काठमाडौं । नेपालमा जारी महिला त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध थाइल्यान्डले १७ रनको रोमाञ्चक जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा आएको थाइल्यान्ड १९.५ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा समेटिएको थियो ।
८६ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको नेदरल्यान्ड्सको पनि ब्याटिङ चल्न नसक्दा ६९ रनमै समेटिएपछि थाइल्यान्डले रोमाञ्चक जित निकालेको हो ।
नेदरल्यान्ड्सबाट कप्तान बाबेटे डे लिडेले सर्वाधिक २५ रन बनाइन् । एरिस ज्विलिङले १३ र क्यारोलिन डे लिंगेले १० रन जोडे । यसबाहेक, डच टिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न थिपाचा पुथावाङ र ओनिचा काम्चोम्फुले तीन–तीन विकेट लिइन् । किफायती बलिङ गरेकी पुथावाङले चार ओभरमा दुई मेडन फ्याँक्दै १० रनमात्र खर्चिइन् । यस्तै, चनिन्दा सुथिरुआङले दुई र नाताया बुचाथमले एक विकेट लिइन् ।
त्यसअघि थाइल्यान्डकी चनिन्दा सुथिरुआङले २७ र फानिथा मायाले १२ रन बनाएकी थिइन् ।
नेदरल्यान्ड्सका एरिस ज्विलिङ, इभा लिन्च र सिल्भर सइगेर्सले समान दुई विकेट लिइन् । यस्तै, इसाबेल भान डेर वोनिङले एक विकेट लिइन् ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको थाइल्यान्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेको नेपाल भने तीन खेल खेल्दा पनि अंकविहीन छ ।