काठमाडौं । नेपाली समाजमा एउटा प्रचलित भनाइ चर्चित छ, ‘बोल्यो कि पोल्यो !’
यतिखेर सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) आफ्ना पार्टीका नेता÷कार्यकर्तालाई जसरी कारबाहीको अस्त्र चलाइरहेको छ, तिनका हकमा बोल्यो कि पोल्योको नीति लागु भएको छ ।
एकातिर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोल्ने पार्टीका नेताहरू धमाधम कारबाहीको भागीदार बन्दैछन् । अर्कातिर, एमालेविरुद्ध बोल्नेका हकमा पनि आक्रामक बन्ने निर्णय एमालेले गरेको छ ।
पार्टी कार्यालय भवन बनाउने निर्णयविरुद्ध बोलेपछि...
पार्टी केन्द्रीय कार्यालयको जग्गासहित भवन बनाउने जिम्मा समाजसेवी तथा व्यवसायी मीनबहादुर गुरुङले लिएपछि एमालेमा त्यसविरुद्ध असन्तुष्टि छचल्कियो ।
०८१ असोज २५ गते कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा प्रधानमन्त्री ओलीको उपस्थितिमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरुङ दम्पतीले दान दिएको १० रोपनी १४ आना जग्गामा भवनको शिलान्यास भयो ।
एक वर्षपछि कार्यालय भवन बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता गुरुङ दम्पतीको थियो । जग्गा लिने निर्णयले एमालेमा उकुसमुकुसको अवस्था सिर्जना गर्यो ।
एमालेका पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले सामाजिक सञ्जालमार्फत विरोध जनाए । पार्टीको निर्णय सच्याउन माग गरे । एमालेले पार्टीको निर्णयविपरीत अभिव्यक्ति दिएको अभियोगमा एमाले सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो ।
गएको पुस १ गते जग्गा दानविरुद्ध परेको रिट खारेज गर्यो । त्यसपछि पुस १० गतेको सचिवालय बैठकले निरन्तर पार्टीविरुद्ध बोलेको अभियोगमा रावललाई पार्टीबाट निष्कासन गर्यो । पाण्डे र तिम्सिनालाई ६ महिना निलम्बन गर्ने निर्णय गर्यो । रावल छुट्टै पार्टी बनाउने अभियानमा छन् । उक्त निर्णयले एमालेमा बोल्न नपाउने अवस्था बनेको भन्दै चौतर्फी आलोचना भयो ।
एमालेको नेतृत्वविरुद्ध बोल्नेहरूलाई कारबाही गरेको छ । तीन नेतालाई कारबाही गर्नुपूर्व पार्टी अध्यक्ष र महासचिव पोखरेलविरुद्ध बोलेको अभियोगमा लुम्बिनी प्रदेश सांसदलाई कैलाली जिल्ला कमिटीले सदस्यबाट निलम्बन गर्यो ।
मंसिर ११ गते बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद तथा पूर्वमन्त्री दुर्गा चौधरीलाई कारबाही गरिएको थियो । उनले समाजिक सञ्जालमार्फत अध्यक्ष ओली र महासचिव पोखरेलको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
कोशी प्रदेशका पूर्वसांसद विमल कार्की पनि कारबाहीमा परेका छन् । पुस २७ र २८ मा बसेको प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको थियो । उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र– १ (१) बाट निर्वाचित भएका थिए । कार्कीलाई सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध लगातार लेखेको हुँदा कारबाही गरिएको कोसी एमालेले जनाएको छ ।
त्यस्तै, पार्टीबाट निस्काशित भीम रावलको अभियानमा खुलेका नेताहरूलाई पनि एमालेले कारबाही गर्न थालेको छ । एमालेका नेताहरूले पार्टीभित्र बोल्न पाइने र विधानभित्र रहेर बोल्न सचेत गराइएको बताउँदै आएका छन् ।
पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारी बाहिर गलत ढंगले प्रचार भइरहेको दाबी गर्छन् ।
“बाहिर जसरी आइरहेको छ, त्यस्तो होइन । पार्टीको विधान, नियमावलीको सीमाभित्र रहेर निर्णय भएका छन् । त्यसभन्दा अतिरिक्त ढंगले कारबाही गर्न खोजेको होइन,” उनी भन्छन्, “कार्यकर्तालाई सचेत गर्न खोजेको हो, सचेत हुन निर्देशन दिएको हो ।”
सामाजिक सञ्जालमा आक्रामक बन्ने एमाले तयारी
०७४ को निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरूप्रति एउटा शब्द प्रयोग गरिन्थ्यो, अरिंगाल । त्यसले पछि ‘साइबर सेना’को संज्ञा पायो । नेता महेश बस्नेतले साइबर सेना बनाउने घोषणा गरेका थिए ।
नेकपा राजनीतिक रुपमा विभाजित हुँदा ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले ओलीको ‘साइबर सर्कल’ बनाउने घोषणा गरेको थियो । बचनबहादुर सिंहको नेतृत्वमा युवा संघले भ्रामक प्रचारको खण्डन गर्न साइबार सर्कललाई विभाग नै बनाएको थियो ।
०७८ मा एमालेका नेता प्रभु साह (आम आदमी पार्टी)ले आईटी आर्मी बनाउने घोषणा गरेका थिए । एमालेमा विभिन्न कालखण्डमा सामाजिक सञ्जालबाट फैलिएको भ्रम चिर्न अभियान चल्दै आएको छ ।
एमाले अब सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउनेहरूप्रति आक्रामक ढंगले प्रस्तुत हुने तयारीमा छ । मंसिर ३० गते पार्टी कार्यालय च्यासलमा भएको दुई दिने कार्याशालाले ६ बुँदे प्रस्ताव पारित गरेको थियो ।
त्यसको छैटौं बुँदामा भनिएको छ, “यो कार्यशाला पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ ।”
त्यसपछि गएको पुस २३ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गरेको थियो ।
प्रस्तावको ६ नम्बर बुँदामा भनिएको छ, “मिथ्यासूचना (मिसइन्फर्मेशन), दुराशययुक्त सूचना (डिसइन्फर्मेशन) र झुठ्ठा सूचना (फेक इन्फरमेशन) आज विश्वव्यापी चुनौती बनेको छ । यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ । नेपाल पनि यो समस्यासँग जुझिरहेको छ । यो बैठक संविधानप्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्दै मिथ्या प्रचारलाई रोक्न राज्यका नियामक निकायहरूको भूमिका थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्दछ,” भनिएको छ, “पार्टी पङ्क्तिलाई सूचना प्रविधिको सही सदुपयोग गर्न र सरकार तथा पार्टीले हासिल गरिरहेका सकारात्मक उपलव्धि, सफलता र अग्रगतिका सूचनामार्फत् जनतामा आशा र भरोसा जगाउन एवं दुराशययुक्त सूचनालाई खण्डित र निष्प्रभावी बनाउन आह्वान गर्दछ ।”
केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले वडा केन्द्रीत पार्टी निर्माण अभियानको कार्यपत्र प्रस्तुत गरेका थिए । जसको बुँदा नम्बर ७ मा साइवर हमलाको प्रतिवाद गर्ने उल्लेख छ ।
आ–आफ्नो मोवाइलबाट पार्टीको सकारात्मक प्रचार कार्यमा जुट्न (प्रचारका स्मार्ट शैली अपनाउन) सम्पूर्ण सदस्यलाई अभ्यस्त गराउनुुपर्ने अधिकारीले औंल्याएका छन् । सामाजिक सञ्जालको सही उपयोगको महत्वबारे प्रशिक्षित गर्ने जनाएका छन् ।
“पार्टीको नीति र नेतृत्वविरुद्ध भइरहेको घेराबन्दी, षड्यन्त्र र फैलाइएका एक–एक भ्रमहरूको जमेर प्रतिवाद गर्ने । तथ्य आधारित तर्कपूर्ण प्रश्नहरू व्यापक गर्ने,” कार्यपत्रमा भनिएको छ ।
जसमा पार्टी सदस्यले नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा लेखे कारबाही र्गुनुपर्ने प्रस्ताव गरिएको थियो ।
“लहै–लहैमा लागेर कुनै सदस्यले पार्टीको नीति र नेतृत्वबारेमा अनास्था जाग्ने कुरा सामाजिक सञ्जालमा पस्कनु अराजकता हुनजान्छ । त्यसलाई वडा तथा टोल कमिटीले गम्भीररुपले लिने र बिषयको गम्भीरताहेरी कार्वाहीको बिषय बनाउने,” कार्यपत्रमा भनिएको छ ।
साइवर हमलाको सशक्त र प्रभावकारी प्रतिवादका लागि सदस्यहरूलाई सम्पूर्णरुपले अनलाइनमा लैजानु आवश्यक रहेको औंल्याइएको छ । तसर्थ, नवीकृत सदस्यहरूको अनलाइन अभिलेखीकरणमा जोडदिने प्रस्ताव काशीनाथले राखेका थिए ।
आक्रामक बन्न ओलीको निर्देशन
गएको पुस २५ गते अनेरास्ववियुको कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन दिए ।
उनले हातमा भएको मोबाइलबाट प्रचारको बाढी ल्याउन भनेका थिए । “पत्रपत्रिकामा केही आयो भने छाडिदिनुस्, युट्युबमा के आयो भनेर छाडिदिनुस् । अनेरास्ववियुको प्रचारको समुन्द्र, बाढी बगाउनुस् न, मोबाइलमा । अरू चाहिँदैन, अनेरास्ववियुको आवाजले नै धान्छ,” ओलीको निर्देशन थियो । ओलीले सामाजिक सञ्जालबाटै आक्रामक बन्नुपर्ने बताएका थिए ।
“हाम्रा साथीहरूलाई एग्रिसिभ्ली अघि बढ्न आग्रह गर्छु । हामी मुड्कीको राजनीति गर्दैनौँ । तर, काममा, सक्रियतामा, प्रचार–प्रसारमा एग्रेसिभ,”ओलीको भनाइ थियो ।
उनले टिकटक एमालेमय बनाउन समेत निर्देश गरेका थिए । “टिकटकमा अरूले मौका नै नपाउने गरी सधैँ एमालेले भर्ने बनाइदिनुस् न,” ओलीले भने, “अरूको हेर्नै नभ्याउने गरी खोल्ने बित्तिकै एमाले, एमाले, अनेरास्ववियु, अनेरास्ववियु...।
संगठन विभागका प्रमुख अधिकारीले सामाजिक सञ्जालबारे पार्टीको आधिकारिक नीति अन्तर पार्टी निर्देशनमार्फत जारी गरिने बताए ।
“अत्यन्तै मिथ्या प्रचार भइरहेको छ । भ्रामक कुरामा टेकेर असभ्य तरिकाले प्रचार भइरहेको छ । त्यसविरुद्ध जोडदाररुपमा प्रस्तुत हुनुपर्छ,” उनी भन्छन्, ‘‘हामीले केही निष्कर्ष निकालेका छौं । सचिवालयलाई सुझाव पनि दिएका छौं । आधिकारिक विषय अपानिबाट जारी हुन्छ ।”