
काठमाडौं । नेपाली फुटबलको इतिहासमा रौतहटस्थित चन्द्रपुर (चन्द्रनिगाहरपुर, चपुर)को कहानी बेग्लै छ, जसको सबै श्रेय यहाँका महिला फुटबलरलाई जान्छ ।
चन्द्रपुर–४ स्थित शेरबहादुर दर्लामी स्मृति रंगशालाका करिब दुई दर्जन उत्पादनले राष्ट्रिय टोलीको ढोका खोलिसकेका छन् । अझै पनि वर्तमान नेपाली महिला टिममा यहाँका सात खेलाडी नियमित सदस्य छन् ।
यही तुलना पुरुष फुटबलरसँग गर्ने हो, राष्ट्रिय टोलीमा चन्द्रपुरको प्रतिनिधित्व अहिलेसम्म शून्यप्रायः छ । अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको दोस्रो ब्याचमा रहेका नुरराज काफ्ले पुरुष फुटबलको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने रौतहटका अन्तिम खेलाडी हुन् । र, अहिलेसम्मको एकमात्र पनि ।
घरेलु लिगमा रोशन पहरी, मानबहादुर मगरलगायत केही खेलाडीको उपस्थिति रहे पनि यी खेलाडीले सिनियर राष्ट्रिय टिमको ढोका खोलिसकेका छैनन् ।
अहिले रौतहटबाटै आएका युवा मिडफिल्डर विज्ञान खड्का राष्ट्रिय टिमको ढोका ढकढक्याइरहेका छन् । २०७६ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकेडेमीका निम्ति काठमाडौं आएका विज्ञान अहिले भारतमा हुने साफ यू–१९ च्याम्पियनसिपका निम्ति युवा टोलीमा छन् ।
विङबाट बललाई विपक्षीको पोस्टसम्म पुर्याउन माहिर विज्ञानको प्रदर्शनबाट युवा टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ पनि प्रभावित छन् । उनी पनि मान्छन्– यही लय कायम राखे राष्ट्रिय टिममा विज्ञानको स्थान सुनिश्चित छ ।
“अहिले यू–१९ मा छ । त्यसपछि अरू उमेरसमूह हुँदै शीर्ष डिभिजन खेल्दै अनुभवी बन्दै जाँदा यस्तै क्षमता भएका खेलाडीले हो राष्ट्रिय टिममा स्थान बनाउने,” साफका निम्ति भारत उड्नुअघि प्रशिक्षक उर्जनले बाह्रखरीसँग भने ।
यू–१३ छनोट ‘टर्निङ प्वाइन्ट’
२०७६ मा एन्फाले एकेडेमीमा राख्न यू–१३ खेलाडी छनोट गर्यो । सोही छनोट प्रक्रियाबाट चुनिएका ८१ खेलाडीमा विज्ञान पनि पर्न सफल भए । फुटबल करियरमा विज्ञानका लागि यही छनोट प्रतियोगिता ‘टर्निङ प्वाइन्ट’ बन्यो ।
सुरुमा एन्फाले निकालेको ८१ जनाको सूची विज्ञानले पाएनन्, न त उनको स्थानीय क्लब चिडियादह स्टार क्लबले नै यसबारे केही सूचना पायो । एन्फाबाट ‘तिम्रो नाम छैन’ भन्ने सुनेपछि विज्ञान पनि गाउँ फर्किए । तर, त्यसको केही दिनपछि उनको बुवालाई एन्फाले सम्पर्क गर्दै विज्ञान एकेडेमीका निम्ति छनोट भएको सुनायो ।
“पहिलोपटक छनोटका लागि काठमाडौं आएको, निकै डर लागिरहेको थियो । तर, मसँगै आएका अरू छनोट भएनन् । म पनि नाम छैन भनेपछि फर्किएँ । तर, पछि बाबाले छनोट भएको कुरा सुनाउनुभयो ।”
उनी फेरि काठमाडौं आए । एन्फाले एकेडेमीमा राख्ने भने पनि विभिन्न क्लबसँग सम्झौता गर्दै खेलाडीहरूलाई ‘ए’ डिभिजन लिगका क्लबहरूमा भाग लगाइदियो । विज्ञान न्युरोड फुटबल टिम (एनआरटी)मा परे, जहाँ उनी अहिलेसम्म पनि निरन्तर छन् ।
‘विक्रम गुरुको प्रेरणा’
भोजराज घिमिरे नाम भए पनि रौतहटको चन्द्रपुरमा चिन्नेहरू उनलाई ‘विक्रम गुरु’ भनेर चिन्छन् । विभागीय टोली त्रिभुवन आर्मीका पूर्वखेलाडी भोजराजले पेन्सन अवधि पूरा भएपछि गाउँमै फर्किएर फुटबल सिकाउने निधो गरे ।
बेलुका ४ बजेपछि विक्रमले गाउँकै युवाहरूलाई फुटबल प्रशिक्षण दिन्थे । मैदान नजिकै घर भएका विज्ञानलाई 'दाइहरू'ले खेलेको देख्दा आफूमा पनि फुटबल खेल्ने हुटहुटी जाग्यो । यही उत्साहसाथ उनी पनि मैदान पुग्थे । सुरुमा खाली खुट्टा नै बलको अघिपछि दौडिने विज्ञानले पछि बुटको जोहो गरे । सानैदेखि राम्रो खेल्ने हुँदा उनले गुरु विक्रमबाट पनि विशेष साथ पाए । तर, विज्ञानको फुटबल लगावप्रति घरको अनुमति थिएनन् । अहिले फुटबलरको रूपमा चिनिँदा आफूमा फुटबलर बन्छु भन्ने सोचसम्म नरहेको विज्ञान बताउँछन् ।
“फुटबलर बन्छु भन्ने सोचैकै थिइनँ । तर, मेरो घर नजिकैका मैदानमा फुटबल प्रशिक्षण हुन्थ्यो । दाइहरू खेल्न जानुहुन्थ्यो । त्यो देख्दा म पनि घरबाट लुकीलुकी खेल्न जान्थेँ । विक्रम गुरुले सिकाउनुहुन्थ्यो । गुरु र दाइहरूबाटै फुटबलको आधारभूत ज्ञान पाएँ । तर, बेलुका घर आउँदा बुवाले खुब गाली गर्नुहुन्थ्यो । कुटाइ पनि खाएँ । गुरुले मेरा लागि धेरै गर्नुभयो । गुरु र चिडियादह स्टार क्लबकै साथमा म यहाँसम्म आइपुगेँ,” विज्ञान सम्झिन्छन् ।
गुरु विक्रम पनि विज्ञानले फुटबलमा गरिरहेको प्रगतिप्रति गौरवान्वित छन् । उनी भन्छन्, “ऊ सानैदेखि राम्रो खेल्ने थियो । यसले केही गर्छ भन्ने भावना थियो । अहिले उमेरसमूहको टोलीमा उसको प्रदर्शन पनि राम्रो छ । आफूले हात समाएर ल्याएको केटो अहिले युवा राष्ट्रिय टोलीमा छ । एक प्रशिक्षकको रूपमा मेरा लागि यो नै ठूलो उपलब्धि हो ।”
विज्ञान तीन वर्ष हुँदा नै आमा मेनुका खड्काले रोजगारको सिलसिलामा देश छोडिन् । प्रशिक्षणकै निम्ति अपराह्नमा निस्किँदा बुवाले खेल्दाखेल्दै मैदानमै पुगेर घर लगेको विज्ञानको स्मरणमा ताजै छ ।
तर, राम्रो खेल्न भएपछि यू–१३ को छनोटमा विक्रमले नै विज्ञानको नाम सिफारिस गरे । काठमाडौंसँगै आएका बुवा सन्तोष खड्काले पनि विज्ञानको फुटबल लगावअघि हार माने । बुवाबाट ‘ग्रिन सिग्नल’ पाए पनि आमाले विज्ञानलाई अझै पढाइमै ध्यान दिन सुझाइन् ।
एन्फाबाट एकेडेमीका निम्ति छनोट हुँदा पनि आमाले ‘जानुपर्दैन’ भनेको सम्झिन्छन्, विज्ञान ।
“पहिले ममीले पनि नखेल, पढाइमा ध्यान दिनुपर्छ भन्नुहुन्थ्यो । एन्फा एकेडेमीका लागि छनोट हुँदा ममीले पर्दैन जान पनि भन्नुभयो । तर, पनि म आएँ । दिदी एकदमै सर्पोटिभ हुनुहुन्छ,” उनी भन्छन् ।
एकेडेमी छोडेर भाग्दाको अनुभव
गाउँ छोडेर काठमाडौं आउँदा विज्ञानले कक्षा सातमा थिए, सातको परीक्षा उतैबाट पास गरे । त्यसपछि यता आएर आठ, नौ १० यताबाट पास गरे । सुरुमा काठमाडौं आउँदा विज्ञान यहाँको वातावरणमा घुलमिल हुन सकेनन् । घरको यादले उनलाई खुब सतायो । उनी कीर्तिपुरस्थित ल्याबरोटोरी स्कुलमा होस्टेल बस्थे । त्यही उनको प्रशिक्षण हुन्थ्यो ।
कहिल्यै होस्टेल नबसेका विज्ञानले त्यहाँ आफूलाई अड्याउन सकेनन् । उनी एकेडेमी नै छाडेर भागे । काठमाडौंमै अध्ययनका निम्ति दिदी थिइन् । उनी त्यही पुगे । तर, त्यहाँ आमाले फोन गरेर रुँदै विज्ञानलाई सम्झाइन् । आमा रोएको देख्दा विज्ञानले पनि मन थाम्न सकेनन् । परिवारका निम्ति भए पनि होस्टेल फर्किने निधो गरे ।
उनी भन्छन्, “कहिल्यै एक्लो नबसेको बानी । यहाँ सुरुमा निकै गाह्रो भयो, बस्नै सकिनँ । अनि होस्टेलबाट भागेर दिदीकोमा बस्न गएँ । तर, ममीले फोन गरेर रुनुभयो । ममीका लागि भए पनि फुटबलमै केही गर्छु भन्ने मनमा लिएँ । अनि फेरि होस्टेल फर्किएँ ।”
यू–१७ साफमा गोल गरेपछि रोएँ
भुटानमा गत वर्ष सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा नेपाली टिमले सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेन । समूह चरणमा दुई जित र एक हारसहित समूह ‘बी’को उपविजेता बन्दै नेपाली टिमले अन्तिम–४ को यात्रा तय गरेको थियो । सेमिफाइनलमा भारतसँग ४–२ ले निराश बन्दै नेपाली टिम घर फर्कियो ।
विज्ञानलाई भने यही प्रतियोगिताको एक गोल अविस्मरणीय बन्न पुग्यो । सोच्दै नसोचेको यात्राबाट युवा राष्ट्रिय टिममा स्थान बनाएका विज्ञानले समूह चरणमा श्रीलंकाविरुद्ध एक गोल गरे । भुटानमा श्रीलंकाविरुद्ध ४–० को सहज जित निकाल्दा नेपालबाट विज्ञानले ८४औँ मिनेटमा गोल गरेका थिए ।
सुजन ढंगोलले १८ यार्ड बक्स बाहिरबाट निकालेको ‘थ्रू’ पासमा विज्ञानले ‘चिप’ गर्दै बललाई जाली चुमाए । यो प्रहारपछि विज्ञान केहीबेर बललाई एकटकले हेर्दै बसिरहे । बलले जाली चुमेपछि उनी दौडिँदै कर्नर क्षेत्रमा पुग्छन् र दुई घुँडा टेक्दै रुन थाल्छन् । उक्त भावुक क्षणबारे बाह्रखरीसँगको कुराकानीमा विज्ञान यसरी बेलिविस्तार लगाउँछन् ।
“हाम्रो जस्तो ठाउँबाट राष्ट्रिय टिममा खेल्नु नै ठूलो कुरा हो नि । राष्ट्रिय टिमबाट गोल गर्नु नै मेरा लागि अहिलेसम्मको ठूलो उपलब्धि हो,” उनले भने, “पहिलो गोल गरेपछि म मैदानमै लडेँ अनि रोएँ । मैले आफूलाई सम्हाल्नै सकिनँ । सपना थियो नि राष्ट्रिय टिमबाट गोल गर्नु । साथीहरूले आएर मलाई उठाए । म बिर्सिनै सक्दिनँ त्यो पल ।”
आदर्श खेलाडी मेसी, घरेलु फुटबलमा अञ्जनबाट प्रभावित
विश्व फुटबलमा अर्जेन्टिनी स्टार लियोनल मेसीको प्रदर्शनले विज्ञानलाई खुब लोभ्याउँछ । मेसीबाट प्रभावित उनको प्रदर्शन पनि उस्तै छ । मिडफिल्डमा बलमाथि नियन्त्रण राख्न होस् वा अघि बढेर गोल र असिस्ट गर्न, विज्ञान यी तीनै क्षेत्रमा विपक्षीलाई ‘बिट’ गर्न माहिर छन् । विंगरमा उनलाई फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेको खेल मन पर्छ । घरेलु फुटबलमा भने उनी फरवार्ड अञ्जन विष्टलाई पछ्याउँछन् ।
“अञ्जन दाइकै खेल हेर्दै आएको हुँदा नेपाली फुटबलरहरूमा उहाँ नै राम्रो लाग्छ । अन्तर्राष्ट्रियमा भने मेसीको खेल्ने शैली राम्रो लाग्छ । मिडदेखि ड्रिबल गरेर गोल गर्न सक्ने मेसीको स्किलबाट प्रभावित छु,” उनी भन्छन् ।
अबको लक्ष्य– राष्ट्रिय टिम
सुरुआती दिनमा फुटबल खेलेकै कारण घरको चर्को गाली खाएका विज्ञान अब भने ढुक्क छन् । फुटबलमा हासिल गरेका यी उपलब्धिले घरमा पनि विज्ञानलाई कुनै रोकतोक छैन । पछिल्लो चार वर्षयता एनआरटी एकेडेमीमा निरन्तर प्रशिक्षण गरिरहेका विज्ञान अहिले घरबाटै पनि ‘फुटबलमा ध्यान दे’ भनेको सुन्दा उमंगित हुन्छन् । उमेरले १७ वर्षमात्रै लाग्दै गरेको विज्ञान आफैँलाई पनि अझै परिपक्व भएजस्तो लाग्दैन ।
“अझै धेरै सिक्न बाँकी नै छ नि,” भन्दै गर्दा उनी सिनियर राष्ट्रिय टिमको यात्रा तय गर्नेमा भने दृढ छन् ।
“पर्छु जस्तो लाग्छ । आफूमा त्यो विश्वास छ । मेहनत गरेपछि त कसो नपरिएला र हैन । राष्ट्रिय टिममा पर्नु कठिन हुन्छ भन्ने पनि थाहा छ । तर, मेहनतले त्यसलाई सजिलो बनाउछ भन्ने विश्वास लिएको छु,” आगामी लक्ष्यबारे विज्ञानले भने ।