site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
लय समाउँदै क्रिकेट, जग हल्लाउँदै फुटबल 

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा लोकप्रिय खेल कुन होला ? यो प्रश्न एक दशकअघि गरिन्थ्यो भने सहज जवाफ हुन्थ्यो, ‘फुटबल ।’ तर, अब यही प्रश्नको जवाफ फरक हुनसक्छ । केहीले फुटबललाई निरन्तरता दिए पनि धेरैको रोजाइमा पर्न सक्छ, क्रिकेट ।

यहाँ दुई खेलबीच तुलना गर्न खोजिएको हैन । तर, पछिल्लो एक दशकमा नेपाली फुटबलले साख गुमाउँदै जाँदा क्रिकेटको जग बलियो बनेको तथ्य नकार्न सकिँदैन ।

पछिल्लो वर्षयता नेपाली समर्थकमाझ ‘क्रिकेट–क्रेज’ ह्वात्तै बढेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ खेलसँगै नेपाली क्रिकेटले लय समातेको हो । लिग–२ हुँदै विश्वकप छनोट अनि घरेलु मैदानमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि – जसले क्रिकेटको माहोलमा रौनक थप्ने काम गर्‍यो ।

Dabur Nepal
NIC Asia

त्यसमाथि एसिया कप–२०२३ र १० वर्षपछि विश्वकपको मञ्चमा उक्लिनु नेपाली क्रिकेटका निम्ति स्वर्णिम आयाम बने । यसले नेपाल विश्वभर क्रिकेटप्रति बलियो लगाव भएको देशका रूपमा परिचित हुँदै छ ।

नहोस् पनि किन ? एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व विजेतासँग नेपालले अवसरको उपयोग मात्र गरेन, ‘हामी यहाँ प्रतिस्पर्धाका लागि आएका हौँ’ भन्ने सन्देशसहित बलियो चुनौती प्रस्तुत गर्‍यो ।

ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध एक रनको हार व्यहोरे पनि नेपाली टिमले पाएको चर्चा अझै विश्व क्रिकेटले बिर्सिएको छैन । पछिल्लो एक वर्षमै पाएका यी चर्चाले विश्व क्रिकेटमा नेपालको उपस्थिति बलियो बनाइरहँदा पछिल्लो दशकमा नेपाली खेलकुदको एक सदाबहार खेलको माहोल भने खुम्चँदै गएको छ ।

फुटबल निरन्तर ओरालो लाग्दा क्रिकेटप्रति समर्थकको चासो उल्लेख्य रूपमा बढेको छ । घरेलु फुटबलमा दर्शकको उपस्थिति कम छ । तर, फ्रेन्चाइज क्रिकेटमा दर्शकको उपस्थितिको ग्राफ लोभलाग्दो गरी उकालो लागिरहेको छ ।

फुटबलप्रति बढेको वितृष्णा

समर्थकमा नेपाली फुटबलप्रतिको माया अझै घटेको छैन । त्यसको उदाहरण हो, एनएसएल र अरू राजनीतिक पार्टीले गर्ने फुटबल प्रतियोगिता । दशरथ रंगशालामै हुने यी प्रतियोगितामा समर्थकको बाक्लो उपस्थिति रहन्छ । अनि, महिला फुटबलमा समर्थकको साथ उत्तिकै देखिएको छ ।

तर, एक दशकयता नेपाली फुटबलको अभिभावक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक झगडा र खिचातानीमा अल्झँदा समर्थकमा वितृष्णा बढ्दो छ ।

घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगले निरन्तरता नपाउँदा समर्थकसँगै खेलाडी पनि निराश छन् । कतिसम्म भने ‘फुटबलमा भविष्य छैन’ भन्ने भाष्य निर्माण हुँदै छ । त्यसरी भविष्य नदेखेपछि विदेशिने खेलाडीको संख्या ६० नाघिसकेको जानकार बताउँछन् ।

राष्ट्रिय फुटबल टिम वा ‘ए’ डिभिजन लिग खेलाडीका लागि विदेश जाने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)जस्तै बनेको छ । राष्ट्रिय टिम वा कुनै क्लबबाट लिग खेल्यो कि अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतको भिसा आइहाल्छ । यी विकसित मुलुक पुग्नेहरूले कम्तीमा राम्रो गन्तव्य पाएका छन् ।

खाडी मुलुक पुग्नुपर्ने परिबन्धमा परेका फुटबलरको हृदयविदारक कहानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिनजसो भेटिन्छ । खेलाडी पलायन रोक्न चुकिरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)सँग भावी योजना पनि छैन । यहाँसम्म कि कति खेलाडी विदेशिए भन्ने तथ्यांक समेत राख्दैन ।

नेपाली फुटबलमा दुई दशकभन्दा लामो समय नजिक रहेर सहकार्य गरेका व्यक्ति हुन्, सञ्जीव मिश्र । हाल एन्फाको प्राविधिक निर्देशक रहेका उनी एक दशकयता संघ आफ्नै आन्तरिक मामलामा रुमल्लिँदा फुटबलप्रति वितृष्णा बढ्दै गएको बताउन हिचकिचाउँदैनन् ।

“पछिल्लो समय क्रिकेटले प्रभाव बढाउँदै लगेकाले नेपालमा फुटबलको क्रेज अलि घटेको देखिएको छ । विगत १० वर्ष नेपाली फुटबलका निम्ति निकै उतारचढावपूर्ण रहे, मैदानभित्र र एफएमा पनि,” मिश्रले भने ।

यो अवधिमा उनकै शब्दमा– मैदानभित्र मिलोमतोका कुरा आए भने एएफएका अध्यक्ष पनि विवादमा तानिएर प्रतिबन्धमा परे । यसले समग्र नेपाली फुटबलमै असर गर्‍यो । त्यसपछि पनि संघले फुटबल गतिविधिमा विशेष ध्यान दिन सकिरहेको छैन । समग्र दशक हेर्ने हो भने नेपाली फुटबलको आयतन खुम्चँदै गएको नकार्न सकिने अवस्था छैन ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य विक्रम लामालाई भने यसको क्रेज घटेको जस्तो लागेको छैन । हाल नेपाल फुटबल खेलाडी संघ (एनएफपीएल)का अध्यक्ष रहेका लामा मैदानमा समर्थकको कमी देखिए पनि यो ठूलो विषय नभएको जिकिर गर्छन् ।

उनी नेपाली फुटबलले आशाअनुरूप प्रगति नगरेको भने स्वीकार गर्छन् । र, यसमा संघ र खेलाडी दुवैको उस्तै भूमिका रहेको बताउँछन् । “नेपाली फुटबलको क्रेज नै घटेको भन्न मिल्दैनजस्तो लाग्छ,’’ उनी भन्छन्, ‘‘किनकि, अझै पनि नेपाली समर्थकमा फुटबलप्रतिको चासो बलियो छ ।’’

उनी यसको मजबुत उदाहरण साफ महिला च्याम्पियनसिप भएको बताउँछन् । उनी दाबीका साथ भन्छन्, ‘‘यतिखेर प्रविधिको पहुँच धेरै हुँदा पनि मैदानमा पुग्ने समर्थक घटेको देखिएको हो ।”

नेपालले सन् २०१६ मा बंगबन्धु गोल्डकप र १२औँ दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक जित्दाका प्रमुख सदस्य समेत थिए, विक्रम ।

उनी संघ र खेलाडी विदेश पलायनको यही स्थिति रहेमा नेपाली फुटबलको साख जोगाउन हम्मेहम्मे पर्ने टिप्पणी गर्छन् । विक्रम भन्छन्, ‘‘सबै दोषजति एएफएलाई थुपारेर यसमा खेलाडीको जिम्मेवारी नै छैन भन्ने पनि हुँदैन । खेलाडीहरूले पनि राष्ट्रिय टिमको अर्थ बुझ्न आवश्यक छ । यसो हुन सके मात्र नेपाली फुटबलले फड्को मार्न सक्छ ।”

