site stats
बाह्रखरी :: Baahrakhari
खेल
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : पहिलो दिन रविलाई अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्का शीर्षस्थानमा रहन सफल भएका छन् ।

५–अन्डर ६७ को स्कोरमा रविले डिफेन्डिङ च्याम्पियन सुवास तामाङलाई एक स्ट्रोकले पछि परेका छन् । सुवास ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहे । ३–अन्डर ६९ को नतिजामा दुई एमेच्योर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तथा प्रो गल्फरद्वय भुवन नगरकोटी र धनबहादुर थापाले संयुक्त रूपमा तेस्रो स्थान बाँडे ।

२–अन्डर ७० स्कोर गरेका नीरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा सातौँ स्थानमा छन् । १–अन्डर ७१ स्कोर गरेका दीपक मगर, रामकृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौँ स्थान बाँडे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पूर्वनम्बर एक गल्फर रविले छैटौँदेखि नवौँ होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । यसपछि ब्याक नाइनमा उनले १२औँ र १७औँ होलमा एक–एक सट बचाए । १३औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे ।

सुवासले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । छैटौँ होलमा बर्डी प्रहार गरे पनि पाँचौँ र सातौँ होलमा एक–एक सट खेर फाले । उनले ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा १०औँ, १२औँ र १६औँ होलमा बर्डी प्रहार गरे । ५–पारको १५औँ होलमा इगलको सफलता हात पारे ।

एमेच्योरतर्फ भुटानका निम दोर्जी र नेपालका राहुल संयुक्त रूपमा शीर्षस्थानमा रहे । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा वाङ्चेनलाइ २ स्ट्रोकले पछि पारे ।

निमले तेस्रो र सातौँ होलमा इगल प्रहार गरे । छैटौँ होलमा एक सट बचाए । पहिलो र आठौँ होलमा बोगीको सामना गर्दा फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे । यसपछि ११औँ र १४औँ होलमा बर्डी तथा १५औँ र १८औँ होलमा बोगी खेपे । ब्याक नाइन इभन–पार ३६ खेले ।

राहुलले फ्रन्ट नाइन १–अन्डर ३५ तथा ब्याक नाइन २–अन्डर ३४ मा सकाए । उनले कुल ५ बर्डी र दुई बोगी प्रहार गरे। वाङ्चेनले १–अन्डर ७१ स्कोर गरे । वाङ्चेनले सातौँ होलमा चार सट खेर फाले । उनले ६ बर्डी प्रहार गर्दा एक बोगी खेपेका थिए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चारदिने प्रतियोगितामा ३७ जना प्रोफेसनल गल्फरले हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशीको लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । विजेताले उपाधिसहित तीन लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख पाँच हजार र पाँचौँ हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । साथै, प्रतियोगितामा १८ जना एमेच्योर खेलाडी पनि प्रतिस्पर्धा गरिरहेका छन् ।

चारदिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो–एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्