काठमाडौं । हमास–इजरायलबीच १५ महिनापछि युद्धविराम भएको छ । युद्धविराम तीन चरणमा लागु हुनेछ । पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका ३३ बन्धक रिहा हुनेछन् ।
कुल २५१ बन्धकमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को नोभेम्बर २४ देखि ३० सम्म भएको यसअघिको युद्धविरामका क्रममा हमासले १०९ बन्धक रिहा गरेको थियो । इजरायली सेनाले आठ बन्धकको उद्धार गरेको थियो ।
हमासको नियन्त्रणमा रहेका मध्ये ३७ बन्धक मृत फेला परिसकेका छन् । इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको थियो ।
हमासको नियन्त्रणमा हाल ९४ बन्धक छन् । इजरायली सरकारका अनुसार, ९४ मध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवित अवस्थामा हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।
योपटकको युद्धविराम सम्झौताअन्तर्गत पहिलो दिन तीनजना रिहा भएका छन् । पहिलो दिन हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रिचरलाई रिहा गरेको छ ।
पहिलो चरणको युद्धविराम ४२ दिनेको हुनेछ । पहिलो चरणमा इजरायलले आफ्नो जेलमा रहेका एक हजार प्यालेस्टाइनी बन्धक रिहा गर्नेछ । यही युद्धविरामको १६औँ दिनमा दोस्रो र तेस्रो चरणको युद्धविरामका निम्ति वार्ता हुनेछ ।
पहिलो चरणको युद्धविरामको १६औँ दिनमा बाँकी बन्धकको रिहाइका विषयमा छलफल हुनेछ । त्यति बेला पुरुष सैनिक, युवा र मृत्यु भएका बन्धकको शरीर हमासले फिर्ता गर्नेछ ।
यी हुन् रिहा हुने ३३ जना
अलेकजेन्डर (साशा) ट्रुफानोभ : २९ वर्षीय अलेकजेन्डरसँगै उनकी आमा आमा लीना, श्रीमती स्पेयर चोइन र हजुरआमा इरिनालाई पनि हमासले बन्धक बनाएको थियो । अलेकजेन्डरकी आमा, श्रीमती र हजुरआमा सन् २०२३ को नोभेम्बरमा रिहा भइसकेका छन् । अलेकजेन्डरको नाम पहिलो चरणमा रिहा हुने बन्धकको सूचीमा छ ।
एरियल कुनिओ : २७ वर्षीया एरियलसँगै उनका श्रीमान् २९ वर्षीय अर्बेल याहुद पनि बन्धक बनाइएका थिए ।
नामा लेभी : २० वर्षीया नामालाई हमासले बन्धक बनाएर गाडीको पछाडि राखेर गाजा सहर डुलाएको थियो ।
ओहाद बेन अमी : ५५ वर्षीय ओहादसँगै उनकी श्रीमतीलाई पनि बन्धक बनाइएको थियो । ओहादकी श्रीमती सन् २०२३ को नोभेम्बरमा रिहा भइसकेकी छिन् । ओहादको नाम योपटक रिहा हुने बन्धकको सूचीमा छ ।
श्लोमो मन्सुर : ८६ वर्षीय श्लोमो योपटक रिहा हुनेछन् ।
ड्यानिएला गिल्बोआ : २० वर्षीया ड्यानिएला इजरायली सैनिक हुन् । योपटक रिह हुने ३३ जनामा ड्यानिएला पनि एक हुने इजरायल सरकारले जनाएको छ ।
एली शाराबी : हमासको आक्रमणमा ५२ वर्षीय एलीका भाइ, श्रीमती र दुई छोरीको मृत्यु भइसकेको छ । इजरायली सरकारले सम्झौताको पहिलो चरणमा रिहा गर्नुपर्ने ३३ बन्धकमध्ये एली पनि रहेको जनाएको छ ।
अगम बर्गर : २० वर्षीया अगम पहिलो चरणमा रिहा हुने बताइएको छ ।
यायर : युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ जनाको नाममा ६४ वर्षीय यायरको पनि नाम छ ।
किथ सिगेल : किथकी श्रीमती पनि हमासको नियन्त्रणमा थिइन् । उनी २०२३ नोभेम्बरमा रिहा भइसकेकी छन् । ६५ वर्षीय किथ योपटक रिहा हुनेछन् ।
ओडेड लिफ्शिट्ज : ८४ वर्षीय ओडेडसँगै उनकी श्रीमती योचेभेडलाई पनि अपहरण गरिएको थियो । योचेभेड २०२३ मै रिहा भइसकिन् । ओडेड योपटक रिह हुनेछन् ।
इत्जिक एल्गारात : ६९ वर्षीय इत्ज्कि योपटक रिहा हुनेछन् ।
गडी मोसेस : ८० वर्षीय गडी कृषि विशेषज्ञ हुन् । सम्झौताको पहिलो चरणमा रिहा गर्नुपर्ने ३३ बन्धकको सूचीमा गडीको पनि नाम छ ।
साची इदान : ५० वर्षीय साचीका १८ वर्षीय छोरा हमासको आक्रमणमा मारिएका थिए । युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकको सूचीमा साचीको पनि नाम छ ।
यार्डन बिबास : ३४ वर्षीय यार्डनसँगै उनकी श्रीमती शिरी र दुई सन्तान हमासको नियन्त्रणमा परेका थिए । हमासले यार्डनकी श्रीमती र दुई सन्तान इजरायली बमबारीमा मारिएको दाबी गरेको छ । इजरायली सरकारले भने रिहा हुने ३३ बन्धकको सूचीमा शिरी, केफिर, एरियल र यार्डेनको नाम राखेको छ ।
करिना एरिभ : २० वर्षीया करिना इजरायली सैनिक हुन् । युद्धविराम सम्झौताअन्तर्गत रिहा हुने बन्धकमा करिनाको पनि नाम छ ।
ओफर काल्डेरोन : ५३ वर्षीय ओफरसँगै उनका दुई सन्तान पनि हमासको बन्धनमा परेका थिए । उनको परिवारका अरू दुई सदस्य भने हमासको आक्रमणमा मारिए । २०२३ नोभेम्बरमा ओफरका दुई सन्तान रिहा भइसकेका छन् । योपटक रिहा हुनेको सूचीमा ओफरको पनि नाम छ ।
लिरी अल्बाग : १९ वर्षीय लिरीको नाम योपटक रिहा हुने बन्धकको सूचीमा छ ।
ओहाद याहलोमी : ५० वर्षीय ओहादका छोरा पनि हमासको नियन्त्रणमा थिए । उनका छोरा २०२३ मा रिहा भइसकेका छन् । ओहाद योपटक रिहा हुनेछन् ।
ताल शोहम : ३९ वर्षीय तालसँगै उनकी श्रीमती आदि, दुई साना छोराछोरी र सासू डा. शोम समेत हमासको नियन्त्रणमा थिए । तालबाहेक अरू सदस्य २०२३ मा रिहा भइसके । योपटक रिहा हुनेको सूचीमा तालको पनि नाम छ ।
सागुई डेकेल : ३६ वर्षीय सागुईको नाम रिहा हुने ३३ बन्धकको सूचीमा छ ।
ओमेर शेम टोभ : २२ वर्षीय ओमरको नाम युद्धविरामको पहिलो चरणमा रिहा गर्नुपर्ने ३३ बन्धकको सूचीमा छ ।
इलिया कोहेन : युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने बन्धकको सूचीमा २७ वर्षीय इलियाको नाम छ ।
ओमेर वेन्कर्ट : २३ वर्षीय ओमेर युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकमध्ये एक हुन् ।
वा लेवी : सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकको सूचीमा ३४ वर्षीय लेवीको पनि नाम छ । बीबीसीबाट ।