क्रिकेटमा बढ्दो चासो 

सन् १९९६ देखि अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउन लागेको नेपाली क्रिकेटको इतिहास फुटबलजति छैन । तर, पछिल्लो समय नेपाली खेलकुदमा क्रिकेटको चर्चा र प्रभाव दिन दुई गुणा, रात चौगुणा बढ्दै छ । मैदानभित्र प्रदर्शन र क्यान नेतृत्वको सकारात्मक कदमले नेपाली क्रिकेटप्रति समर्थकको माया उसैगरी बढिरहेको छ । 

लामो समयदेखि नेपाली क्रिकेटलाई नजिकबाट नियालेका व्यक्ति हुन्, छुम्बी लामा । नेपाल क्रिकेट संघ (क्यान)का पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनी हाल प्रवक्ताको जिम्मेवारीमा छन् ।

प्रवक्ता लामा नेपाली क्रिकेटको सकारात्मक सन्देश प्रवाह र समर्थक आकर्षित गर्नुमा खेलाडीसँगै कार्यसमितिको लगावलाई श्रेय दिन्छन् । “नेपाली क्रिकेटप्रति पक्कै पनि समर्थकको चासो बढ्दै गएको छ । यसमा सबैभन्दा ठूलो भूमिका मैदानभित्र प्रतिस्पर्धा गर्ने खेलाडीको छ । तर, मैदानबाहिर कार्यसमितिमा रहेर काम गर्नुभएका पदाधिकारीहरू पनि यसमा जिम्मेवारी बोकेर लागिपरेका छन्,” उनले भने ।

पवन अग्रवाल अर्थात् नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान – सन् २००० को दशकमा कप्तानी सम्हालेका उनी पनि पछिल्लो समय नेपाली क्रिकेटले विश्वमै फरक पहिचान बनाउँदै गएको बताउँछन् ।

पछिल्लो १० वर्ष नेपाली क्रिकेटका निम्ति उल्लेखनीय रह्यो । २०१४ मा विश्वकप खेलेपछि नेपाल २०२४ मा पनि फेरि विश्वकप क्रिकेटको मञ्चमा उक्लियो । ‘‘नेपाली सिनियर टिमको प्रदर्शन राम्रो छ । पहिले जुनियरको राम्रो हुने भए पनि सिनियरस्तरमा त्यो लय थिएन,” अग्रवालले भने ।

उनले अगाडि भने, “नेपाली क्रिकेटको यो प्रदर्शन घरेलु संरचनाको तुलनामा धेरै माथिल्लो हो । एनपीएलमा आएका समर्थक पनि मेरा लागि अप्रत्यासित थियो । यसले नेपाली समर्थकमा पनि क्रिकेटप्रतिको चासो बढ्दै गएको देखाउँछ ।”

उनी समर्थकको यो साथलाई कायम राख्न क्यानभित्रको संस्थागत सुशासनले पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्छन् । “समर्थकको चासो बढ्नुले संस्थाको आर्थिक पक्षसँग सोझो सम्बन्ध राखेको हुन्छ,’’ उनी भन्छन्, ‘‘ठूलो संस्था भए पनि त्यहाँ हुने स–साना कुराले पनि ठूलै अर्थ राख्छ ।’’

उनी यो लयलाई कायम राख्न क्यानका पदाधिकारीले संस्थागत सुशासन कायम राख्नु अत्यन्त आवश्यक भएको औँल्याउँछन् । हुन पनि संस्थाभित्रका विवाद बाहिरसम्म देखापर्दा त्यसले समर्थकमा नकारात्मक असर पर्छ । खेलाडीमा पनि उत्साह नहुन सक्छ । परिणामतः फुटबलकै नियतिको खतरा हुन्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro