काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार मूलपानी क्रिकेट मैदानमा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस एकेडेमीविरुद्ध ६४ रनको जित निकालेको हो ।
ग्रेट हिमालयले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको एन्जल्स १८.२ ओभरमा ४८ रनमै समेटियो । एन्जल्सका लक्ष्मन कुँवरले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
ग्रेट हिमालयका सवालप्रसाद अधिकारी र दर्शिल विष्टले समान तीन विकेट लिए । इशान पाण्डेले दुई विकेट लिए ।
त्यसअघि टस जिते ब्याटिङ रोजेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११२ रनको योगफल तयार पारेको थियो ।
ग्रेट हिमालयका लागि इशान पाण्डेले ३१ रन बनाए । यस्तै, साजन बैद्यले २२ र प्रकाश थापाले अविजित १४ रन बनाए ।
एन्जल्सका उपेन्द्र खत्री र सुजन दाहाले समान दुई विकेट लिए । यस्तै, रतन रौनियारले एक विकेट लिए ।
जितसँगै दुई खेलबाट ४ अंक जोडेको ग्रेट हिमालयन समूह ‘बी’ को शीर्ष स्थानमा छ । दुवै खेलमा पराजित एन्जल्स भन् अंकविहीन छ । यसअघि ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराउँदा एन्जल्स बालुवाटार क्रिकेट क्बलसँग पराजित भएको थियो ।
आइतबारै सम्मपन्न खेलमा हिमालयन क्रिकेट एकेडेमी ‘ए’ ले बालुवाटार क्रिकेट क्लबविरुद्ध नौ रनको जित निकालेको छ । खेलमा हिमालयनले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याउने क्रममा बालुवाटारले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।
हिमालयन क्रिकेट एकेडेमीका दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । किरण दौल्यालले ४० रन जोड्दा विशाल पटेलले १४ रन थपे ।