site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालको बिजुली : हिउँदमा लोडसेडिङ, वर्षामा कहाँ फाल्ने !
फाइल तस्बिर

काठमाडौं । ‘विद्युत्मा नेपाल कहिले आत्मनिर्भर होला त ?’ न सरकारसँग स्पष्ट जवाफ छ, न विज्ञहरु नै विश्लेषण गर्न सामथ्र्य राख्छन् । जलाशययुक्त आयोजना नहुँदा नेपाल विद्युतमा कहिले पूर्ण रूपमा ‘आत्मनिर्भर’ हुन्छ भनी यकिन गर्न नसक्ने स्थिति देखिएको हो ।

वर्षामा कहाँ फाल्ने स्थिति र हिउँदमा कसरी पाउने भन्ने नियतिमा हाम्रो विद्युत् छ । हिउँदमा भारतले बिजुली नदिए ग्राहस्थ वर्गमा लोडसेडिङको जोखिम कायमै छ ।

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीमा ३५ सय मेगावाट विद्युत् जडान भएको छ । सरकार तथा निजी क्षेत्रका ४१ सय मेगावाट आयोजना निर्माणाधीन छन् । अबको केही वर्षमा ४१ सय मेगावाटमा सिस्टममा आएसँगै जडित क्षमता ७५०० मेगावाट पुग्नेछ ।

यस्तै ४३७७ मेगावाट अध्ययनका चरणमा रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ । सरकारले भर्खरै जारी गरेको ‘ऊर्जा विकास मार्गचित्र २०८१’ मा हिउँदे कहिलेसम्म बिजुली आयात गर्नुपर्छ भन्ने कुनै तथ्यांक छैन । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको छ । तर, भारतबाट कहिलेसम्म विद्युत् आयात गर्नुपर्छ भन्ने तथ्य/तथ्यांक भेटिँदैन ।

पूर्व ऊर्जा सचिव दिनेश घिमिरे कहिलेबाट हिउँदमा आयात रोकिन्छ भनी भन्न सकिने अवस्था नरहेको बताउँछन् । “आयात कहिले रोकिन्छ भनी ठ्याक्कै भन्न सकिँदैन,” उनले भने, “आरओआर प्रकृतिका आयोजना मात्रै रहँदा र पीआरओर र स्टोरेज नबनेसम्म त्यो हिउँदे आयात केही कम भएपनि रोकिँदैन ।”

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले युएसएड ऊर्जा नेपालले आयोजना गरेको कार्यक्रममा सन् २०२८/२९ सम्म आयात गर्नुपर्ने तथ्यांक प्रस्तुत गरेका थिए । उनका अनुसार, अझै ३÷४ वर्ष हिउँदमा आयात अनिवार्य छ ।

सरकारले गर्ने प्रक्षेपण र विद्युत् उत्पादनको तथ्यांकले मेल खाँदैन । २०८०/८१ मा सरकारले ९०० मेगावाट बिजली उत्पादन हुने प्रक्षेपण गरेको थियो । तर त्यसको आधा समेत भएन । यस्तै आर्थिक वर्ष २०७९÷८० मा ४६५ मेगावाट बिजुली प्रणालीमा थपिएको थियो ।

दुई आर्थिक वर्षमा करिब ९ सय मेगावाट बिजुली प्रणालीमा थपियो । प्रणालीमा थपिएको जति सबै नदी प्रवाही आयोजनाका बिजुली थिए । प्रणालीको जडित क्षमता बढेपनि नदी प्रवाही आयोजना रहेका कारण उत्पादन एक तिहाइमा झर्ने गरेको प्राधिकरणका प्रवक्ता चन्दन घोष बताउँछन् । 

“सुख्खायाम बढेसँगै नदी प्रवाही (आरओआर) आयोजनामा आधारित नेपाली ऊर्जा क्षेत्र उत्पादन एक तिहाइमा झरेको छ । नदीनाला सुकेसँगै विद्युत् गृहरूको उत्पादनमा निकै कमी आएको छ,” प्राधिकरण प्रवक्ता चन्दनकुमार घोष भन्छन्, “आरओआर प्रकृतिका आयोजनाहरू सुक्दा भारतको बिजुली आयात अनिवार्य नै छ ।”

अर्थात् हाम्रोमा पीआरओआर वा स्टोरेज आयोजना नथपिएसम्म अवस्था परिवर्तन हुने छैन । अर्थात् मनसुनभरी बिजुली बेच्ने, हिउँदभरि खरिद गर्ने । 

पूर्वसचिव घिमिरे भारतबाट आयात प्रतिस्थापन गर्न स्टोरेज आयोजना मात्र विकल्प रहेको देख्छन् । “हामीले पूर्ण रूपमा आयात विस्थापित गर्ने हो भने त जलाशययुक्त आयोजनाको विकल्पै छैन,” उनले भने । 

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवाल खपतका हिसाबले वर्षामा तीन गुणा पुग्ने उत्पादन हिउँदका बेला एक तिहाइमा पुग्ने गरेका बताउँछन् ।

“आरओआर आयोजना मात्रै रहेको अवस्था छ । जुन हिउँदमा एक तिहाइमा झर्छ । यसकारण कि स्टोरेज आयोजना बनाउनुपर्‍यो अन्यथा हिउँदमा एक तिहाइले पुग्ने र वर्षामा तीन गुणा बेच्ने अवस्था हुनुपर्‍यो,” उनले भने ।

प्राधिकरणले मंसिरबाट बिजुली आयात सुरू गर्ने गरेको छ । हिउँद लागेसँगै प्राधिकरणलाई लोड व्यवस्थापनमा समस्या पर्ने गरेको प्रवक्ता घोष बताउँछन् । प्राधिकरणले मंसिर अन्त्यदेखि निर्यात बन्द गरेर आयात सुरू गरेको थियो । 

उच्च माग हुने समयमा (पीक टाइम) भारतीय ऊर्जा खरिद–बिक्री बजार आइईएक्समा माग उच्च हुन्छ । उक्त समयमा प्राधिकरणले बिजुली खरिद गर्न पाउँदैन । आगामी मार्च १५ सम्म पीक समयमा बाहेक अन्य समयका लागि ६५४ मेगावाट बिजुली आयातको स्वीकृति दिएको छ । 

प्रणालीमा ३५ सय मेगावाट माथि पुगेको छ । प्राधिकरण र यसका सहायक कम्पनी तथा निजी क्षेत्रको उत्पादन १२÷१३ सय मेगावाटको हाराहारीमा झरेको छ । विद्युत् माग दुई हजारको हाराहारीमा पुगेको छ । 

भारतको बिजुलीको भरले गर्दा हिउँद लागेसँगै औद्योगिक क्षेत्रमा लोड कटौती हुने गरेको छ । प्राधिकरणले ठूला र लोड बढी खपत गर्ने उद्योगहरूलाई बिहान र बेलुका लोड कटौती गर्ने गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार, अघिल्लो वर्षको तुलनामा यसवर्षको हिउँदे वर्षा कम र तापक्रम बढी प्रक्षेपण गरेको छ । माघको मध्य कट्दा पनि हिउँदे वर्षा हुन सकेको छैन । 

हिउँदे वर्षा नभएपछि आरओआर प्रकृतिका आयोजनाका उत्पादन निकै कम छ । “हाल प्रणालीमा करिब १३ सय मेगावाट जति उपलब्ध छ । यो प्रत्येक दिन घट्दो अवस्थामा छ,” घोष भन्छन् ।

उनकाअनुसार, सबै पानीको बहावमा आधारित आयोजनाका पानी सुक्दै गएका छन् । अघिल्लो वर्ष ८ सय मेगावाटको हाराहारीमा झरेको थियो । यसवर्ष १ हजारको हाराहारीमा स्वदेशी उत्पादन आउँछ भन्ने अनुमान छ ।

पीक समयको लोड २ हजारको हाराहारीमा तथा उत्पादन १ हजारमात्रै एवं जलाशययुक्त कुलेखानीका तीन विद्युत् गृहबाट १३२ मेगावाट उत्पादन हुँदा पनि ८ सय मेगावाटको हाराहारीमा अपुग हुन्छ । 

प्राधिकरणले १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजना निर्माणपछि हिउँदमा केही सहज हुने सचिव भेटुवाल बताउँछन् । “तनहुँ आएपछि केही भरथेग गर्ला तर, हिउँदमा कहिलेबाट आयात गर्नुपदैन भन्ने आँकलन गर्न गाह्रो छ,” उनले भने । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro