अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा सात दशकभन्दा बढी तेस्रो विश्वयुद्ध रोक्न मद्दत गरेका बहुपक्षीय संस्थाहरू, संगठनहरू, र सम्झौताहरूको सञ्जाललाई नियोजितरूपमा ध्वस्त पारिरहेका छन् । तर, धेरै सरकारहरू भने उनका कार्यहरूलाई खासै महत्त्व नदिने वा त्यस्तो केही नभएको बताउँदै र देखाउने प्रयास गर्दैछन् । नराम्रै भए पनि, ह्वाइट हाउसमा रहेको खतरा सामना गर्नु विकल्प नै नभएको जिकिर गर्दैछन् । ट्रम्पको कोपभाजन हुनुपर्ने डरले उनीहरू असहमति सावधानीपूर्वक लुकाउन खोजिरहेका देखिन्छन् ।
संयुक्त अधिराज्य बेलायतको राजनीतिक संस्थापनका लागि बेलायत र अमेरिकाबीचको 'विशेष सम्बन्ध' जोगाउनुपर्ने आवश्यकता यसको लागि सजिलो बहाना बनेको छ । ह्वाइट हाउस बैठकपछि, बेलायतका प्रधानमन्त्री किएर स्टार्मर र ट्रम्प दुवैले यही 'विशेष सम्बन्ध' कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलले मिसौरीको फुल्टनमा सन् १९४६ मा एउटा ऐतिहासिक भाषण दिएका थिए । चर्चित भाषणमा उनले "एउटा फलामे पर्दा युरोपभर फैलिएको छ" भन्ने चेतावनी दिएका थिए । यसपछि यो रणनीतिक साझेदारी बेलायतको परराष्ट्र र सुरक्षा नीतिको प्रमुख अंश रहँदै आएको छ । विश्वयुद्धपछिको इतिहासमै सबैभन्दा प्रभावशाली उक्त भाषणमा चर्चिलले दाबी गरेका थिए - " अंग्रेजी भाषीहरूबीच भ्रातृ सम्बन्ध स्थापित नहोउन्जेल युद्धको सुनिश्चित रोकथाम वा विश्व संगठनको निरन्तरता हासिल गर्न सकिँदैन " । त्यसका लागि, "ब्रिटिस साम्राज्य र राष्ट्रमण्डल तथा अमेरिकाबीचको विशेष सम्बन्ध" अत्यावश्यक थियो।
स्वाभाविक रूपमा, यो सम्बन्ध अमेरिकाभन्दा बेलायतका लागि बढी महत्त्वपूर्ण रहँदै आएको छ । यो सम्बन्ध बेलायतको परमाणु प्रतिरोध क्षमता, विस्तारित गुप्तचर साझेदारी, सैन्य सहकार्य र विश्वव्यापी खतराहरूप्रति साझा दृष्टिकोणमा आधारित रह्यो । धेरैका लागि जसमा म पनि पर्छु यसमा गहिरो स्नेह, कृतज्ञता र सम्मान पनि रहेको छ ।
मेरो राजनीतिक जीवन अमेरिकासँगको प्रारम्भिक सम्पर्कबाट प्रभावित छ जसले मलाई अमेरिका प्रेमी बनायो । यही कारणले गर्दा अमेरिकी प्रशासन अमेरिकाले लामो समयदेखि प्रवर्द्धन गरेका मूल्यहरूबाट यति टाढा पुगेको देख्दा मलाई असाध्यै दुःख लागेको छ ।
चर्चिलको "आयरन कर्टेन" भाषणपछि अमेरिका–बेलायत सम्बन्धलाई पश्चिमी उदारवादी व्यवस्थाको केन्द्रविन्दु मानिएको छ । यसको निर्विवाद नेतृत्वकर्ताका रूपमा अमेरिकाले खुला समाजहरूको लागि एएटा उदाहरण प्रस्तुत गर्दै आएको थियो ।
चर्चिलको दृष्टिकोण लोकतान्त्रिक शासन, कानुनी शासन, न्यायपालिका, स्वतन्त्रता, र अत्याचार तथा अल्पतन्त्रको प्रतिरोधमा आधारित थियो । उनले राजनीतिक सभ्यताको महत्त्वलाई स्वीकारे, गरिब र उत्पीडितहरूको उद्धारलाई नैतिक कर्तव्य ठाने र अन्तर्राष्ट्रिय संस्थाहरू तथा गठबन्धनहरूद्वारा विश्व शान्ति तथा आत्मनिर्णयको रक्षा गर्नुपर्ने तर्क दिएका थिए । त्यस्तै, उनले महामन्दी जस्ता संकटहरू रोक्न मद्दत गर्न संरक्षणवाद अस्वीकार गर्दै बलियो आर्थिक साझेदारीलाई आवश्यक ठाने ।
हुनत, ट्रम्प पनि कहिलेकाहीँ परम्परागत अमेरिकी नीतिहरूको अनुकरण गर्छन् तर कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै अमेरिकी मूल्यहरू र हितलाई जोखिममा पारेका थिएनन् । अघिल्ला राष्ट्रपतिहरूले कहिल्यै झुटा आरोपको आधारमा अमेरिकी लोकतान्त्रिक संस्थाहरूलाई आक्रमण गर्न उक्साएका थिएनन् । न त जनवरी ६, २०२१ मा जस्तो अमेरिकी क्यापिटल हलमा हमला गर्नेहरूलाई क्षमा दिएका थिए।
यस्तै, रिचार्ड निक्सनबाहेक, कुनै पनि अमेरिकी राष्ट्रपतिले व्यक्तिगत प्रतिशोध लिन राष्ट्रपतिको कुर्सीको प्रयोग गरेका थिएनन् । कुनै पनि राष्ट्रपतिले एलन मस्कजस्ता अर्बपतिलाई संघीय कर्मचारीहरू हटाउने र अमेरिकाको विदेश सहायता कार्यक्रम ध्वस्त पार्ने छुट दिएका थिएनन् । साथै, ट्रम्पले जस्तै व्यापक व्यापारिक स्वार्थको जालोमा पनि उनीहरू फसेका थिएनन् ।
पछिल्ला ७० वर्षमा कुनै पनि अमेरिकी राष्ट्रपतिले युक्रेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुझाउने कुरा सोच्ने पनि थिएनन् । तेस्रो देशलाई आफ्नो प्राकृतिक स्रोत अमेरिकालाई सुम्पन बाध्य पार्ने माग गर्ने त कल्पना पनि गर्न सकिँदैन ।
यस्तो परिस्थितिमा प्रधानमन्त्री स्टार्मरले आफैँलाई सोध्नुपर्छ – के बेलायत र ट्रम्पको अमेरिकाबीच अझै पनि समान मूल्यहरू बाँकी छन् ? बेलायतले कम्तीमा ट्रम्पका हानिकारक नीतिहरूमा सहअपराधी बन्नु हुँदैन । यसको अर्थ अमेरिकाप्रति शत्रुतापूर्ण बन्नुपर्छ भन्ने होइन तर ट्रम्पका प्रत्येक मागहरूमा झुक्दा त बेलायतको अपमान हुनेछ ।
यस जोखिमलाई न्यून गर्न बेलायती नीतिनिर्माताहरूले चार महत्त्वपूर्ण कदमहरू चाल्नुपर्छ ।
पहिलो, युक्रेनको समर्थनमा बेलायतले आफ्नो विश्वसनीयता कायम राख्नुपर्छ र रुसी आक्रमणको सामना गर्न रक्षा खर्च बढाउनुपर्छ । यसको योजना त स्टार्मरले पहिल्यै बनाइसकेका छन् । साथै, नाटो सम्बद्ध युरोपेली संघका सदस्य राष्ट्रहरूसँग मिलेर युरोपेली पुनःसशस्त्रीकरण बैंक स्थापना गर्नुपर्छ ।
दोस्रो, ब्रेक्जिटले बेलायतलाई युक्रेनको युरोपेली संघमा प्रवेशको नेतृत्व गर्न रोक्छ तर बेलायतले युक्रेनले प्राप्त गर्ने कुनै पनि आर्थिक वा व्यापारिक लाभ दोहोर्याउने प्रयास गर्नुपर्छ। नीति निर्माताहरूले १९३० को दशकबाट सिक्नुपर्छ – दमनकारी शासकहरूसँग जति सम्झौता गरिन्छ उनीहरूलाई उति नै थप शक्ति प्राप्त हुन्छ।
तेस्रो, बेलायती नीतिनिर्माताहरूले आफ्ना अमेरिकी साझेदारहरूलाई सम्झाउनु आवश्यक छ - कुनै पनि राष्ट्र – 'सुपरपावर' नै भए पनि ठूला प्रतिद्वन्द्वी शक्तिहरूलाई केन्द्रित गरेर सुरक्षित हुन सक्दैन । इतिहासले देखाएको छ - ठूला युद्धहरू प्रायः साना राष्ट्रबाट सुरु भएका छन् । उदाहरणका लागि प्रथम विश्वयुद्धअघि सर्बिया, द्वितीय विश्वयुद्धअघि चेकोस्लोभाकिया र पोल्यान्ड र १९३० को दशकमा मंचुरिया । मार्क ट्वेनले ठीकै भनेका थिए- " अमेरिकीहरूले भूगोल सिक्न सकुन् भनेर नै भगवानले युद्ध सिर्जना गरेका थिए ।"
चौथो, अमेरिकाले आफ्नो ‘सफ्ट पावर’ को महत्त्व पुनः सम्झन सकोस् । सैन्य शक्तिले वास्तविक समर्थन उत्पन्न गर्दैन । कुनै राष्ट्रले धम्कीको माध्यमबाट आफ्नो प्रभुत्व कायम राख्न खोज्छ भने त्यसका दीर्घकालीन परिणाम महँगो पर्न सक्छ ।
एकजना क्यानाडाली मित्रले भनेका थिए - उनको उच्चारणलाई अमेरिकी उच्चारण ठानिएला भन्ने डर लाग्छ र उनी एउटा यस्तो ब्याच खोज्दै थिए जसमा लेखिएको होस् - "मलाई दोष नदिनुस् म क्यानाडाबाट आएको हूँ ।" म अझै पनि अमेरिकाको इतिहास, संस्कृति, र मूल्यहरूको प्रशंसा गर्छु तर ट्रम्प सत्तामा रहँदा मेरो उच्चारण फरक भएकोमा खुसी लाग्छ ।
(हङकङका अन्तिम ब्रिटिस गभर्नर तथा अक्फोर्ड विश्वविद्यालयका कुलपति )
Copyright: Project Syndicate, 2025.