
काठमाडौं । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोसको आगमनसँगै नेपाली समर्थकमाझ चर्चा चुलिएको छ । कार्लोस नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरको प्रमुख अतिथिको रूपमा रहने तय भएको छ ।
यसअघि एनएसएलको पहिलो क्वालिफायरका निम्ति (अप्रिल १८ र १९) नेपाल आउने जनाइए पनि त्यो अन्तिम समयमा स्थगित भएको थियो । अप्रिल १८ मा नेपाल आउन नपाएपछि कार्लोसले एक भिडियो सन्देश जारी गर्दै आफू ‘शारीरिक अस्वस्थताका कारण निर्धारित समयमा आउन नपाएको तर फाइनलअघि नेपाल आउने’ बताएका थिए ।
सोही तालिकाअनुसार मंगलबार (चैत ९) कार्लोसलाई त्रिभुवन विमानस्थलमा एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले स्वागत गरिसकेको छ ।
मंगलबार पहिलोपटक नेपाल उत्रिएका कार्लोसले यसअघि पनि नेपाल आउने इच्छा देखाएका थिए । तर, एनएसएलका निम्ति नभई करिब दुई महिनाअघि आयोजित केपी ओली कप फुटबल प्रतियोगिताका निम्ति ।
कार्लोसलाई नेपाल ल्याउन केपी ओली कप आयोजक राष्ट्रिय युवा संघले प्रस्ताव गरेको थियो । फागुन १९ गते हुने प्रतियोगिताको फाइनलमा कार्लोसलाई प्रमुख अतिथि बनाउने आयोजकको योजना थियो । सोही अनुरुप गरिएको प्रस्तावमा कार्लोस नेपाल आउन राजी पनि भए । तर, रियाल मड्रिडको ब्रान्ड एम्बेसडर रहेका कार्लोसको क्लबकै एक कार्यक्रम र नेपाल आउने कार्यक्रम जुध्दा उनको नेपाल भ्रमण रद्द भएको आयोजक युवा संघका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहरि केसीले बाह्रखरीसँग बताए ।
“केपी ओली कपका निम्ति हामीले रोबर्टो कार्लोसलाई प्रस्ताव गरेका थियौँ । कार्लोसले नेपाल आउने इच्छा व्यक्त गरेपछि लगभग आउने पक्का जस्तै थियो,” केसीले बाह्रखरीसँग भने, “कार्लोसले त्यसबेला हामीलाई नेपाल आउँदै छु भनेर सन्देश समेत पठाएका थिए । तर, उनी रियाल मड्रिडको ब्रान्ड एम्बेसडर रहेको हुँदा क्लबको कार्यक्रमसँग हाम्रो प्रतियोगिता जुध्यो । त्यसैले उनी आउन पाएनन् ।”
क्रिस्टियोना रोनाल्डो र रोनाल्डिन्होलाई पनि प्रस्ताव
कार्लोसको नेपाल भ्रमणका निम्ति समय नभएपछि मात्रै हो, आयोजक युवा संघले इटालीका विश्वकप विजेता बुफोनलाई नेपाल ल्याएको । तर, कार्लोस केपी ओली कपका निम्ति नेपाल भित्र्याउन प्रयास गरिएका एक्ला चर्चित खेलाडी भने होइन । कार्लोसअघि नै पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र ब्राजिलका विश्वकप विजेता रोनाल्डिन्होलाई पनि नेपाल आउन प्रस्ताव गरिएको प्रवक्ता केसीले बताए ।
“हामीले त्यसबेला सबैभन्दा पहिले क्रिस्टियानो रोनाल्डोलाई नेपाल ल्याउन पहल गरेका थियौँ । तर, उनको पारिश्रमिक चर्को हुँदा त्यो सम्भव बन्न सकेन । त्यसपछि हामीले ब्राजिलका रोनाल्डिन्होलाई पनि प्रस्ताव गर्यौँ । रोनाल्डिन्होसँगै रोबर्टो कार्लोसलाई पनि प्रस्ताव गरेका थियौँ,” केसीले भने ।
क्रिस्टियानो रोनाल्डो, रोनाल्डिन्हो र रोबर्टो कार्लोससँग कुरा नमिल्दा नेपाल आएका बुफोनले यहाँ तीन दिन बिताए । फागुन १८ गते नेपाल ओर्लिएका बुफोन १९ गते भएको केपी ओली कप फाइनलको प्रमुख अतिथिको रूपमा दशरथ रंगशाला पुगेका थिए । मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको फाइनल खेलपछि बुफोनले नै विजेतालाई पुरस्कार वितरण गरेका थिए । फाइनलपछि बुफोन फागुन २० गते स्वदेश फर्किएका थिए । उक्त फाइनलमा आर्मीलाई २–० ले हराउँदै मछिन्द्रले लगातार तेस्रोपटक प्रतियोगिताको उपाधि जितेको थियो ।