site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपराधबाट जोगिन नाम-थरै परिवर्तन : २७ वर्षपछि पक्राउ, २० वर्ष कैद  

काठमाडौं । बागलुङ नारायणस्थानकी भीमादेवी सुवेदी २७ वर्षदेखि भने पार्वती आचार्यको नामबाट परिचित छन् । पर्वत फलेवास नगरपालिका–२ का युवासित विवाह गरेपछि सुवेदीले थर मात्रै होइन, नामसमेत फेरिन् । 

पार्वती हाल ६३ वर्ष पुगेकी छिन् । विवाह गरेपछि महिलाको थर फेरिनु त सामान्य भइहाल्यो । तर, भीमादेवीले थरसँगै नाम पनि फेरेर नागरिकता लिइन् । उनले नाम नै फेर्नुको रहस्य भने अर्कै छ । 

२७ वर्षअघि गरेको अपराध लुकाउन उनले थरसँगै नाम पनि परिवर्तन गरेकी हुन् । तर, उनको त्यो चलाखी कालान्तरसम्म भने लुक्न सकेन । २७ वर्षअघि गरेको अपराधको सजाय काट्न उनी ६३ वर्षको उमेरमा पक्राउ परेकी छिन् ।

जीवनको उत्तरार्द्धको १९ वर्ष ११ महिना ११ दिन उनले जेल जीवन गुजार्नुपर्ने भएको छ । पर्वत प्रहरीको टोलीले विशेष सूचनाका आधारमा आचार्यलाई पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्वत उपस्थित गराएको थियो ।

पर्वत जिल्ला अदालतले फैसला कार्यान्यवनका लागि शुक्रबार उनलाई कारागार चलान गरेको छ ।

के थियो अपराध ?

भीमादेवी पर्वतमा विवाह गरेर पार्वती आचार्य हुनुअघि अर्कै युवाको प्रेम सम्बन्धमा थिइन् । उनीहरूबीच प्रेम झांगिएकै अवस्थामा थियो । त्यहीबीचमा उनको अर्कै युवासित विवाह भयो ।

तर, प्रेमीसितको शारीरिक सम्बन्धबाट उनी गर्भवती भइसकेकी थिइन् । बच्चा जन्माउने अवस्थामा नै पुगेकी उनलाई अवैध सम्बन्धबाट जन्मिएको शिशुबारे श्रीमान्‌ले  थाहा पाएमा घरबार बिग्रिने चिन्ता थियो । त्यही चिन्ताका कारण पार्वतीले शिशु जन्मिनासाथ हत्या गर्ने योजना बुनिन् । 

सोही योजनाअनुसार उनले नवजात शिशुको हत्या गरी जंगलमा बेवारिसे अवस्थामा फालिन् । प्रहरीको अनुसन्धानले शिशुको हत्यामा पार्वतीको संलग्नता खुलायो । तर, उनी पर्वतबाट समेत बसाइँ सरेर रुपन्देहीको कञ्चन गाउँपालिका–१ लौसा बसाइँ सरिसकेकी थिइन् । 

घटनाको २७ वर्षपछि पर्वत प्रहरीको टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए । 

पर्वत प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमित श्रेष्ठले विशेष सूचना र प्रहरीको निरन्तरको प्रयासले आचार्यलाई पक्राउ गर्न सफल भएको उनले बताए ।

‘‘अपराध गरेर भाग्नेहरू कुनै पनि समय कानुनी दायरामा आउनुपर्छ भन्ने उदाहरण पनि हो यो । हामीले घटनाको २७ वर्षपछि उनलाई पक्राउ गर्न सफल भएका हौँ,’ इन्स्पेक्टर श्रेष्ठले भने ।

पार्वतीले नाम र थर सबै परिवर्तन गरेका कारण सनाखत गर्न समेत प्रहरीलाई समय लागेको उनको भनाइ छ ।

पार्वतीलाई नवजात शिशुको हत्या अभियोगमा जिल्ला अदालत पर्वतले ०५४ जेठ २० मा १९ वर्ष ११ महिना ११ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro