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकोे ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेपनि चिनियाँ पक्षले वेवास्ता गरेको थियो ।
पोखरा विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रूपैयाँ (एक अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।
पोखरा–ल्हासा उडान हुँदै
हिमालय एयरलायन्सले पोखरा–ल्हासा उडान सुरू गर्ने भएको छ ।
एयरले मार्च अन्तिमदेखि उडान सुरू गर्ने भएको हो । भैरहवातर्फ अन्तर्राष्ट्रिय विमान कम्पनीले गएपनि पोखरामा भने डोमेस्टिक उडान मात्रै भइरहेको अवस्था थियो ।
एयरलायन्सले हप्तामा एक उडानको तयारी गरेको जनाएको छ । पहिलो उडान मार्च ३१ बिहान साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने र सोही दिन ल्हासा–पोखरा उडान दिउँसो १ः१५ हुने एयरलायन्सले जनाएको छ ।