काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई छुरा प्रहार गर्ने व्यक्ति बंगलादेशी नागरिक हुनसक्ने मुम्बई प्रहरीले जनाएको छ । सैफमाथि भएको आक्रमणबारे मुम्बई पुलिसले आज बिहान पत्रकार सम्मेलन गर्दै आरोपीबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा जोन–९ का डीसीपी गेदाम दीक्षितले भने, “अभियुक्त बंगलादेशी भएको आशंका गरिएको छ । उनीसँग भारतीय कागजात छैन ।” पक्राउ पर्ने व्यक्ति ३० वर्षका मोहम्मद शरीफुल इस्लाम शहजाद रहेको प्रहरीले जनाएको छ । अभियुक्तले पहिले आफूलाई विजय दास भनेर चिनाएका थिए । बंगलादेशी मूलको भएको शंका लागेपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उनी चोरी गर्ने उद्देश्यले शैफको घरमा पसेको प्रहरीले बताएको छ ।
बलिउड अभिनेता सैफको बान्द्रास्थित आफ्नै घरमा बिहीबार बिहान उनीमाथि छुरा प्रहार भएको थियो । त्यसपछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार आरोपीले सैफको घरमा प्रवेश गर्न भवनको सिँढी प्रयोग गरेका थिए, जुन आगोको घटनाबाट बच्न प्रयोग गरिन्छ ।
डाक्टरहरूले सैफको मेरुदण्डबाट साढे दुई इन्च लामो छुरा निकालिएको बताएका थिए ।
मुम्बई प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न २० वटा टोली गठन गरेको थियो । बीबीसी