काठमाडौं । बिहान ८ नबज्दै पुग्छन्, १५० बढी कामदार । बेलुका ८ बजेसम्म लगातार खटिन्छन् । कहिलेकाहीँ यो संख्या बढेर ३०० को हाराहारीमा हुन्छन् ।
पाँच तला ढलान भइसकेको छ । बाँकी दुई तलामाथि पनि ढलानको तयारी छ । निर्माणाधीन भवनको छेवैमा ठूलो ढिस्को छ । ढिस्को पनि के भन्नु, सानोतिनो पहाडै छ । थुम्कोमाथिबाट हेर्दा साततले भवन तलै देखिन्छ । यसो भित्तातर्फबाट हेर्दा जुनसुकै बेला पानी परे माटो बगेर भवनै पुर्लाजस्तो छ ।
शनिबार त्यही ढिस्कोको टाकुरामा उभिएर भाटभटेनी सुपरस्टोर्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जिज्ञासा राखे, “यो पहिरो जानै लागेको भागको राम्रोसँग व्यवस्थापन गरेर अन्तर्राष्ट्रियस्तरको सुन्दरता प्रदान गर्न कति खर्च लाग्ला ?”
उनी तिनै मीनबहादुर हुन्, जसले ०८१ वैशाख अन्तिम साता त्यही ढिस्कोछेवैमा रहेको कार्यालयमा उपस्थित हुँदै डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।
वैशाख २८ गते बिहान घरबाट निस्किएका गुरुङले श्रीमती सावित्रीलाई भनेका थिए, ‘आज म एउटा परोपकारी कामका लागि सहयोग दिन जाँदै छु ।’
तर, उनले घरका कोही सदस्यलाई सुनाएका थिएनन्, उनैको मनमा पनि थिएन यति नै सहयोग गर्छु भन्ने ।
मीनबहादुर गुरुङको सहयोगले भावुक बने डा. भगवान कोइराला, बाल अस्पतालका लागि ४१ करोड सहयोग
१० महिनापछि शनिबार बिहान त्यही स्थानमा कुराकानी गर्दै गुरुङले भने, ‘‘१० करोड त सहयोग गर्छु नै भन्ने थियो, आवश्यक परेको खण्डमा २५ करोडसम्म सहयोग गर्नुपर्ला भनी त्यो दिन घरबाट निस्किएको थिएँ । तर, यहाँ आइपुगेर डा. भगवान कोइरालाको योजना सुनेपछि ४१ करोड सहयोग गर्न तयार भएँ । यो कुरा घरमा कसैलाई पनि जानकारी थिएन ।”
श्रीमतीलाई सहयोग गर्छु भने पनि यत्ति नै गर्ने भन्ने सुनाएका थिएनन् । बाँकी परिवारका लागि त सरप्राइज नै थियो । “सम्पत्ति भनेको आफूसँगै राखिरहने होइन, यो त कमाउँदै दान दिँदै जाने हो,” गुरुङले भने ।
गुरुङ सम्भवतः नेपालमा सबैभन्दा बढी दान तथा सहयोग गर्ने व्यवसायी हुन् । उनैको नेतृत्वमा देशका विभिन्न स्थानमा २८ सुपरस्टोर्स सञ्चालनमा छन् । दुईवटा निर्माणाधीन छन् । काठमाडौंको मुटु दरबारमार्गस्थित होटेल अन्नपूर्ण पुनर्निर्माणको चरणमा छ । चितवनमा कोल्ड स्टोर्स बनिरहेको छ ।
बालुवाटारस्थित एउटा भाडाको निवासमा बसिरहेका गुरुङ दम्पतीलाई सोध्यौँ, “सम्पत्ति के रहेछ ?”
जवाफ थियो, “कमाउँदै दान गर्दै जाने वस्तु ।”
...अनि भावुक भए डा. भगवान कोइराला, भक्कानिए मीनबहादुर गुरूङ
मीनबहादुर गुरुङको छेवैमा बसेकी सावित्रीलाई सोध्यौँ, “४१ करोड सहयोग गर्दा तपाईंहरू (परिवारका सदस्य)को प्रतिक्रिया के थियो ?”
सावित्रीले भनिन्, “हामी सबै परिवार एकदमै खुसी भयौँ । किनकि, एकातिर अब हामी यति ठूलो दान गर्न सक्ने भयौँ भन्ने पनि लाग्यो, अर्कातिर हजारौँ नेपाली बालबालिकाले त्यही भवनबाट अब उपचार पाउनेछन् भनी झनै खुसी भयौँ ।”
वैशाख अन्तिममा ४१ करोड सहयोग गर्ने घोषणा गरे । डेढ महिना सरकारी काम मिलाउनै लागिहाल्यो । असार १५ गतेदेखि गुरुङकै टिमले भवन निर्माणको काम थाल्यो । हिउँद, वर्षा नभनी भवन निर्माणलाई निरन्तरता दियो ।
६ महिनामा अन्डरग्राउन्ड पार्किङसहितको पाँच तला ढलान सकिएको छ । बाँकी काम पनि द्रुत गतिमा गरेर सकाउने योजना छ ।
प्रोजेक्ट म्यानेजर रवीन महर्जनका अनुसार, काठमाडौं इन्स्टिच्युट अफ चिल्ड्रेन हेल्थ (किओच)का लागि भवन निर्माणको काम असार १५ देखि सुरु गरिएको हो ।
आउँदो जेठभित्र सबै काम सकाउने योजना छ । जेठसम्म भवन हस्तान्तरण गर्ने लक्ष्य छ । करिब एक लाख स्क्वायर फिटको भवन मात्र होइन, त्यसभित्र आवश्यक सम्पूर्ण ‘हेल्थ इक्विपमेन्ट’ समेत राखेर हस्तान्तरणको योजना गुरुङको छ ।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने
सुवर्ण डंगोललाई शनिबार फेरि सम्झाउँदै गुरुङले भने, ‘‘हामीले तयार पारेर दिने भवन अन्तर्राष्ट्रियस्तरकै हुनुपर्नेछ । भित्र कुनै पनि सामग्री राख्दा कमसल खालका हुनु हुँदैन । बाहिरी वातावरण यस्तो हुनुपर्छ, यहाँ बिरामी बालबालिका लिएर आएका आमाबुबाको मनमा पनि सकारात्मक सन्देश प्रवाह हुनुपर्छ ।’’
उनलाई चिन्ता नै भवनसँगैको भित्ताको छ । टाकुरामा उभिएर सुवर्णलाई सोधे, ‘‘यो पहाडलाई हामीले कसरी व्यवस्थापन गर्छौँ ?’’
भवन भत्किएर च्याप्लाजस्तो पहाड देखाउँदै सुवर्णले गुरुङलाई जवाफ दिए, “हामीले यसको बीचबाट भवनको इमर्जेन्सीमा पुग्ने बाटो निर्माण गर्छौँ । भत्किन लागेको यो पहाडमा हामीले फूलैफूल फुल्ने बनाउँछौँ ।”
अनि, हामीले सहयोग गरेको ४१ करोडले यो सबै काम गर्न पुग्छ ?– गुरुङले सोधे ।
पुग्दैन हजुर– सुवर्णको जवाफ थियो ।
त्यो पैसाले भवन र अस्पतालका लागि आवश्यक इक्विपमेन्ट पनि नपुग्लाजस्तो छ ।
भवन क्षेत्रको सबै पहाडको व्यवस्थापन, सडक निर्माण र पार्कका लागि कति रकम आवश्यक पर्ला ?
सुवर्णको जवाफ थियो– यो सबै काम पूरा गर्दा अरू १० करोड खर्च लाग्न सक्छ ।
मीनबहादुर गुरुङलाई प्रधानमन्त्रीले भने– धन त अरूसँग पनि छ, मन भएको तपाईं हुनुहुन्छ
टाकुरामै उभिएर गफिँदै गरेका गुरुङले भने, “सेवा गर्ने मौका सधैँभरि आउँदैन । यो सबै काम गर्नू । थप्नुपर्ने जति रकम हामीले थपौँला ।”
आकस्मिक रूपमा ठाउँको ठाउँ दान गर्नुपर्छ भन्ने कुरा मनमा फ्याट्ट कसरी आउँछ ?– हामीले गुरुङलाई सोध्यौँ ।
उनले यसरी बेलीविस्तार लगाए–
परिवारको परिवेशले पनि काम गरेको होला । मेरो बाजेले पनि दान गर्नुभयो । बुबाले धेरै दान गर्नुभयो । उहाँको त्यस बेला कति क्षमता थियो, त्यहीअनुसार दान गर्नुभयो । मैले भर्खरै सानो स्टोर सुरु गरेको थिएँ, यो ०४२ सालतिरको कुरा हो । मेरो एकजना योगी गुरु हुनुहुन्थ्यो । उहाँ संसारमा हुनु हुन्न । हरिद्वारको महात्मा हुनुहुन्थ्यो उहाँ । मैले हरिद्वारमा पनि पशुपतिनाथको मन्दिर बनाइदिएको छु । उहाँले एक दिन मलाई भन्नुभएको हो– मीनबहादुर तिमीचाहिँ यो संसारमा आएका छौ, तिमीले मुक्ति पाउने हो कि धन कमाउने हो ?
मैले भनेँ– भर्खरै व्यवसाय सुरु गरेको छु, पहिला अलिअलि धनै कमाउन पर्यो ।
उहाँले भन्नुभयो– धन कमाउने हो भने दान गर । मुक्ति पाउने हो भने भजन गर । धन आर्जन गरेपछि दान गर्न नभुल्नू । दान गरेपछि भगवान्ले तिमीलाई सद्बुद्धि दिनुहुन्छ । माइन्ड पिस हुन्छ । पिस माइन्डले गरेको काममा सफलता मिल्छ । त्यसकारण दान गर भन्नुभयो । मेरो बुबाले दान गरिरहनुहुन्थ्यो । मैले पनि त्यसैलाई निरन्तरता दिएको हुँ ।
र अर्को कुरा, मलाई यहाँसम्म पुर्याउने नेपाली समाज नै हो । नेपाली समाजले मलाई यहाँ पुर्याएपछि मैले पनि समाजलाई दिनुपर्छ । राज्यलाई बेलाबेलामा संकट पर्न सक्छ । त्यस्तो बेलामा हामीजस्तो निजी क्षेत्रले सहयोग गर्नुपर्छ । मैले राज्यबाट यो पाउँछु कि भनेर गरेको सहयोग होइन । मलाई आशा पनि छैन । निःस्वार्थ भावले सहयोग गरेको हुँ । यो अस्पताल पूरा हुँदा मेरो कम्तीमा पनि ५१ करोड खर्च हुन्छ होला । ५१ करोड एउटा अस्पतालका लागि सहयोग गरेको मैले राज्यबाट के फाइदा खोज्छु र ? मैले अरूलाई पनि समाजका लागि गर्नुपर्ने रहेछ भन्ने देखेर गरे हुने भनेर गर्ने गरेको छु ।
भगवान कोइरालाकै अस्पताललाई सहयोग किन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “संसारमा मान्छे भएर जन्मिएपछि सबैले बाँच्न पाउनुपर्छ । कोही पनि उपचार नपाएर मर्नु हुँदैन । डा. भगवान कोइरालाले यो योजना अघि सार्नुभयो । मैले त्यहाँ सहयोग गर्ने अवसर पाएँ । म खुसी पनि छु । मैले हार्डवेयर मात्रै बनाएको हुँ, सफ्टवेयर बनाउने काम उहाँहरूको हो । म एकदमै खुसी छु । मान्छेलाई बचाउनु भनेको लाखौँ गौदान गरेको भन्दा राम्रो काम हो । यो सबैभन्दा ठूलो दान हो ।”
बाह्रखरीसँगको कुराकानीमा गुरुङले पटक–पटक मन खोलेर दान गर्नुपर्ने कुरा दोहोर्याइरहे ।
निजी क्षेत्रको अग्रमोर्चामा रहेकालाई पनि उनले झकझक्याए । “हामी यो संसारबाट बिदा हुनुपर्छ, यो संसारका लागि राम्रो काम गरौँ न ! जे सकिन्छ त्यो गरौँ । निजी क्षेत्रको दायित्व र कर्तव्य हो । समाजबाट लिने तर दिँदै नदिने गर्न मिल्दैन । यस्तो हुँदै गयो भने नेपालको विकास पनि त हुँदैन । धन कमाउने हो भने दान गरौँ । हाम्रो समाज जति सम्पन्न हुन्छ, हामी त्यति नै सम्पन्न हुँदै जान्छौँ । मौका यही हो, सहयोग गरौँ ।”
अन्तिममा हामीले सोध्यौँ, बेलाबेलामा राज्यका तर्फबाट हुने अप्ठ्याराका बारेमा ।
उनी निर्धक्क हुँदै भन्छन्, “मेरो मन सफा छ । मैले केही गरेकै छैन । केही गर्नै छैन । राज्यले भुलचुक गरेको होला भन्ने लाग्छ । मेरो दुःख छैन । जसले मलाई दुःख दिनुभयो, उहाँहरूका लागि सलाम !”