काठमाडौं । सरकारले वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नेलाई विशेष परिचयपत्र र सम्मान प्रदान गर्ने गरी ऐन प्रस्ताव गरेको छ । निकासी पैठारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा वाणिज्य क्षेत्रमा योगदान गर्नेलाई विशेष परिचयपत्र दिइने उल्लेख छ ।
विधेयकको परिच्छेद ६ को दफा २७ मा वाणिज्य क्षेत्रमा योगदान पुर्याउनेलाई विशेष परिचयपत्र प्रदान गर्ने व्यवस्था गरिएको हो । "नेपाल सरकारले मुलुकको वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई महत्त्वपूर्ण व्यावसायिक व्यक्तिको रूपमा पहिचान गरी विशेष परिचयपत्र र सम्मान प्रदान गर्न सक्नेछ," विधेयकमा भनिएको छ ।
यसरी परिचयपत्र प्राप्त गर्ने व्यक्तिलाई सरकारले विशेष सुविधा पनि दिने उल्लेख छ । तर, सुविधा र निजले पालना गर्नुपर्ने सर्त भने पछि तोकिने उल्लेख छ ।
सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यस विधेयकलाई संसद् सचिवालयमा दर्ता गराउन लागेका हुन् ।