
काठमाडौं । विश्व खेलकुदको मानचित्रमा हेर्ने हो भने नेपालको उपस्थिति प्रभावशाली छैन । यसको अर्थ नेपाली खेलकुदले आफ्नो प्रभाव देखाउन नखोजेको भने हैन । पछिल्लो एक दशकयता नेपाली खेलकुदले केही उपलब्धि हासिल पनि गरेको छ । एक दशकमा हासिल १० प्रमुख उपलब्धिलाई यहाँ समेटिएको छ ।
पारालम्पिक पदक
(०८१ भदौ १५)
नेपाली खेलकुदले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धिमा पर्छ, पलेशा गोर्वधनको पारालम्पिक पदक ।
फ्रान्सको पेरिसमा आयोजित पारालम्पिक–२०२४ मा पलेशाले तेक्वान्दोतर्फ ऐतिहासिक कांस्यपदक जितिन् । विश्व खेलकुदको सबैभन्दा ठूलो पारालम्पिक प्रतिस्पर्धामा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो । ओलम्पिकको इतिहासमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक पनि हो ।
नेपालले सन् १९६४ को टोकियोदेखि ग्रीष्मकालीन ओलम्पिक तथा २००४ मा एथेन्सबाट पारा ओलम्पिक खेल्न थालेको थियो ।
खो–खो विश्वकपमा उपविजेता
(०८१ माघ ६)
भारतमा यसै वर्ष आयोजित खो–खो विश्वकपको पहिलो संस्करणमा नेपालका महिला र पुरुष दुवै टिम फाइनलमा पुगे । नेपालले कुनै पनि खेलको विश्वकपको फाइनल यात्रा तय गरेको यो पहिलोपटक हो ।
नेपालका महिला र पुरुष दुवै टिम उपाधि भिडन्तमा आयोजक भारतसँग पराजित भएका थिए । प्रतियोगिताको पुरुषतर्फ २० र महिलातर्फ १९ टिमको सहभागिता थियो ।
एसियाड रजत
(०८० असोज २०)
चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङले जितेको रजतपदक नेपाली खेलकुदले प्राप्त गरेको ऐतिहासिक सफलतामध्येमा पर्छ ।
सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हाङझाउमा आयोजित प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहमा फाइनलसम्मको यात्रा तय गरेकी थिइन् । फाइनलमा विश्व नम्बर एक काजखस्तानकी सोफ्या बेरुल्त्सेभासँग पराजित हुँदै एरिकाले रजत जितेकी हुन् ।
यो नेपालको कुनै पनि खेलले एसियाली खेलकुदको व्यक्तिगत विधामा २५ वर्षपछि जितेको रजतपदक हो । करातेबाट नेपालले जितेको यो पहिलो पदक समेत हो ।
एसियाली खेलकुदमा एरिकाबाहेक, महिला कबड्डी टिमले समेत ऐतिहासिक कांस्य जितेको थियो । यो एसियाली खेलकुदमा कबड्डीतर्फ नेपालले जितेको पहिलो पदक हो ।
ट्वान्टी–२० विश्वकपमा नेपाल
(०८१ जेठ २२–असार ३)
सन् २०२४ मा नेपाली क्रिकेटले दुई ऐतिहासिक सफलता हासिल गर्यो । नेपालको राष्ट्रिय पुरुष टिम १० वर्षपछि विश्वकपको मञ्चमा उक्लिएको थियो । सँगै नेपाललाई टेस्ट टिम बंगलादेश र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धाको अवसर जुर्यो । नेपालले सन् २०१४ को संस्करणपछि क्रिकेटको सानो संरचनाको विश्वकपमा स्थान बनाएको हो ।
नेपाली टिमले घरेलु मैदानमै आयोजित एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलोपटक एसिया कपमा समेत स्थान पक्का गर्यो । सन् २०२३ को अगस्टमा भएको प्रतियोगितामा नेपालले समूह चरणमा विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्र भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।
विश्व क्रिकेटमा चिरप्रतिद्वन्द्वीका रूपमा परिचित भारत र पाकिस्तान दुवैले आईसीसी एक दिवसीय र ट्वान्टी–२० विश्वकपको उपाधि जितेका छन् ।
एकदिवसीय मान्यता
(०७४ चैत १)
पछिल्लो एक दशकमा नेपाली क्रिकेटले अर्को ऐतिहासिक उपलब्धिका रूपमा एक दिवसीय मान्यता पायो । सन् २०१८ को फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ६ विकेटको जित निकाल्दै नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक आईसीसीबाट एक दिवसीय मान्यता पाएको थियो ।
प्रतियोगितामा नेपालले समूह चरणमा क्यानडाविरुद्ध एक विकेटको भाग्यशाली जित निकाल्दै एक दिवसीय मान्यताको आधार तय गरेको थियो । लिग चरणको अन्तिम खेलमा क्यानडासँग पराजित भए एक दिवसीय मान्यता गुमाउने स्थिति हुँदा नेपालका करण केसी र सन्दीप लामिछानले अन्तिम विकेटका निम्ति अविजित ५१ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका थिए ।
यू–१९ महिला टिमले खेलेको विश्वकप
(०८१ कात्तिक २८)
