
काठमाडौं । रविनको नजर किताबका र्याकहरूमा गहिरो गरी कुदिरहेको थियो । आफ्नो रुचिको किताब उनी खोजिरहेका थिए । नभेटे पनि सायद त्यही भीडमा छ भन्ने लागेको थियो, नजर यतायता डुलाउँदै थिए ।
सम्भवतः कसैको उपन्यास खोज्दै थिए । ‘के खोज्नु भएको ?’ पुस्तक पसलका कर्मचारीले सोधेपछि उनले किताबको नाम भने । कर्मचारीले केही बेरमै निकालेर दिए । उनको मुहारमा मुस्कान फैलियो, रुचिको पुस्तकलाई हातले मुसारेपछि ।
उनी हुन्, रविन साह – जो उपन्यास पढ्न रुचाउँछन् । एक बसाइमा उनी उपन्यास चिर्लिप्प पार्छन् ! यसअर्थमा उनको रुचि आख्यानमा छ । त्यसैले किताब किन्ने बेला उनी उपन्यास र कथाका पुस्तक नै खोज्छन् ।
‘जीवनीहरूमा पनि त कथा हुन्छ नि !’ यसरी कुरो निकाल्दा उनले भनेका थिए, ‘जीवनीमा आख्यानमा भेटिने मजा पाइँँदैन ।’
अचेल आख्यानमा विचरण गरेर पठनको मजा लिने पाठक तुलनात्मक रूपमा अधिक छन् । यसको प्रमाण के पनि हो भने कतिपय प्रकाशक आख्यानका पुस्तक नै पाठकले रुचाउने उल्लेख गर्छन् ।
सुन्दर स्वदेश पब्लिकेसनका प्रकाशक ऋषिराम पाण्डेका अनुसार, पाठकले कथा र उपन्यास खोजेको पाइन्छ । त्यसैले उनको प्रकाशन संस्थाले उपन्यास, कथा र संस्मरण–संग्रहहरूको प्रकाशन गर्दै आएको छ ।
पाण्डे भन्छन्, “नियात्राको बजार पनि राम्रै देखिन्छ । त्यसबाहेक ऐतिहासिक पुस्तकको पनि खोजी भएको पाइन्छ ।”
ऐतिहासिक किताबप्रति समेत पाठकमा रुचि देखिएको केही साताअघि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सम्पन्न पुस्तक प्रदर्शनीले पुष्टि गर्छ । ऐतिहासिक विषयवस्तु समेटिएका पुस्तक पनि प्रदर्शनीमा पाठकले खरिद गरेको साझा प्रकाशनका बिक्रेताको भनाइ छ ।
शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल पनि पछिल्लो समय ऐतिहासिक पुस्तकको खोजी गरिएको बताउँछन् । पौडेलले भने, “अचेल ऐतिहासिक पुस्तक र पुराना दस्तावेजतर्फ पाठकहरूको रुचि विशेष देखिएको छ । ऐतिहासिक तथा आख्यानात्मक कृतिमा पाठकको ध्यान गएको मेरो बुझाइ छ ।”
पाठकको रुचि आख्यान, इतिहास, जीवनीतिर देखिए पनि पुस्तकको व्यापार, व्यवसाय खासै नभएको प्रकाशक सुनाउँछन् । किताब किनेरै पढ्ने पाठक घट्दै गएको उनीहरूले महसुस गरेका छन् । पछिल्लो सात/आठ वर्षको अवस्थाले त्यही देखाएको उनीहरूको भनाइ छ ।
एक समय थियो, साहित्य र साहित्यइतरका किताब किनेरै पढ्थे पाठक । किन्न पैसा नभएको अवस्थामा गाउँठाउँमा स्थापित स–साना पुस्तकालयमा गएर पनि आफ्नो पठनको प्यास मेट्थे ।
त्यसबखत पुस्तक पढ्ने चलन थियो । त्यो समयमा पठन संस्कृतिको वर्चस्व थियो भनिरहँदा अतिशयोक्ति नहोला ।
त्यति बेला अर्थात् ०३४/३५ सालतिर उपन्यास र कथा साहित्यका किताब चार/पाँच रुपैयाँमा पाइन्थ्यो । पत्रिका अझै सस्तो थियो । अनि त कतिपय खाजा खर्च जोगाएर भए पनि किताब किन्थे ।
किताब किनेर पढिसकेपछि कि साथीभाइलाई पढ्न दिन्थे र उनीहरूसँग भएको किताब आफूले ल्याएर पढ्थे, हैन भने छेउछाउकै पुस्तकालयमा गएर किताब बुझाइदिन्थे । अनि, आफूले नपढेका किताब त्यहीँबाट लिएर पढ्थे ।
अर्थात्, पैसा नहुँदा पुस्तकालय जिन्दाबाद हुन्थ्यो ! पुस्तकालयले किताब समयसमयमा किनिरहेको हुन्थ्यो । पुस्तकालयसँग आबद्ध सदस्य पुस्तक लिने मात्रै नभएर पुस्तकालयलाई किताब दिइरहेका पनि हुन्थे । पढ्नेहरूको जमात पनि प्रशस्तै हुन्थ्यो ।
उस बेला पनि पाठकको रुचि अनेक विषयमा हुने भएकाले पुस्तकालयमा विविध विधाका किताब उल्लेख्य मात्रामा हुन्थ्यो । पुस्तकालय परम्पराले पुस्तक पठनको अवस्था बलियो बनाएको थियो ।
कहिलेकाहीँ एउटै किताब एकैदिनमा दुई/तीनजनाले पढ्न भ्याउँथे । तीन/चार घण्टामा पुस्तक पढेर अर्कोलाई दिन्थे, पुस्तकालयका सदस्य । यो पंक्तिकारले पनि त्यसरी कैयौँ उपन्यास पढेको छ ।
यतिखेर एउटा प्रसंगको सम्झना आउँछ । जलेश्वरको हनुमानस्थान जाने सडकस्थित जनज्योति पुस्तकालयमा पाठकको जमघट उल्लेख्य हुन्थ्यो । र, नयाँ किताब आउनासाथ बाँडीचुँडी पढ्नलाई समय मिलाउँथे ।
यसरी उपन्यास, कथा, जीवनी वा अरू किताब पढ्नुका साथै कोर्सका पुस्तक पढ्न सबैले भ्याएकै थिए ।
परन्तु, आज पठन संस्कृतिमा देखिएको कमीले प्रकाशकलाई मात्रै होइन, पुस्तकालयलाई समेत निस्तेज तुल्याएको अनुभूत हुन्छ । किताब किनेर वा खोजेरै भए पनि पढ्नेहरूको संख्यामा देखिएको ओरालो यात्राले पठन परम्परा भोलि कता जाने हो अनुमान गर्न कठिन छ ।
अर्कोतिर अचम्म के छ भने, घट्दो पठन परम्पराबीच पनि पुस्तक प्रकाशित भइरहेको छ । लेखकले किताब लेखिरहेका छन् । त्यो पुस्तक कुनै प्रकाशन संस्थाले प्रकाशित नगरिदिए आफ्नै खर्चमा भए पनि बजारमा ल्याउने चलन छँदै छ । यो प्रवृत्ति हुर्कंदो छ, भलै किताब किन्ने ग्राहक कम हुन् !
एउटा प्रसंग मेरो मानसपटलमा यतिखेर आइरहेको छ । भारतबाट निस्कने पत्रिका ‘सरिता’ र ‘मुक्ता’ले हरेक अंकमा एउटा विज्ञापन छापेका हुन्थे । त्यस विज्ञापनको आशय थियो, ‘के तपाईं मागेर खानुहुन्छ ? मागेर लुगा लगाउनुहुन्छ ? त्यसो भए मागेर किताब किन पढ्नुहुन्छ ? किताब पनि किनेर पढ्नुस् ।’
त्यो विज्ञापन आज पनि सान्दर्भिक लाग्छ । किनभने, आज पनि कार्यक्रमहरूमा भनिँदै छ, ‘किताब किनेर पढ्ने गर्नुस् ।’ अपितु, किनेर पढ्ने कम छन् ।
विडम्बनापूर्ण सत्य के हो भने, एउटा लेखकले नै अर्को लेखकको किताब किनेर पढेको खासै पाइँदैन । भ्याएसम्म किताब माग्छन् नै ! किताब माग्ने यो प्रचलनले पाठकको रुचिलाई कसरी आकलन गर्न सकिएला र ?
यदि, कोही लेखकले आफ्नो किताब दिन्छ भने त्यसको परल मूल्य तिर्ने चलन पनि हामीकहाँ छैन । किनेको किताब पढ्ने इच्छा जाग्छ, तर फोकटमा हात लागेको पुस्तकप्रति रुचि न्यून हुन्छ । त्यस्ता किताब एउटा कुनो समाएर थन्किने हो भने के नै अर्थ रह्यो र !
गएको एक दशकअघिदेखि समाज सामाजिक सञ्जालमा लुटपुटिएको छ । हरेक मानिस सामाजिक सञ्जालमा जोडिएको छ । त्यसको प्रत्यक्ष असर साहित्यमा परेको छ ।
सामाजिक सञ्जालको प्रयोगले नेपाली पठन संस्कृतिलाई ओरालोतर्फ लैजाँदै छ । २० वर्षअघि खासै केही थिएन, पठन संस्कृति थियो । सूचना प्रविधिको विकासले चुली पक्डेका बेला पठन संस्कृति धरापमा छ ।
बितेको एक दशकको अवधिलाई मूल्यांकन गर्ने हो भने यो समयमा पाठकको रुचि विस्तारै पुस्तकबाट घट्दै गएको देखिन्छ । अझै नयाँ पुस्तामा त किताब समाउने अवस्था नै नदेखिएको कतिपय लेखक, प्रकाशकको भनाइ छ ।
छ/सात वर्षयता विशेष गरी कोरोना महामारीसँगै पुस्तक मारमा पर्यो । मानिस सामाजिक सञ्जालसँग बढी अभ्यस्त हुँदै गए । कोरोना सन्त्रासको समयमा त्यो पाच्य भए पनि अब यो एउटा समस्याकै रूपमा देखिएको छ ।
प्राज्ञिक बुक्सका लेखक तथा प्रकाशक बद्रीप्रसाद ढकाल हिजोआज किताबप्रति पाठकको रुचि घट्दै गएबाट यसको व्यापार, व्यवसायमा असर परेको बताउँछन् । पछिल्लो समय पाठकको रुचि कुन विधा वा विषयतिर धेरै देखिएको छ भन्ने सवालमा, पुस्तक नै नकिनेपछि कतातिर तिनको रुचि छ भनेर बताउन नसकिने उनको भनाइ छ ।
साहित्य र समालोचनाका पुस्तक प्रकाशनमा ल्याइसकेका ढकाल भन्छन्, “नयाँ पुस्तामा पुस्तक छान्ने सोचमै दुविधा छ कि भन्ने मलाई लाग्छ । ई–बुकतर्फ ध्यान दिने अहिलेका पाठकले यही पढ्छन् भन्न सकिँदैन । तथापि, मसम्म आएर ठोक्किने पाठकको रुचि विशेष गरी आख्यान साहित्यमा देखिएको छ । त्यसका अतिरिक्त तिनले इतिहास र मिथक पनि खोज्ने गरेको मेरो अनुभव छ ।”
वर्तमान पुस्तामा किताबप्रतिको मोह हराउँदै गएको ढकालको भनाइले इंगित गर्छ । ईबुकहरूको प्रचलनले पनि किताबप्रतिको मोहभंग भएको अनुमान गर्न सकिन्छ ।
ढकाल भन्छन्, “नयाँ पुस्तामा थोरै केही पढ्ने र नयाँ विचार बनाउने दृष्टिकोण देखिन्छ । आधुनिक विश्वसाहित्यमा आएका स्वैरकल्पनालाई बुझ्ने र यसरी केही नयाँ खोज्ने दृष्टिकोणले नयाँ पुस्तालाई फिक्सनतिर लगेको हो भन्ने लाग्छ ।”
वर्तमान पुस्ताले आख्यानमा पनि कथा र उपन्यास मन पराउने गरेको पाइन्छ । कतिपयको रुचि मोटिभेसनल पुस्तकमा हुने गरेको र त्यही खोज्ने भुँडीपुराण प्रकाशनका प्रकाशक केशव पराजुली बताउँछन् ।
उनी भन्छन्, “मेरो अनुभवमा पाठकको रुचि मोटिभेसनल पुस्तकतिर पनि छ । त्यसपछि मात्रै आख्यान विधातर्फ तिनको ध्यान गइरहेको देखिन्छ । यति हुँदाहुँदै पनि पुस्तकको बिक्री राम्रो छैन । यसले देखाउँछ, पाठकमा पठन संस्कृतिप्रतिको रुचि एकदमै कम छ । पछिल्ला दिनमा पुराना प्रकाशकहरूले समेत किताब निकाल्न छाड्नुभएकाले यसले प्रत्यक्ष असर नेपाली साहित्य र नेपाली पुस्तक बजारलाई पारेको छ ।”
अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारका सञ्चालक सुरेश श्रेष्ठका अनुसार, ०७२ साल वैशाखमा आएको विनाशकारी भुइँचालोदेखि नै पुस्तकको व्यापारमा ह्रास आयो । कोरोनाकालले त यसको व्यवसायलाई एकदमै घटायो ।
श्रेष्ठ भन्छन्, “मानिसमा पढ्ने बानी नै बसेन ! जबकि, पढ्ने बानी सानै उमेरदेखि बसाउनुपर्ने हो । त्यसले पठन संस्कृतिलाई बढावा दिन्थ्यो । पढ्ने बानी हुन्थ्यो भने गम्भीर साहित्य पनि पाठकले खोजेर पढ्ने थिए ।”
उनका अनुसार, किताबहरू अत्यधिक रूपमा प्रकाशन गरिए पनि पाठकले के मन पराउँछन् भन्नेतर्फ खोजी भएको छैन ।
नेपालमा सक्रिय पुस्तक व्यवसायीका अनुसार, ०७२ सालको भुइँचालोले भन्दा कोरोनाकालले पुस्तक व्यापारलाई नराम्ररी क्षति पुर्याएको छ । भुइँचालोपछि आफूलाई मानसिक रूपमा चुस्त–दुरुस्त राख्नै पनि किताब किन्दै आएका पाठकले कोरोनाकालमा पुस्तक किन्न छाडेको देखिन्छ ।
कसैलाई वा केही वस्तु छुँदा कोरोना सर्न सक्ने त्रासले पुस्तक व्यवसायलाई करिब–करिब धराशायी नै बनाएको उनीहरूको भनाइबाट थाहा हुन्छ ।
कोरोनाकालपछि प्रौढ र वृद्धवृद्धामा मृत्युको त्रास अधिक देखिएको थियो । त्यसले समाजमा फरक किसिमको दृष्टिकोण स्थापित गर्यो ।
युवावर्गलाई भने फरक किसिमबाट सोच्ने बनायो । पुस्तकबाट पनि कोरोना सर्न सक्छ भन्ने त्रासले तिनलाई पृथक् मार्गतर्फ डोर्यायो । किताब किन्ने रुचिलाई तिनले त्याग्दै गए र प्रविधिमा पुस्तक खोज्न थाले । त्यहीँ किताब पढ्न थाले । यसरी डिजिटल समाजमा ती रमाउँदै गए । अनलाइन प्रविधिमै पढ्ने, त्यसैमा भेटघाट गर्ने, गेम खेल्ने प्रवृत्ति बढ्दै गयो ।
अनि, पुस्तक किनेर पढ्ने प्रचलन हराउँदै गयो । यसरी हेर्र्ने हो भने कोरोनाले पठन संस्कृतिलाई नै धराशायी बनाइदियो भनिदिँदा अतिरञ्जना हुँदैन । किताबबाट पनि कोरोना सर्ने डर देखियो । फलतः त्यसले पठन संस्कृतिलाई ध्वस्त मार्गमा लग्यो । यसरी पुस्तकको बजार दिनानुदिन कमजोर हुँदै गयो ।
पुस्तक प्रकाशक पराजुली भन्छन्, “पाठकले पुस्तक पसलतिर जान छाडेपछि यो समस्या हाम्रो मात्रै होइन, राज्यकै समस्या भएको छ भन्ने मलाई लाग्छ । यतातिर ध्यान दिएर पुस्तकको व्यवसायीकरण, यसको विस्तारीकरणका लागि राज्यले व्यवस्था गर्नुपर्ने थियो । तर, राज्यले यसतर्फ कुनै काम गरेको पाइँदैन । यसको सहजीकरण पनि गरेको देखिँदैन । घट्दो पठन संस्कृतिलाई उकास्न लागि राज्यले विभिन्न किसिमका पुस्तक प्रदर्शनीहरू गरिदिएर, त्यसलाई सहयोग गरिदिएर पाठकलाई पुस्तक प्रदर्शनीसम्म जाने वातावरण बनाइदिए सबैलार्ई सजिलो हुने थियो ।”
समग्रमा, बितेको एक दशकको अवधिमा पुस्तक प्रकाशन बढी देखियो, तर पाठकको रुचि र पढ्ने बानीमा कमी आएको निश्चित हो ।
समय–समयमा प्रकाशित हुने कतिपय पुस्तकले तत्कालका लागि केही व्यापार गरेको देखिए पनि युवा विदेश पलायनले त्यसलाई असर पारेको अनुमान गर्न सकिन्छ ।
अर्कोतिर, देशमा ज्येष्ठ नागरिक मात्र भएको स्थितिलाई आध्यात्म, इतिहास र मिथकका किताबको खोजीले प्रमाणित गर्छ भन्न सकिन्छ । तर, त्यति मात्रै पर्याप्त होइन । त्यसका लागि राज्य र सरोकारवाला सबैले सोच्नुपर्ने समय आएको छ ।