काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग रहेको बताएका छन् । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मुलुकुको स्वाधिनता, सार्वभौमसत्ताको रक्षा गर्दै बाह्य मुलुकसँग सम्बन्ध अगाडि बढाउनुपर्ने बताए । सत्तामा रहन जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने पनि उनले स्पष्ट पारे ।
उनले पञ्चशीलको सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको बताउँदै कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताए । पारस्परिक लाभ, विविधतामा सहअस्तित्वको सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढनुपर्ने उनको भनाइ छ । उनले सावधानी अपनाउँदै सन्तुलित र दृढताका साथ राष्ट्रिय हितको रक्षा गर्न चनाखो हुनुपर्नेमा जोड दिए ।
यस्तै, प्रधानमन्त्री ओलीले आर्थिक कूटनीति सांस्कृतिक व्यापारिक हिसाबले नेपालले अन्य मुलुकसँग राष्ट्रिय स्वाभिमान प्रत्यक्ष वा परोक्ष लाभका आधारमा सम्बन्ध स्थापित गरिरहेको उल्लेख गरे ।
छिमेकीसहित अन्य मुलुकसँग मित्रवत् सम्बन्ध स्थापित गर्दै अगाडि बढ्ने नीति अवलम्बन गरेको भन्दै उनले नेपाल विश्वशान्तिको पक्षधर रहेको बताए ।