site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कर’लाई हतियार बनाउँदै ट्रम्प : चीन, क्यानडा र मेक्सिकोले कसरी गर्दै छन् प्रतिकार ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी तथा प्रतिस्पर्धी राष्ट्रहरूको सामना गर्न ‘कर’लाई हतियारको रूपमा प्रयोग गरेका छन् । ट्रम्पले हालै क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनमा कर लगाइएको घोषणा गरेका हुन् । यो निर्णय अन्तर्राष्ट्रिय आपत्‌कालीन आर्थिक शक्ति ऐन (आईईईपीए) मार्फत गरिएको दाबी गरेका छन् । 

चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा कर बढाएपछि सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन्, “किनभने हाम्रा नागरिकहरूलाई अवैध विदेशीहरूबाट खतरा बढ्दै गएको छ । फेन्टेलिन र अन्य घातक पदार्थले हाम्रा नागरिकहरूलाई मारिरहेका छन् ।”

अमेरिकीहरूको सुरक्षा गर्नु र सबैको सुरक्षा सुनिश्चित गर्नु आफ्नो कर्तव्य भएको राष्ट्रपति ट्रम्पले बताएका छन् । “मेरो चुनावी अभियानमा, मैले अवैध आप्रवासी र लागुपदार्थको बाढी रोक्ने वाचा गरेको थिएँ र अमेरिकीहरूले त्यसो गर्न भारी मत दिए,” उनले भनेका छन् । 

अमेरिकाको कर निर्णयको चीनले प्रतिकार गर्ने जनाएको छ । चीनको वाणिज्य मन्त्रालयले यसप्रति प्रतिक्रिया जनाउँदै यसको बदला लिने उद्घोष गरेको छ । 

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “चीन यस कदमप्रति पूर्ण असन्तुष्ट छ र यसको दृढतापूर्वक विरोध गर्दछ ।”

ट्रम्पको निर्णयले विश्व व्यापार संगठनको नियमहरूको गम्भीर उल्लंघन गरेको आरोप पनि चीनले लगाएको छ । यस्ता कदमहरूले चीन र अमेरिका बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा हानि गर्ने चीनले जनाएको छ ।

चीनले अमेरिकाको ‘गलत व्यवहार’विरुद्ध अब विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने घोषणा पनि गरेको छ । ‘आफ्नो अधिकार र हितको रक्षा’ गर्न कडा कदम चाल्ने चीनले जनाएको छ । 

“अमेरिकालाई आफ्नो गलत पद्धति सच्याउन आग्रह गर्दै समस्या समाधान गर्न चीनसँग मिलेर काम गर्न आह्वान गर्दछ,” चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

चीनले अमेरिकालाई 'पारस्परिक लाभ, सम्मान र समानताको आधारमा मतभेदहरू समाधान गर्न र पारस्परिक सहयोगलाई बलियो बनाउन' आह्वान गरेको छ । अमेरिकाले गरेको कर बढाउने निर्णय चीन, अमेरिका र अन्य देशको हितमा नरहेको निष्कर्ष चीनको छ ।

अमेरिकाको छिमेकी क्यानडाले पनि ट्रम्पको निर्णयको विरोध गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पले गरेको निर्णयमा प्रतिक्रिया जनाएका छन् । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार एक पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले लगाएको करको जवाफमा क्यानडाले पनि कर लगाउने बताए ।

ट्रुडोले अमेरिकीहरूसँग सिधै कुरा गर्न चाहेको बताए । उनले यस निर्णयको प्रत्यक्ष असर अमेरिकी अर्थतन्त्रमा पर्ने बताए । ट्रुडोले आफ्नो सरकारले १५५ अर्ब डलर बराबरको अमेरिकी उत्पादनहरूमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् ।

उनले क्यानाडाली कम्पनीहरूलाई समय दिनका लागि यो भन्सार नियम मंगलबारदेखि ३० अर्ब डलर मूल्यका उत्पादनहरूमा लागु हुने बताएका छन् । बाँकी १२५ अर्ब डलर मूल्यका उत्पादनहरूमा आगामी २१ दिनमा लागु गर्ने घोषणा उनले गरेका छन् । 

क्यानडाका प्रधानमन्त्री ट्रुडोले क्यानेडियन डलरको बारेमा कुरा गरिरहेका छन् कि अमेरिकी डलरबारे भन्ने स्पष्ट छैन । उनले चाँडै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमसँग कुरा गर्ने पनि बताएका छन् । 

“हामी यो चाहँदैनथ्यौँ, तर क्यानडा तयार छ । म साँझ क्यानडाका नागरिकहरूलाई सम्बोधन गर्नेछु,” उनले भनेका छन् । 

ट्रम्पको कर लगाउने निर्णयप्रति मेक्सिकोका राष्ट्रपतिले पनि प्रतिक्रिया जनाएकी छन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले भनेकी छन्, “हामी अमेरिकाविरुद्ध पनि जवाफी कारबाही गर्नेछौँ ।”

राष्ट्रपति शेनबाउमले थप स्पष्ट पार्दै भनेकी छन्, “म अर्थ सचिवलाई योजना ‘बी’ कार्यान्वयन गर्न निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौँ । यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित करका उपायहरू समावेश छन् ।” उनले ती कपायहरू के हुन् भन्ने खुलाएकी छैनन् । (बीबीसीबाट) 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro