site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल : समृद्धिको बाटो कि (अ)सामाजिक ?

काठमाडौं । सुरुआत समयमा सामाजिक सञ्जाल साथीभाइ एवं परिवारसँग जोडिने माध्यम थियो । अब यी सूचनाको स्रोत, व्यापारको प्लेटफर्मदेखि राजनीतिक बहसका मञ्च बनेका छन् ।

सँगै सामाजिक सञ्जाल सूचना आदानप्रदान, सामाजिक सम्बन्धदेखि मानिसको दैनिक जीवनमा आमूल परिवर्तनको औजार बनिरहेको छ । 

पछिल्लो दशकमा संसार सामाजिक सञ्जालको ‘कनेक्टिभिटी’मा पुगेको छ । १० वर्षअघि नेपालको सन्दर्भमा यो परिदृश्य थिएन । किनभने, यतिखेरजस्तो इन्टरनेट, इन्टरनेटका माध्यम एवं स्मार्टफोनको सहज पहुँच थिएन ।

Dabur Nepal
NIC Asia

हाल विश्वमा पाँच अर्बभन्दा बढी जनसंख्याले सोसल मिडिया प्रयोग गर्ने ‘रिपोर्टल्स’को तथ्यांक छ । नेपालमा यो संख्या करिब डेढ करोड छ । सामाजिक सञ्जालका माध्यमबाट क्षणभरमै पृथ्वीको जुनसुकै कुनामा रहेका आफन्त, साथीसँग कुराकानी गर्न सकिन्छ ।

विश्वभरका घटनाक्रम एकछिनमै थाहा पाउन सकिन्छ । नयाँ प्लेटमर्फसँग पनि इन्टरनेटले एकछिनमै जोडिदिन्छ । नेपालमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालमा फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब, एक्स, लिंक्डइन, ह्वाट्सएप, भाइबर, टेलिग्राम, स्न्यापच्याट, थ्रेड्स, पिन्ट्रेस्ट, रेडइट, मास्टडनलगायत छन् ।

यी माध्यमबाट आफ्नो पेसा, व्यवसाय सञ्चालन गर्नेको संख्या पनि ठूलो छ । कतिपयले सामाजिक सञ्जालबाट रोजगारी पाएका छन् । कतिले यसको प्रयोग गरेर आयस्रोतको माध्यम बनाएका छन् ।

यसको नकारात्मक पक्ष पनि छ । सामाजिक सञ्जालबाट गलत सूचना र घृणित अभिव्यक्ति फैलाएर समाजमा विभाजन ल्याउने चिन्ता बढ्दो छ । साइबर आक्रमण, अपराधदेखि मानसिक स्वास्थ्यमा समेत यसले नकारात्मक असर पारिरहेको छ ।

पछिल्लो १० वर्षमा सामाजिक सञ्जालको विकासका उपलब्धि र हानिलाई अनेक कोणबाट हेर्न सकिन्छ ।

अर्थतन्त्रमा सोसल मिडिया

चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्सको मुख्य कम्पनी मेटाले सन् २०२४ भरि १६४.५० अर्ब अमेरिकी डलर आम्दानी गर्‍यो । यो अघिल्लो वर्षको तुलनामा करिब २२ प्रतिशतले धेरै हो ।

यसमध्ये मेटाले केही अर्ब डलर आफ्ना ‘कन्टेन्ट क्रिएटर’लाई दिन्छ । कम्पनीले सन् २०२२ मा करिब दुई अर्ब अमेरिकी डलर कन्टेन्ट क्रिएटर दिएको जनाएको थियो ।

सानो बजार र आम्दानी भए पनि नेपालमा धेरै प्रयोगकर्ताले फेसबुक तथा इन्स्टाग्राममा ‘मनिटाइज’ भएर आम्दानी गर्छन् । फेसबुक प्लेटफर्मममा सामग्री बिक्री–वितरण गर्नेदेखि फ्यान फ्लोअर्सका आधारमा पनि कतिपय कन्टेन्ट क्रिएटरले आफ्ना लागि राम्रो अवसर सिर्जना गरेका छन् ।

यस्तै, अल्फाबेटको भिडियो सेयरिङ प्लेटमर्फ युट्युबले सन् २०२४ मा करिब ३६ अर्ब अमेरिकी डलर आम्दानी गर्‍यो । यसमध्येको केही अर्ब युट्युबले आफ्ना क्रिएटरलाई दिन्छ । छोटा भिडियो सेयरिङ प्लेटफर्म टिकटकको वास्तविक आम्दानी सार्वजनिक छैन । उसले पनि विश्वभरबाट अर्बाैं डलर आम्दानी गर्छ । यसले पनि आफ्ना क्रिएटरलाई करोडौँ डलर दिने गर्छ ।