विश्व क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको उपस्थिति कमजोर छ । तर, यसै वर्ष जनवरी १८ देखि फेब्रुअरी २ सम्म यू–१९ टिमले विश्वकपमा प्रतिस्पर्धा गर्दै यो मान्यतालाई चिर्ने प्रयास गर्यो । नेपाली महिला क्रिकेटको इतिहासमा कुनै पनि टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको यो पहिलोपटक हो ।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपालले समूह चरणका सबै खेलमा पराजय व्यहोर्यो । तर, नेपालले १३औँदेखि १६औँ स्थानको प्लेअफमा मलेसियाविरुद्ध सात विकेटको जित निकालेको थियो ।
फ्रेन्चाइज शैलीको आगमन
पछिल्लो १० वर्षमा नेपाली खेलकुदको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमा पर्छ, घरेलु खेलकुदमा फ्रेन्चाइज शैलीको आगमन । खेललाई निजी क्षेत्रसँग जोड्न र व्यावसायिक वातावरण बनाउन विश्व मानचित्रमै फ्रेन्चाइज शैलीको प्रभाव बढ्दो छ ।
नेपाल प्रिमियर लिग (एनपीएल–२०१६)बाट सुरु भएको फ्रेन्चाइज शैलीले क्रिकेटसँगै फुटबल (नेपाल सुपर लिग), भलिबल हुँदै कबड्डीमा समेत प्रवेश पाइसकेको छ ।
विदेशी लिगमा नेपाली खेलाडीको प्रतिनिधित्व
नेपाली पुरुष फुटबलरले दक्षिण एसियाका अरू देशहरूका लिग खेल्न लागेको लामो समय भइसक्यो । तर, युरोपका क्लबबाट खेल्नु अझै नेपाली खेलाडीका लागि सपना बनेको छ ।
विगत एक दशकयता नेपाली खेलकुदको अर्को आयाम बनेको छ, चर्चित विदेशी लिगमा नेपाली खेलाडीको प्रतिनिधित्व । यो सूचीको शीर्षक्रममा पर्छन्, क्रिकेटर सन्दीप लामिछाने ।
सन् २०१८ मा विश्व क्रिकेटकै सबैभन्दा चर्चित फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीपले दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरे । त्यसयता उनले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वचर्चित क्रिकेट लिग खेले ।
यसपछि यो सूचीमा पर्ने नाम हो, महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी । सावित्रा भारत, इजरायल हुँदै फ्रान्सको शीर्ष डिभिजनको लिगसम्म पुगेकी छन् ।
नेपालबाट युरोपेली फुटबलमा प्रतिनिधित्व गर्ने पहिलो महिला फुटबलर बनेकी सावित्रा फ्रान्सको शीर्ष डिभिजनको क्लब एन एभान्त गुइनगाम्प फेमिनाइन्सबाट खेलिरहेकी छन् ।
महिला फुटबल टिमकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बा पनि ग्रीसको शीर्ष डिभिजन लिगको क्लब निस अट्रोमिटौमा अनुबन्ध भएकी छन् ।
यसबाहेक गएको दशकमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विदेशी क्रिकेट लिगमा खेल्ने अवसर पाए ।
बंगबन्धु गोल्डकप, सोलिडारिटी कप
(०७२ माघ ८, ०७३ कात्तिक ३०)
विगत एक दशकमा नेपाली फुटबल सफलताभन्दा पनि विवाद र एन्फाको आन्तरिक द्वन्द्वका कारण चर्चामा रह्यो । तर पनि नेपाली फुटबल टिमले यो १० वर्षमा हासिल गरेको प्रमुख सफलतामा पर्छन्, बंगबन्धु गोल्डकप (२०१६) र एएफसी सोलिडारिटी कप (२०१६) ।
बंगलादेशको ढाकामा सन् २०१६ जनवरी २२ मा भएको बंगबन्धु गोल्डकपको उक्त संस्करणमा नेपाली टिमले फाइनलमा बहराइनको यू–२३ विरुद्ध ३–० को जित निकाल्दै उपाधि जितेको थियो ।
त्यही वर्षको नोभेम्बरमा नेपाली टिमले मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध १–० को जित निकाल्दै उपाधि चुम्यो ।
त्यही वर्ष नेपालले भारतमा आयोजित दक्षिण एसियाली खेलकुद (साग)मा घरेलु टिमलाई २–१ ले हराउँदै फुटबलमा स्वर्णपदक जितेको थियो ।
नेपालमा ओलम्पिक छनोट
(०८१ जेठ)
नेपालमा आयोजित सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा पर्छ, काठमाडौंमा भएको दक्षिण एसियाली टेबलटेनिस छनोट ।
दक्षिण एसियाली छनोट भए पनि यो प्रतियोगिता जित्ने खेलाडीले सोझै ओलम्पिकमा छनोट हुने प्रावधान थियो । अर्थात्, नेपालमा ओलम्पिक छनोट आयोजना गरिएको यो पहिलोपटक हो ।
नेपालमै भएको यो प्रतियोगिताबाट घरेलु खेलाडी स्यान्टु श्रेष्ठले इतिहास बनाउँदै ओलम्पिक यात्रा तय गरे । गएको जेठमा भएको प्रतियोगिताको फाइनलमा उनले नेपालकै संयोग कपालीलाई ४–३ ले हराउँदै ओलम्पिकमा स्थान बनाएका थिए । योसँगै स्यान्टु छनोट प्रतियोगिताबाट ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बने ।
उनी टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी समेत हुन् । स्यान्टुअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।