काठमाडौं । उपत्यकामा पछिल्लो समय ठूला अपराधका घटनामा कमी आउँदै गरेको प्रहरीको विश्लेषण छ । उपत्यकाको शान्ति सुरक्षा कायम गर्न आपराधीक पृष्ठ भूमिका युवाहरुबारे प्रहरीका विभिन्न यूनिटहरुले निगरानी गर्दै आएको छ ।
केही दिन अघिमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जाल टिकटक मार्फत अशान्ति फैलाउने समूहकाका सात जनालाई पक्राउ गरेको थियो । यस्तै समूहका अन्य व्यक्तिहरुलाई समेत प्रहरी निगरानीमा राखेको छ ।
यद्यपी उनीहरुको व्यक्ति धम्क्याउने फिरौती रकम माग्नेजस्ता घटनामा संलग्नता भने देखिएको छैन ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले उपत्यकामा केही वर्ष अघिका जस्ता गुन्डागर्दी, अपहरण र फिरौतीका घटनामा कमी आएको देखिएको बताए ।
एआईजी तामाङले भने,‘‘काठमाडौंमा पहिलाको जस्तो ठूला अपराधका घटना छैनन् । हामीले त्यस्ता प्रकारका घटना नदोहोरियोस् भनेर विशेष अपरेशनसमेत चलाउँदै आएका छौं ।’’
ठूला अपराधका घटनामा कमी आए पनि अपराधको शैली भने परिवर्तन भएको देखिएको तामाङको भनाइ छ । देशभर पछिल्ला समय अनलाइन ठगी, साइबर अपराध र बैंकिङ कसुरका अपराधका घटना बढ्दै गएको उनको भनाइ छ ।
एआईजी तामाङ भन्छन्, ‘‘गुन्डागर्दीको शैली त परिवर्तन भयो । तर, प्रहरीलाई मूख्य चुनौती साइबर अपराध, अनलाइन ठगी र प्रविधिको प्रयोगमार्फत हुने अपराध नियन्त्रण गर्ने चुनौती थपिएको छ । त्यसको नियन्त्रणमा हामी सक्रिय हुँदैछौ ।’’
आफूले उपत्यकाको प्रहरी कमाण्डसम्हाले यता अनलाइनमार्फत हुने ठगी बारे विशेष अपरेशन नै चलाएको उनको भनाइ छ । यसरी अनलाइन ठगीमा संलग्न अधिकांश विदेशी नागरिक रहेको तामाङको भनाइ छ ।
देशभर नै अनलाइन ठगी र साइबर अपराधको घटनाको जालो फैलिएको प्रहरीको विश्लेषण छ । त्योबाहेक प्रहरीलाई पछिल्लो समय सबैभन्दा बढी आउने उजुरीहरुमा सहकारी ठगी प्रकरणसमेत छन् । देवानी प्रकृतिको अपराधमासमेत प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था आएपछि जनशक्ति परिचालनमासमेत समस्या आउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
देश भरका प्रहरी कार्यालयमा ५०० भन्दाबढी सहकारी ठगीको उजुरी आएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साइबर अपराध नियमनका माध्यमहरु प्रहरीको नियन्त्रण बाहिर हुँदा प्रहरीलाई अनुसन्धान गर्न समस्या आउने गरेको एआईजी तामाङको भनाइ छ ।
उनी भन्छन्,‘‘साइबर अपराध भयो भनेर हामीलाई निवेदन आउँने गरेका छन् । तर, हामीले अनुसन्धान गर्न सक्ने अवस्था नै छैन । हामीले पनि कुन माध्यमबाट अपराध भयो ? भनेर सम्बन्धित निकायलाई पत्राचार गर्ने हो । कहिले त त्यसको जवाफ नै आउँदैन ।’’
उपत्यकाबासीको शान्ति सुरक्षामा चुनौती थप्ने समूह सक्रिय हुने खोजे प्रहरी काुननको दायरभित्र रहेर निर्मम हुने उनको भनाइ छ । अपराधकर्ममा लागेकाहरु कुनै पनि राजनीतिक दलका सदस्य भए पनि कानुनी दायरामा ल्याइछाड्ने उनको दाबी छ ।
तामाङले एक महिना अघिमात्रै उपत्यका प्रहरीको कमान्ड सम्हालेका हुन् ।