यसबाहेक टिकटकमा प्रयोगकर्ताले पैसा लोड गरी अरूलाई दिन सक्ने हुँदा धेरैले आफ्ना फ्यान फलोअर्सबाट लाखौँ रुपैयाँ कमाउने गरेका छन् । टिकटकबाट उत्पादनको ‘प्रमोसन’ गरेर पनि कैयौँले आफ्नो व्यवसाय सञ्चालन गरेका छन् ।

टिकटकमा कैयौँ प्रयोगकर्ताले कन्टेन्ट बनाएर यसलाई आफ्नो आयस्रोतको माध्यम बनाउँदै अवसरका रूपमा प्रयोग गरेका छन् ।

इन्स्टाग्रामलाई पनि कैयौँ प्रयोगकर्ताले अवसरका रूपमा प्रयोग गरेर आम्दानीको स्रोत बनाएका छन् । यीलगायत सामाजिक सञ्जाल प्रयोग गरी कैैयौँले आफ्नो व्यवसाय चलाएर, सामग्री एवं ब्रान्डको प्रवर्द्धन गरेर, कन्टेन्ट बनाएर र अरू अवसर सिर्जना गरेर आर्थिक गतिविधि गरेका छन् ।

सञ्चार, सम्पर्कको माध्यम

सामाजिक सञ्जालको माध्यमबाट मानिसले सहजै विश्वको जुनसुकै कुनामा रहेका आफ्ना मान्छेसँग एकछिनमै र सहजै कुरा गर्न सक्ने भएका छन् । करिब १० वर्षअघि नेपालमा ‘भ्वाइस कल’ सेवा सहज थिएन । पछिल्लो १० वर्षमा भने सामाजिक सञ्जालका माध्यमले मोबाइल भ्वाइस कल सेवा विस्थापित गर्ने स्थिति बनेको छ ।

ह्वाट्सएप, भाइबर, म्यासेन्जरलगायत कल एवं म्यासेजिङ प्लेटफर्मले सञ्चार र सम्पर्कको पाटोलाई निकै सहज बनाएको छ ।

सूचनामा सहज पहुँच

सामाजिक सञ्जालका माध्यमबाट प्रयोगकर्ताले सहजै र क्षणभरमै सूचना प्राप्त गर्न थालेका छन् । १० वर्षअघि नेपालमा रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता माध्यम सूचनाका प्रमुख स्रोत थिए ।

हाल सञ्चारमाध्यम, खासगरी डिजिटल सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत पनि सूचना प्रवाह गर्छन् । यसरी सञ्चारमाध्यम, सरकारी निकाय, सम्बन्धित अधिकारी र आममानिसले सामाजिक सञ्जालबाटै सूचना प्रवाह गर्दा यसमा सबैको पहुँच सहज बनेको छ ।

राजनीति र जनधारणामा परिर्वतन

सामाजिक सञ्जालको विकासले आममानिसको धारणामा महत्त्वपूर्ण प्रभाव पारेको छ । प्रयोगकर्ताले सामाजिक सञ्जालबाट पाउने सूचना र जानकारीकै आधारमा आफ्नो धारणा बढाउने क्रम बढेको छ । उक्त सूचना वा जानकारी तथ्यपरक भए÷नभएतर्फ प्रयोगकर्ताले ध्यान नदिईकन धारणा बनाउँदा गलत प्रभाव पनि परेको छ ।

सन् २०२२ को अन्त्यतिर अमेरिकाको प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा विश्वका १९ देशका ५७ प्रतिशत मानिसले सामाजिक सञ्जाल लोकतन्त्रका लागि राम्रो पक्ष भएको बताएका उल्लेख छ ।

तर, अध्ययनमा संलग्नमध्ये ८४ प्रतिशतले यस किसिमको प्रविधिको विकासले भ्रामक सूचना फैलाउन र ‘म्यानुप्लेट’ गर्न सजिलो बनाएको बताएका थिए ।

उक्त अध्ययनको महत्त्वपूर्ण निष्कर्ष सामाजिक सञ्जालले राजनीतिक धारणा परिवर्तन गरिरहेकामा विश्वास गर्ने बढी थिए । अध्ययनमा संलग्नमध्ये ६५ प्रतिशतले सामाजिक सञ्जालले राजनीतिक धारणा परिवर्तन गराइरहेको भनेका थिए ।

नेपालमा पनि यस किमिसको अवस्था देखिन्छ । पछिल्लोपटकको स्थानीय तय र संघीय निर्वाचनमा कतिपय उमेदवार सामाजिक सञ्जालको अथाह प्रयोग गरी राम्रो प्रभाव जमाउँदै जनप्रतिनिधि चुनिन सफल भए ।

उमेदवार र समर्थकले सामाजिक सञ्जालमा डलर खर्च गरी विज्ञापन समेत गर्न भ्याए । त्यसले मुलुकको पुँजी पलायन पनि गरायो । यसबाहेक सामाजिक सञ्जालबाट मानिसले सामाजिक मुद्दा र आफ्नो आवाज सहजै उठाउन सक्ने भएका छन् । यसले समाजको विकास र आममानिसमा चेतनाको स्तर बढाउन मद्दत गरेको छ ।

सामाजिक सञ्जालको विकासले कनेक्टिभिटी, सूचना आदानप्रदान, सचेतना, आर्थिकलगायत विषयमा महत्त्वपूर्ण भूमिका खेले पनि यसको नकारात्मक पाटो डरलाग्दो बन्दै गएको छ ।

साइबर अपराध र आक्रमण

सामाजिक सञ्जालबाट हुने साइबर अपराध र आक्रमणका घटनाको ग्राफ बढ्दो छ । चालु आर्थिक वर्षमा माघसम्म नेपाल प्रहरीको साइबर ब्युरोमा १० हजारभन्दा बढी उजुरी परिसकेको प्रवक्ता एवं एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८÷०८१ मा यो संख्या १९ हजार ७३० थियो । साइबर ब्युरोमा आर्थिक वर्ष २०७९÷०८० मा नौ हजार १३ निवेदन परेका थिए । ०७८÷०७९ मा चार हजार ६८६ उजुरी त्यहाँ दर्ता गरिएको थियो ।

यसमा ठगी, साइबर आक्रमण, अपराधलगायत घटना रहेको ब्युरोका प्रवक्ता अवस्थीको भनाइ छ ।

भ्रामक सूचना, सामाजिक र राजनीतिक असर

सामाजिक सञ्जालबाट भ्रामक सूचना, विकृति र राजनीतिक ‘प्रोपोगान्डा’ फैलाउनेजस्ता नकारात्मक गतिविधि पनि बढ्दै गएको छ ।

राजनीतिक नेतृत्वमा रहेका व्यक्तिका फरक सन्दर्भका भिडियो क्लिप, सामाजिक सञ्जालका पोस्ट, डिपफेक भिडियो तथा एडिट गरिएका तस्बिर फरक सन्दर्भमा जोडेर फैलाउने क्रम बढ्दो छ । यसरी तथ्यहीन, भ्रामक र गलत सूचनाका आधारमा सामाजिक द्वन्द्व एवं राजनीतिक विभाजन गर्ने गरी जनधारणा परिवर्तन हुन थालेको छ ।

सामाजिक सञ्जालमा चर्चा पाएपछि केही विषयको सत्यता उजागर हुन्छ । कतिपय नियोजित भ्रामक सूचना भने जनमानसमा फैलिन्छन् । यसले वास्तविक सञ्चारमाध्यमबाट तथ्यपरक जानकारी नलिँदा नागरिक नियोजित भ्रामक सूचनाको सिकार हुन्छन् ।

समय बर्बाद र मानसिक असर

सामाजिक सञ्जालको बढ्दो प्रयोगले प्रयोगकर्ताको उत्पादनशील समय खेर जाँदै गरेका तथ्य पनि सार्वजनिक भएका छन् । अनलाइनबाटै अन्तरक्रिया हुँदा सामाजिक सम्बन्धमा समेत यस्ता प्लेटफर्मले नकारात्मक असर पारेको छ । 

अर्कातिर, सामाजिक सञ्जालको बढी प्रयोगले तनाव, चिन्तादेखि डिप्रेसनसम्मको सिकार प्रयोगकर्ता हुन्छन् ।

अमेरिकन साइकोलोजिकल एसोसिएनसको सन् २०२४ को एक अध्ययन प्रतिवेदनमा युवाले पाँच घण्टासम्म सामाजिक सञ्जाल चलाउने गरेको उल्लेख छ । धेरै सामाजिक सञ्जाल चलाउनेमध्ये ४१ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्य कमजोर, निकै कमजोर रहेको बताएका थिए ।

सन् २०२४ को नोभेम्बरमा प्रकाशित एक रिपोर्टमा अध्ययनमा संलग्न वा प्रतिक्रिया दिएका १२१ जनामध्ये करिब ४७ प्रतिशतले आफूलाई सामाजिक सञ्जालको लत बसेको जनाएका थिए । तीमध्ये करिब १९ प्रतिशतले आफूलाई ‘एन्जाइटी’ रहेको बताएका थिए ।

यसरी पछिल्लो एक दशकमा सामाजिक सञ्जालको विकाससँगै समाज र आमनागरिकमा सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव परेको छ ।

सँगै सरकार नियमननिम्ति उद्यत हुँदै छ । सरकारले अराजक हर्कत नियमन गर्ने बहानामा दुःख दिन सक्ने खतरा पनि बढ्दै गएको छ । किनकि, त्यसैगरी ऐन, नियमका ड्राफ्ट तयार भइरहेका छन् । राज्यले प्रतिशोध साधे नागरिकले दुःख पाउन सक्ने खतरा उत्तिकै छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro