site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
‘भाइरल’हरू सेलिब्रिटी : सामाजिक सञ्जालको साथ 

काठमाडौं । बितेको १० वर्षलाई ‘भाइरले दशक’ भन्दा हुन्छ । टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमा स्वतन्त्र अभिव्यक्तिसँगै धेरै व्यक्ति ‘भाइरल’ भए ।

एन्ड्रोइड मोबाइल र इन्टरनेटको सहज पहुँच र विस्तारसँगै सामाजिक सञ्जालमा नेपाली जोडिने क्रमले तीव्रता पाएसँगै नयाँनयाँ पात्रहरू भाइरल संसारमा देखापरे । तिनलाई सस्तो हुँदै गएको इन्टरनेट र सामाजिक सञ्जालले साथ दियो ।

अब त भाइरल सूची लामो भइसकेको छ । कोही निरन्तर ‘भाइरल’ छन्, कोही हराउँदै गएका छन् । कोही गीत गाउँदै ‘भाइरल’ भए भने कोही ‘उत्ताउलो हर्कत’का कारण ।

Dabur Nepal
NIC Asia

अशोक दर्जीदेखि आशिका तामाङसम्म भाइरल भए । यसरी कमला घिमिरे, सचिन परियार, भेलु बाजे, अंश वर्मा, आयुषसिंह ठकुरी, पुण्य गौतम, मिस पबीलगायत दजनौँ व्यक्ति भाइरल दुनियाँमा उदाए ।

नरेश पातली, झक्कड थापा, अघोरी बाबा (विजय केसी), हरि पराजुली भाइरल भए । ‘सागर किस्ने वसन्ते’, नवराज रेगी (मिदी), ऋषि धमला, दुर्गा प्रसाईं, विजय शाही, अर्चना पनेरु, शर्मिला वाइवालगायत थुप्रै व्यक्ति भाइरल भए ।

भाइरल हुनुका कारणमा व्यक्तिको सुन्दरतादेखि गायन क्षमतासँगै रमाइला, हास्यास्पद तथा सस्ता अभिव्यक्ति बने । कमजोर गायन क्षमता तर त्यसप्रतिको रहरका कारण झक्कड थापा र नरेश पातली सामाजिक सञ्जालमा भाइरल भए ।

नरेश पातलीले ‘नेपाल आइडल’को सिजन–२ मा ‘ऊ जितेर गई या हारेर गई...’ बोलको गीत गाएका थिए । गीतमा सुरताल केही नभएपछि उनी हाँसोको पात्र मात्र भएनन्, सामाजिक सञ्जालमा भाइरल भए ।

तर, उनी यति धेरै भाइरल भए कि नरेशलाई त्यही चर्चाको फैलावटले काठमाडौंसम्म ल्याइपुर्‍यायो । हास्यटेलिशृंखला ‘भद्रगोल’मा नै अभिनय गरे । 

० ० ०

नेपाल आइडलबाटै भाइरल हुनेमा अर्का व्यक्ति हुन्, झक्कड थापा । नेपाल आइडलको सिजन–१ बाट उनी भाइरल भएका थिए ।

दैलेखका झक्कडले ठाडी भाका गाएका थिए । तर, गलाले सुर नसमाएपछि उनी भाइरल भने । भाइरल भएकै कारण झक्कड काठमाडौं आए । उनले पनि हास्यटेलिशृंखला ‘भद्रगोल’मा अवसर पाए । अभिनय गरे ।

० ० ०

गाएरै भाइरल भएका अर्का व्यक्ति हुन्, अशोक दर्जी । झापाका सडकमा गीत गाउँदै हिँड्ने अशोकले गाएको गीत युट्युबमा भाइरल भएपछि उनका दिन फर्किए ।

गायक तथा संगीतकार टंक बुढाथोकीले काठमाडौं ल्याए । सँगै राखेर गीत रेकर्ड गराइदिए । ‘मनबिनाको धन’ अशोकको स्वरमा रेकर्ड भयो । यो गीत निकै लोकप्रिय बन्यो । अशोकले चलचित्र खेल्ने चर्चा चलेको पनि धेरै भयो । तर, यो हल्लामै सीमित भइरहेको छ ।

अशोकको पढाइ, उनको घर निर्माण र यसका लागि सहयोेगलगायत विषय लामो समय चर्चामा रहे । उनीसँगै टंक बुढाथोकीले पनि चर्चा बटुलिरहे ।

० ० ०

गएको १० वर्षमा भाइरल हुने क्रम रोकिएन । एकपछि अर्को व्यक्ति भाइरल भइरहे । यस्तै भाइरल हुनेमा कमला घिमिरे पनि पर्छिन् । अग्रज र व्यावसायिक रूपमा सफल र अब्बल कलाकारसँग सानो उमेरमै लाइभ दोहोरी गाउन सक्ने अद्वितीय क्षमताका कारण कमला भाइरल भइन् । 

धादिङकी कमलाले नेपाली लोकदोहोरीका नाम चलेका एक से एक गायक–गायिकासँग लाइभ दोहोरी गाएपछि चर्चामा रहिन् । दोहोरीमा गीत गाइन् । गीत रेकर्ड गराइन् ।

कमला भाइरल भएर केही समयमा हराइनन्, गायनमा स्थापित भइन् । उनी गायनमै सक्रिय छिन् ।  कमला अब अभिनयको तयारीमा छिन् । उनले चलचित्र ‘माइली’मा अभिनयका लागि साइन गरिसकेकी छन् । 

० ० ०

भाइरल भएका अर्का व्यक्ति हुन्, गुल्मीका सचिन परियार । सामाजिक सञ्जालमा ‘के छ हजुर’ भन्ने वाक्य भाइरल भएको थियो । उनी पनि काठमाडौं आए । गीत रेकर्ड गराए । उनका केही गीत औसत चले पनि ।  

सुरुमा ‘के छ हजुर’ भन्दै भाइरल भएका सचिनले सञ्चारमाध्यमा राम्रै स्थान पाए । नायक राजेश हमालसँग उनले म्युजिक भिडियोमा अभिनय समेत गरे । 

उनी भाइरल भएको केही समयपछि बिरामी परे । लगातार बिरामी भएपछि उनी सञ्चारमाध्यमबाट केही समय छायामा परे । योबीचमा उनका बुवा तेजेन्द्र परियार (कलौटे) चर्चामा आए । सुरुमा छोराको कमाइ खाएको, राम्रो संस्कार नदिएको र नपढाएको भन्दै आलोचित उनले म्युजिक भिडियोमा पनि काम गरे । युट्युबमा उनका अन्तर्वार्ता भाइरल भए ।

सचिन बिरामी भएपछि उनले उपचारका लागि भन्दै ठूलो रकम सहयोगस्वरूप उठाए । रकम उठाएर मादकपदार्थ सेवन गर्ने तर छोराको उपचार नगरेको भन्दै तेजेन्द्रको आलोचना भयो । ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘वरको छायाले’लगायत गीत गाएका सचिनले ‘मेरी बास्सै’मा अभिनय पनि गरे । गएको पुस १८ गते १३ वर्षको उमेरमा सचिनको निधन भयो ।  

० ० ०

०७० को प्रारम्भतिर भाइरल भइन्, गोरखाकी कुशुम श्रेष्ठ । ‘तरकारीवाली’का रूपमा उनी भाइरल संसारमा उदाइन् । डोकामा तरकारी बोकेर बजार गइरहेको तस्बिर सामाजिक सञ्जालमा आएपछि उनी भाइरल भएकी थिइन् ।

उनलाई धेरै सञ्चारमाध्यमले पछ्याए । कुशुमको चर्चालाई नेपाली सिनेमा उद्योगमा ‘क्यास’ गर्न खोजियो । चलचित्र ‘लम्फू’मा उनले अभिनय नै गरिन् । तर, यो चलचित्र व्यावसायिक रूपमा सफल हुन सकेन । पछिल्लो समय कुशुम चर्चामा छैनन् । 

० ० ० 

ठट्यौली शैलीका कारण सामाजिक सञ्जालमा भाइरल भए, मीनबहादुर बुढामगर (भेलु बाजे) । बोलीमा लगाम नभएकै कारण उनी सामाजिक सञ्जालमा भाइरल भइरहे । 

‘पपुलारिटी’कै कारण उनले गीत गाए । टेलिचलचित्रमा काम गरे । प्युठानका भेलु बाजे एमाले नेता सूर्य थापाको चुनावी प्रचारमा सहभागी भएपछि थप भाइरल भए । श्रीमतीको निधन भएपछि उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए । यही वर्षको वैशाख २० गते उनको निधन भयो ।

० ० ०

०७० को दशकको सुरुमा भाइरल भएकी पात्र हुन्, अर्चना पनेरु । कञ्चनपुरकी अर्चना ‘पोर्न स्टार’ बन्छु भनेर भाइरल भएकी थिइन् । यही कारण उनलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

उनको यो चर्चालाई ‘क्यास’ गर्ने प्रयास नेपाली सिनेमाका मेकरले गरे । ‘पोर्न स्टार बन्छु’ बन्ने चर्चा सेलाउन नपाउँदै उनले चलचित्र ‘छेस्को’मा काम गरिन् । तर, अचर्नाको चर्चा र गसिपले ‘छेस्को’लाई बक्सअफिसमा चलाउन सकेन ।

समय बित्दै जाँदा उनको चर्चा पनि सेलायो । अचेल उनी गुमनाम छिन् । 

० ० ०

शर्मिला वाइवा यो दशककी अर्की भाइरल पात्र हुन् । सामाजिक अभियन्ता बताउने उनले आफू पत्रकार ऋषि धमलासँग सम्बन्धमा रहेको भनेपछि सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । यही आरोपसँगै ऋषि धमला ‘काजुकाण्ड’ भन्दै जोडिए ।

कतिपय कमेडी शोहरूमा ऋषि धमलालाई काजुसँग जोडेर व्यंग्य गरेको पाइन्छ । पछि शर्मिलालाई प्रहरीले पक्राउ गर्‍यो । अचेल उनी चुपचाप प्रायः छिन् । 

० ० ०

दीपाश्री निरौला पनि कोरोनाको लकडाउनको सेरोफेरोमा भाइरल बनिन् । यसलाई धेरैले ‘महानायककाण्ड’ भनेर चिन्छन् । 

लकडाउनमा राजेश हमालले चलचित्र प्राविधिकलाई आर्थिक तथा खाद्यान्न सहयोग नगरेको दीपाश्रीले एक टेलिभिजन अन्तर्वार्तामा बताएकी थिइन् । त्यसपछि राजेशका फ्यानले सामाजिक सञ्जालमा दीपाश्रीको चर्को आलोचना गरे । 

दीपाश्रीलाई मात्र होइन, उनीसँग टेलि र कथानक चलचित्रमा लामो समयदेखि सहकार्य गर्दै आएका दीपकराज गिरीलाई पनि राजेशका फ्यान तथा शुभेच्छुकले गाली गरे । दीपकको आलोचना गर्नुपरे अझै पनि उनलाई ‘महानायक’ भन्ने धेरै छन् ।

केही समय दीपकले आफूलाई ‘महानायक’ भनेर टिप्पणी गर्नेलाई फेसबुकमा ‘ब्लक’ गर्ने बताएका थिए । 

० ० ० 

कालीकोटका विजय शाही पछिल्लो दशक भाइरल हुने व्यक्तिमध्ये अर्का एक पात्र हुन् । आफूलाई ‘मेमोरी किङ’ बताउने उनी यही कारण भाइरल भए । एकपटक कुनै पुस्तक सरर्र पल्टाएपछि त्यसको कुन पेजमा के छ नहेरी सबै भन्न सक्छु भन्ने दाबी गरेकै कारण उनी भाइरल भएका हुन् । 

सामाजिक सञ्जाल मात्र होइन, उनी ठूलै सञ्चारमाध्यममा पनि छाए । अग्रज पत्रकारका टक शोमा पनि उनले ठाउँ पाए ।

तर, अन्ततः उनी झुटो भएको पत्ता लाग्यो । झुटो भएको प्रमाणित भएसँगै शाही काठमाडौंबाट कालीकोटै पुगे । उनको मृत्यु भएको खबर उनकै फेसबुकबाट आयो । त्यसपछि उनलाई खोज्दै प्रहरी उनको घरमा पुग्यो । त्यहाँ उनी जीवित भेटिए ।

० ० ०

०७० को दशकमा लामो समय सामाजिक सञ्जाल र युट्युबमा भाइरल हुने अर्का पात्र हुन्, अघोरी बाबा (विजय केसी) । ‘ट्याकर ट्याकर र लाइफ ड्यामेज’ भन्दै उनले दुई वर्षभन्दा धेरै समय युट्युबमा अन्तर्वार्ता दिए ।

उनको अन्तर्वार्ता लिएर धेरै युट्युबरले थुप्रै पैसा कमाए । उनले पनि पैसा लिएर मात्र अन्तर्वार्ता दिन थालेका थिए । उनले विवाह गरेको कुरा झन् धेरै भाइरल बन्यो । शारदा पाण्डेसँग विवाहले सामाजिक सञ्जाल गर्माएको थियो । अन्ततः उनीमाथि ठगीको आरोप लाग्यो । 

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गर्‍यो । उनको चर्चा सामसुम भइसकेको छ । 


० ० ० 

०७२ असार १५ गते धान दिवस थियो । कृषक धान रोपाइँमा व्यस्त थिए । कलाकार पनि धान रोपाइँ र हिलो खेल्नमा मस्त थिए ।  तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुली पनि धान रोपाइँमा पुगे । हिलो खेल्ने क्रममा महिलामाथि अश्लील व्यवहार देखाएपछि उनी सामाजिक सञ्जालमा भाइरल भए । तीव्र आलोचनासँगै उनको मन्त्री पद गुम्यो । 

० ० ०

म्यादी प्रहरीको ड्रेस लगाएर टिकटक बनाएकै भरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी भाइरल भए ।

स्थानीय तह चुनावमा उनको फुपूका छोरा म्यादी प्रहरीमा भर्ना भएका थिए । रेग्मीले त्यही पोसाक लगाएर टिकटक बनाए । म्यादी प्रहरीको पोसाक लगाएर उनले टिकटक बनाए, ‘सागर, बसन्ते, किस्ने ! सबहरू नडरा के केटा हो, तेरो दाइ मिदी भइसकेको छ ! मिदी...मिदी... मिदी...।’

यही टिकटकका कारण उनी भाइरल बने । तर, उनका लागि यो निकै महँगो पर्‍यो । पोसाक दुरुपयोग गरेको भन्दै उनलाई प्रहरीले पक्राउ समेत गर्‍यो ।  ‘सागर, बसन्ते, किस्ने’ रौतहटमा निर्वाचनको एक बुथबाट मतपेटिका चोरेर खेतैखेत कुदाउने व्यक्ति हुन् । यो भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसैलाई लक्षित गर्दै रेग्मीले टिकटक बनाएका थिए ।

यति बेला फेरि तिनै रेग्मीको टिकटक भाइरल भइरहेको छ । आफू तारे होटेलको बार टेन्डर भइसकेको भन्दै उनले बनाएको टिकटक भाइरल भइरहेको छ । ‘सागर, बसन्ते, किस्ने – तेरो दाइ बारटेन्डर भइसक्यो’ भन्दै उनले टिकटक बनाएका छन् । 

० ० ०

०८० को दशकको प्रारम्भमा भाइरल हुने पात्र हुन्, आशिका तामाङ । आफूलाई सामाजिक अभियन्ता बताउने तामाङले समाजमा राजनीतिक, सामाजिक तथा प्रशासनिक बेथिति र अराजकता रहेको भन्दै गाउँगाउँ पुगेर त्यसको आलोचना गर्न थालिन् ।

समाजमा अराजकता र बेथिति रहेको भन्दै उनी स्वयं अराजक भइन् । कानुन र प्रशासन हातमा लिने प्रयास गर्दै अराजकताको पराकाष्ठा नाघिन् । धादिङ घर भएकी उनी जर्मनीमा बस्थिन् । केही समयता नेपाल फर्कंदै अनौठा हर्कत गर्न थालेपछि अन्ततः सरकारले उनलाई पनि नियन्त्रणमा लियो । 

अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट १० हजार र आपराधिक उपद्रव कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट उनी २० हजार रुपैयाँ धरौटीमा रिहा भइन् । यसबीचमा उनी १६ दिन प्रहरी हिरासतमा रहिन् ।

० ० ० 

तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुर्गा प्रसाईंले जुम्ली मार्सी चामलको भात खुवाएको तस्बिर ७० को दशकको भाइरलमध्येको एक हो । उक्त तस्बिरसँगै प्रसाईं पनि भाइरल भए ।

झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक समेत रहेका उनी यो दशकभरि चर्चाको केन्द्रमा रहे । कहिले ऋण मिनाहाको अभियान, सुनको लौरो उपहार र लगामबिनाको बोलीका कारण उनी सामाजिक सञ्जालमा भाइरल भइरहे । अराजकताले सीमा नाघेपछि अन्ततः उनलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

० ० ०

टिकटकबाट भाइरल हुनेको संख्या पनि पछिल्लो समय कम छैन । छोटो भिडियोमा रमाउनेहरूका लागि टिकटक गजबको प्लेटफर्म बनेर आउँदा यसबाट भाइरल हुनेको संख्या पनि बढ्यो ।

त्यस्तैमध्येकी हुन्, डडेलधुराकी मिस पबी (पवित्रा साकी) । ‘ए मम्मी, मेरा त हिट्टा हिट्टा खुट्टा थगिगया भन्या ब..’ भनेर आमालाई जिस्काउँदै बनाएको उनको टिकटक लाखौँले हेरेका थिए । उनी टिकटक स्टार नै भइन् ।

भाइरल भएर केही समयमै नहराउने थोरैमध्येकी उनी एक हुन् । टिकटकमा भाइरल भएकै कारण उनले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाइन् । ‘मेरी बास्सै’लगायत टेलिचलचित्रमा काम गरिन् ।  मिस पबी ‘कमेडी दरबार’ नामक टेलिभिजन शोमा पनि छिन् । उनले भाइरल भएरै कला क्षेत्रमा करिअर सिफ्ट गरिन् । 

० ० ०

टिकटकबाट भाइरल भएका अर्का व्यक्ति हुन, आयुषसिंह ठकुरी । अछामका आयुष भाइरल मात्र भएनन्, यही माध्यमबाट उनले पैसा पनि कमाए ।

आयुषले टिकटकबाटै चिनजान भएकी पाकिस्तानी टिकटकर अलिजेह जमालीसँग विवाह गरे । उनीहरूले घर किनेको, आमासँगको विवाद र टिकटक अकाउन्ट ब्यान्ड भएको कुरा पनि भाइरल बन्यो । आयुष मूलधारका मिडियामा पनि राम्रो स्थान पाउने टिकटकर हुन् ।

० ० ०
अर्का भाइरल हुन्, अंशु वर्मा । उनी टिकटकबाट भाइरल भएका थिए । उनले टिकटकबाटै ‘लाइफ सेटल’ गरे ।  टिकटकबाटै कमाएको पैसाले उनले समाजसेवा समेत गर्न भ्याए । जाजरकोट भूकम्पमा उनले पीडित परिवारलाई खाद्यान्न सहयोग गरेका थिए । टिकटकमा लाइभ बसेरै भाइरल हुनेमध्येका उनी एक हुन् । 

० ० ०

आफूलाई अभियन्ता बताउने पुण्य गौतम पनि पछिल्लो दशकमा भाइरल हुने पात्रमध्ये एक हुन् । युट्युबर बोलाएर विभिन्न ठाउँ जाने र अन्तर्वार्ता दिँदै हिँड्ने उनी यही कारण भाइरल भए । यसबाहेक उनी टिकटकमा लाइभ बसेर गिफ्ट मागेका कारण भाइरल बनेका पात्र हुन् । आफूलाई बौद्धिक व्यक्ति मान्ने पुण्यले सुरुसुरुमा राम्रै स्थान समेत पाए । तर, बोलीमा लगाम नहुँदा उनी भाइरल भए ।

उनी आक्रमणमा पनि परे । पछिल्लो समय उनी सामाजिक सञ्जालमा सुरुसुरुमा जस्तो भाइरल छैनन् ।

नेपालीमा एउटा चर्चित उखान छ– बाँदरका हातमा नरिवल । यो आहानलाई व्याख्या अर्को उखान छ– माल पाएर के गर्नु, चाल पाए पो ! हो, नेपालीका लागि ठ्याक्कै यस्तै भयो सही सदुपयोग नगर्दा सामाजिक सञ्जाल । 

सदुपयोग गर्नेहरूका लागि सामाजिक सञ्जाल बरदान भयो । रोजीरोटीको जोहो गर्ने माध्यम बन्यो । व्यापार व्यायवसायको विज्ञापन गर्ने उपयुक्त थलो भयो । आफ्नो ज्ञान र प्रतिभा उजागर गरेर लाखौँ/करोडौँ माझ एकैपटक पुग्ने साधन बन्यो । तर, चाल नपाउनेहरूका लागि माथि उल्लेख भएका दुईवटा उखान । 

नरेश पातली र झक्कडलगायत हाँसोको पात्र बने । अघोरी बाबा र आशिका तामाङलगायत लागि प्रहरी हिरासतसम्म पुग्ने माध्यम नै यही सामाजिक सञ्जाल बन्यो । पुन्य गौतमजस्ताका लागि आक्रमणको बिउ रोप्ने साधन बन्यो । आखिर यसको जड सामाजिक सञ्जाल नै त हो । 

यद्यपि, सामाजिक सञ्जालमा प्रवेश गरेकै कारण मात्रै उनीहरू कोही हाँसोको पात्र, कोही प्रहरी हिरासत र केही आक्रमणको शिकार बनेका होइनन् । यो माध्यमलाई चिन्न नसकेर दुरुपोग गर्दै जाँदाको नतिजा हो । 

सामाजिक सञ्जालमा आउने लाइक, भ्युज र कमेन्टबाट हौसिएर संयमता गुमाउँदाको परिणाम हो । संयमता अपनाउने र महत्व बुझ्नेहरू कतिका लागि सामाजिक सञ्जाल नै जिन्दगीको ‘टर्निङ पोइन्ट’ बनेको छ । कतिको ‘करिअर’ उचालिएको छ । कतिका लागि आफ्नो प्रतिभा चिन्ने माध्यम बनेर ‘करिअर सिफ्ट’ भएको छ । जुन माथि उल्लेख गरिएका व्यक्तिलाई अध्ययन गरेमात्र पुग्छ । 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro