काठमाडौं । भारतको कोलकातास्थित आरजी कर अस्पतालकी प्रशिक्षार्थी महिला चिकित्सकको बलात्कारपछि हत्याका अभियुक्त सञ्जय रोयलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । अदालतले गएको शनिबार रोयलाई यो मुद्दामा दोषी ठहर गरेको थियो ।
कोलकाताको सियालदह अदालतले सोमबार सोयलाई सजाय सुनाएको हो । अदालतले दोषी रोयलाई मृत्यु नहुँदासम्म जेलमै बस्नुपर्ने भनेको छ । रोयलाई ५० हजार भारु जरिवाना पनि गरिएको छ ।
न्यायाधीश अनिर्बान दासले आरोपितलाई मृत्युदण्डको सजाय दिएनन् । तर, उनले यो दुर्लभभन्दा दुर्लभ घटना (रेयरेस्ट अफ रेयर) भएको स्वीकार गरे ।
न्यायाधीशले पीडित परिवारलाई १७ लाख रुपैयाँ क्षतिपूर्ति दिन राज्य सरकारलाई आदेश पनि दिएका छन् ।
गत वर्ष अगस्टमा भएको यो घटनाले पश्चिम बंगालमा जनआक्रोश बढाएको थियो ।
सन् २०२४ अगस्ट ९ मा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको शव अस्पतालको सभाकक्षमा फेला परेको थियो । डाक्टरको पहिले बलात्कार र त्यसपछि हत्या गरिएको अनुसन्धानका क्रममा थाहा भएको थियो ।
यो घटनापछि कोलकातामा प्रदर्शन भयो । र, दुई महिनाभन्दा बढी समयसम्म राज्यमा स्वास्थ्य सेवा ठप्प भएको थियो ।
यही जनवरी १८ मा सियालदह अदालतले फैसला सुनाएको थियो । फैसला सुनाउँदै न्यायाधीश दासले सीबीआईले पेस गरेको यौनशोषण र बलात्कारको सबुतले उनको अपराध साबित भएको बताए ।
अदालतले रोयलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरेको थियो ।
प्रहरीका अनुसार, बलात्कार र हत्याको यो घटना राति ३ देखि बिहान ६ बजेको बीचमा भएको थियो । ३४ वर्षीय रोयलाई अनुसन्धान सुरु भएको ६ घण्टाभित्रै पक्राउ गरिएको थियो । बीबीसी हिन्दीबाट ।