
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि तोरण विक्रम शाहीले जितेका छन् । ५–अन्डर ६७ को स्कोरमा समग्रमा १८–अन्डर २७० सहित अत्यन्त रोमाञ्चक शैलीमा निरज तामाङलाई तोरणले एक स्ट्रोकले हराए ।
उनले १२ वर्षपछि घरेलु टुरमा उपाधि जितेका हुन् । यसअघि सन् २०१३ मा यही प्रतियोगिताको उपाधि जितेका थिए । उनले नगद एक लाख ५० हजार प्राप्त गरे । उनको करियरको यो तेस्रो उपाधि हो ।
च्याम्पियन तोरणले जतिकै ५–अन्डर ६७ स्कोर गरेका निरज समग्रमा १७–अन्डर २७१ सहित दोस्रो भए । उनले नगद एक लाख प्राप्त गरे । नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले आज दिनकै उत्कृष्ट ७–अन्डर ६५ को स्कोर निकाले । समग्रमा १३–अन्डर २७५ सहित तेस्रो भए । यो स्कोरमा उनले एमेच्योरतर्फको उपाधि जिते । उनले राहुललाई ९ स्ट्रोकले हराए ।
३–अन्डर ६९ स्कोर गर्दै समग्रमा ५–अन्डर २८३ सहित सञ्जय लामा चौथो भए । प्रो तर्फ तेस्रो हुँदै उनले ७५ हजार प्राप्त गरे । एमेच्योर राहुल समग्रमा पाँचौँ भए । राहुलले आज २–ओभर ७४ स्कोर जोडे । समग्रमा ४–अन्डर २८४ को स्कोर निकाले । एमेच्योरतर्फ उनी दोस्रो भए । दिनेश प्रजापति समग्रमा ३–अन्डर २८५ सहित छैटौँ भए । उनले आज इभन–पार ७२ को स्कोर गरे । प्रो तर्फ चौथो भएका उनले ६३ हजार हात पारे ।
नेपाल नम्बर एक भुवन नगरकोटीले आज ३–ओभर ७५ खेल्दै समग्रमा १–अन्डर २८७ स्कोर गर्दै सातौँ भए । प्रो तर्फ पाँचौँ हुँदा ५३ हजार आफ्नो नाममा लेखाए । जयराम श्रेष्ठले आज बिर्सनलायक ८–ओभर ८० को स्कोर गर्दा समग्रमा ३–ओभर २९१ सहित आठौँ भए । प्रो तर्फ उनी छैटौँ हुँदा ४६ हजार नगर पुरस्कार प्राप्त गरे । टंकबहादुर कार्की समग्रमा ४–ओभर २९२ सहित नवौँ भए । प्रोतर्फ सातौँ हुँदै ४२ हाजर जिते । समग्रमा ८–ओभर २९६ स्कोर जोडेका रामे मगर र सूर्यप्रसाद शर्मा दशौँ भए । उनीहरू प्रो तर्फ आठौँ भएसँगै ३६ हजार ५ सय हात पारे ।
फाइनल दिनको खेल सुरूआत गर्दा तोरण निरजभन्दा एक स्ट्रोकले मात्र अगाडि थिए । जहाँ तोरणलाई निरजले कडा चुनौती दिए । फ्रन्ट नाइनमा तोरणले तेस्रोदेखि पाँचौँ होलमा लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । निरजले चौथो र नवौँ होलमा एक–एक सट बचाए । फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । फ्रन्ट नाइनको समाप्तीमा तोरण २ स्ट्रोकले अघि बढे ।
यसपछि तोरणले १०औँ होलमा एक सट बचाएसँगै उनले ३ स्ट्रोकको अग्रता बनाए । ११औँ होलमा दुवैले बर्डी प्रहार गरे । यसपछि निरजले १४औँ र १५औँ होलमा लगातार दुई बर्डीको सफलतामा अग्रता एक स्ट्रोकमा झार्दै तोरणलाई दबाब दिए । तर, लगतै १६औँ होलमा बोगी हाने र फेरि २ स्ट्रोकले पछि परे । १७औँ होलमा बर्डी प्रहार गर्दै पुनः अग्रतालाई १ स्ट्रोकमा झार्दै १८औँ होललाई समेत रोमाञ्चक बनाए । अन्तिम होलमा दुवैले पार खेले र तोरण १ स्ट्रोकको जितमा १२ वर्षपछि च्याम्पियन बने ।