विशेष
काठमाडौं । गुन्डा नाइके दीपक मनाङेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ ।
मंगलबार काठमाडौं जिल्ला अदालतका अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले गुन्डा नाइके मनाङे र उनीसँगै पक्राउ परेका राजन सिंहलाई अपहरण तथा बन्धक बनाएको अभियोगमा पुर्पक्षका लागी केन्द्रीय कारागार डिल्लीबजार चलान गरेको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ध्रुवकुमार उप्रेतीले जानकारी दिए ।
मनाङेलाई काठमाडौं प्रहरीले असार १६ गते पक्राउ गरी संगठित अपराध, अपहरण तथा बन्धक बनाएको अभियोगमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले उनी र उनका सहयोगी सिंहलाई दुई महिना थुनामा राखेर संगठित अपराध, अपहरण तथा शरिर बन्धकको अभियोगमा अनुसन्धान गरेको थियो ।
तर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाएर अपहरण तथा बन्धक गर्ने उद्योगमा मुद्दा अदालतमा दायर गरेको थियो । सुशील मनाङे, ज्याक गुरुङ र शनि गुरुङलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर मुद्दा चलाएको थियो । पुर्पक्षका लागी जेल चलान गरिएका मनाङेले अदालतबाट बाहिरिने क्रममा आफू अन्यायमा परेको बताएका थिए ।
“मैले कसैलाई अपहरण गर्ने प्रयास गरेको हैन,”मनाङेले भने,“मैले त बन्द भएको पानी फ्याक्ट्री चलाउन खोजेको थिएँ, तर मलाई गरि खान दिइएन । मलाई कसैले फसाउने प्रयास गरेका हुन सक्छन् । तर म सम्मानित अदालतको निर्णयलाई सम्मान गर्छु र त्यसैको पर्खाइमा छु ।”
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७३ १८:४५
प्रतिक्रिया दिनुहोस्